
लुम्बिनीखबर
पाल्पा (बल्ढेङगढी), मंसिर २६ । पाल्पाको बल्ढेङ्गगढी गाविसमा २५ औं गाउँ परिषद् सम्पन्न भएको छ । परिषद्ले आगामी एक वर्षमा गाविसभरि विद्युत विस्तार गर्ने योजनाका साथ धेरैजसो बजेट विद्युत र शिक्षामा छुट्याएको छ ।
वर्षाैँदेखि अँध्यारोमा पिल्सिएका गाविसका वासिन्दाहरुले अब विद्युत उर्जा आवश्यक रहेको भन्दै गाविस परिषदको धेरै बजेट विद्युत र शैक्षिक उन्नतिको लागि शिक्षामा खर्च गर्ने निर्णय गरेका हुन् । परिषदमा भेला भएका स्थानीय बुद्धिजीवीहरु गाविसको विकासका साथसाथै शिक्षाको आवश्यकतालाई समेत सबैले अङ्गीकार गर्न आवश्यक रहेको जनाउँदै बजेट यीनै शीर्षकमा खर्च गर्न आवश्यक रहेको बताएका थिए ।
अबको एक वर्षमा गाविसका सबै घरहरुमा विद्युतको पहुँच पुग्ने र शिक्षामा समेत व्यापक परिवर्तन हुने स्थानीयहरुले अपेक्षा गरेका छन् ।
हिजो अशिक्षाका कारण गाउँको विकासमा गाउँलेहरु नै अवरोध जस्तो भइदिनाले गाविसमा आउने बजेटहरु टुक्रा टुक्रामा बाँडेर कुनै उत्पादनबिना खर्च गर्ने प्रवृत्ति रहेकाले अब शिक्षाको विकास विस्तारै हुँदै जाँदा गाउँको विकासमा गाउँलेहरु आफै जुट्न थालेपछि यस क्षेत्रका सांसद हरि प्रसाद नेपालले समेत यस क्षेत्रको विकासमा मुख्य भूमिका निर्वाह गरेका छन् ।
सांसद नेपाल भन्छन्, “अब एकापसमा लड्ने दिनहरु गए गाउँलेहरु मिलेर पहिलो शिक्षा त्यसपछि विकासमा जुट्न आवश्यक छ । त्यसैले मैले युगौँदेखि अँध्यारोमा पिल्सिएका यहाँका जनताका लागि विद्युत ल्याउने पहल गरेको छु । शिक्षालाई समेत मुख्य केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने प्रयासमा छु ।”
यस वर्ष गाविसले विद्युतमा मुख्य बजेट खर्च गरेतापनि आगामी वर्षहरुमा सबै क्षेत्रलाई समेट्ने अभियानका साथ अगाडि बढ्ने समेत यहाँका स्थानीय राजनीतिक दलका नेताहरुले बताएका छन् । गाविसको यो वर्षको बजेटमा पूँजीगततर्फ ३६ लाख ६२ हजार तथा चालुतर्फ ५ लाख ४५ हजार गरी कुल ४२ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
जसमध्ये २४ लाख ४२ हजार ८ सय ४० रुपैयाँ विद्युत विस्तारको लागि छु्ट्याइएको छ । भने शिक्षातर्फ ६ लाख रुपैयाँ छुट्याइएको छ ।
विद्युततर्फ छुट्याइएको बजेटले गाविसका ८ र ९ वडामा तार विस्तार र अन्य बाँकी रहेका वडाहरुमा पोल र तारको व्यवस्था गर्ने परिषद्ले निर्णय गरेको छ ।
अहिले सांसद विकास कोषबाट वडा नं ८ र ९मा विद्युत पोल विस्तार भइसकेको छ भने वडा नं १ मा विद्युत पुगिसकेको छ । बाँकी रहेका वडाहरुमा सांसद विकास कोष र गाविसको बजेटले विद्युतीकरण गर्ने गाविसको कार्यालयले जनाएको छ ।
महिला, जनजाति, अपाङ्ग, युवा, बालबालिकाका लागि समेत बजेटले समेट्ने प्रयास गरेको गाविसका राजनीतिक दलहरुले बताएका छन् । यस क्षेत्रको ऐतिहासिक तथा महत्वपूर्ण बलिहाङगढी दरबार संरक्षण र प्रचारप्रसारका लागि समेत गाविस परिषदले बजेट विनियोजन गरेको परिषद्को निर्णयमा देखिन्छ ।
आगामी वर्षमा समेत बलिहाङगढी क्षेत्रको विकासका लागि गाविसका तर्फबाट सबै राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त कार्यक्रममा बोल्ने वक्ताहरुले गरेका थिए । गढीको पर्यटन विकासका लागि सुकादमार देखि खडकनी पोखरा हुँदै गढी सम्मको पैदलमार्ग निर्माण, काउले देखि तिखेचुली हुँदै गढी सम्म टे«किङ वेको विकास, चहला, जुठापौवा, सत्यवती हुँदै पर्यटकका लागि आवतजावत गर्ने पैदल मार्ग र गाउँ गाउँमा होम स्टेको समेत विकास गर्ने योजनाका साथ परिषद्मा सहभागी भएका राजनीतिक दलका नेताहरुले जिल्ला विकास समितिको कार्यालयलाई सिफारिस गरेको छ ।
गाविस सचिव हुमबहादुर कुँवरले गाविसको विकासका लागि आफूले जिल्ला विकास समितिको कार्यालय देखि सांसद विकास कोष सम्म निरन्तर पहल गरिरहेको जनाउँदै विकास निर्माणमा विरोध हैन सरसल्लाहमा अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए ।
उनले विभिन्न कारण विकासको मुहार देख्न नपाएको बल्ढेङगढी गाविस र शिक्षाको पहुँचबाट टाढा रहेका यहाँका जनताका लागि आफूले सक्ने कामहरु गरिरहेको परिषदको कार्यक्रममा जनाएका थिए ।
गाविस सचिव कुँवरकै अध्यक्षतामा भएको परिषदको समापन कार्यक्रममा नेपाली काँग्रेसका गाउँ सभापति गिरबहादुर बगाले, एमालेका अध्यक्ष रामबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर कार्की, जेष्ठ नागरिक कृष्णबहादुर विक, गहते माविका प्राचार्य भोजराज खड्का, शिक्षिका जुना कार्की, समाजसेवी युवा नेता नवीन खड्का, देवेन्द्र पुन, सोम बहादुर रायमाझी, टिका बहादुर रास्कोटी, बलिहाङगढी क्षेत्र विकास समितिका उपाध्यक्ष रेशम रायमाझी, पत्रकारद्धय भुवन कार्की र कमल रायमाझी, जनकला सापकोटा लागायतले बोल्दै गाविसको समग्र विकासका निम्ति सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए ।