logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कृतिचोर नै उपकुलपति


    २६ मंसिर २०७३ , आइतबार

    कृतिचोर नै उपकुलपति

    index

    कनकमणि दीक्षित
    नेपालका ‘राजनेता’ ले जनतालाई पासोमा पार्ने गरी महत्वपूर्ण पदहरूमा नियुक्ति गर्दै मुलुकमा बेथिति र जथाभावीपन भित्राएको कसैबाट छिपेको छैन । कतै दलीय भागबन्डा, कतै भ्रष्टाचार, कतै आसेपासेको पालनपोषण त कतै विदेशी दबाब समेतका कारण सरासर अनुपयुक्त व्यक्तिहरूलाई देश बनाउन–बिगार्न सक्ने पदमा स्थापना गर्दै समाजमा लादेका छन्, नेताहरूले ।

    यस्तै प्रक्रियाद्वारा दबाब र द्रव्यको भरमा लोकमानसिंह कार्कीलाई ‘अख्तियार’ प्रमुखमा विराजमान गराइयो भने तीर्थराज खनियालाई नेपालको पहिलो र सबभन्दा ठूलो विश्वविद्यालयमा उपकुलपति बनाइयो।

    भागबन्डामा कुनै पनि दलले आफ्नो मान्छेलाई पद दिलाउन राम्रो–नराम्रो, ठीक–बेठीक हेर्दैनन् ।  आफ्नो तर्फको व्यक्तिलाई संस्थान, विभाग, संयन्त्र या विश्वविद्यालयको हाकिम बनाउन पाए अभद्र–नालायक किन नहोस, जोकोहीलाई पदस्थापन गरिन्छ । सहमतीय अर्थात् सिन्डिकेट राजनीतिले दलीय भागबन्डालाई जरा गाड्न सघाएको छ । र, सत्तापक्ष तथा प्रतिपक्ष दुवै तैं चुप मै चुप मुद्रामा बस्ने गर्छन्, यस्तो अवस्थामा जनतामाराहरू पदस्थापन हुन्छन्।

    डा. गोविन्द केसीको बेथितिविरुद्ध अभियानको तारो लोकमानसिंह कार्की र तीर्थराज खनिया दुवै यसै बन्न पुगेका होइनन् ।  कांग्रेस, एमाले तथा माओवादीको सहमतीय सिन्डिकेट राजनीतिले नै यी दुई व्यक्ति कार्की र खनियालाई दुई अतिमहत्वपूर्ण संस्थाका प्रमुख बनाइदियो।

    कार्कीको चर्चा आज गरिरहनु परेन, तर खनियाको नियुक्तिबारे कडा आपत्ति जनाउनुपरेको छ। उनी अरूको लेखन, अनुसन्धान तथा कृति आफ्नो भन्दै बिकाउने व्यक्ति हुन् ।  अंग्रेजीमा उनले गरेको प्रमाणित चोरीलाई ‘प्लेजरिजम’ भनिन्छ, र लेखक केदार शर्माको शब्दमा प्लेजरिस्टलाई ‘कृतिचोर’ भन्नु उपयुक्त हुन्छ ।

    कृतिचोरलाई नेपालको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयको उपकुलपति बनाइएको छ । जुन संस्थाको काम निष्ठावान, सक्षम बौद्धिक जगत र शिक्षित ‘वर्कफोर्स’ उत्पादन गर्ने हो, त्यसकै प्रमुख सञ्चालक यस्ता व्यक्ति बनाइए जसले अर्काको अनुसन्धान तथा सामग्री आफ्नो भनेर छपाएको प्रमाणित भएको छ।

    कृतिचोरीको आरोप र प्रमाण बाहिर आएपछि नैतिकता भएको व्यक्तिले आत्मग्लानिका कारण यस्तो गरिमामय पद लिँदै लिँदैनथे, र थोरै पनि लाज भएको व्यक्तिले स्वस्फूर्त राजीनामा गर्थे। तर यहाँ त खनियाकै स्वर पो ठूलो सुनिन्छ ।

    जानकारहरूका भनाइमा, सुशील कोइरालाले त्रिवि उपकुलपतिको पदमा तीर्थराज खनियालाई मनोनीत गरेपछि उनलाई खनियाको विगतबारे सुनाइएको थियो। उतिबेलाका प्रम कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधान भन्छन्  ‘सुशीलजीलाई प्लेजरिजमको राम्रो ज्ञान भएको भए खनियालाई नियुक्त गर्नु हुँदैनथ्यो ।’

    कोइरालालाई जस्तै नेपालको बौद्धिक वृत्तलाई समेत खनिया महोदयलाई त्रिविको उपकुलपति बनाइनुमा त्यति आपत्ति नभएको भान हुन्छ । देशव्यापी बौद्धिकहरूमाझ आवाज उठेको भए खनिया आफ्नो पदमा यसरी निर्लज्ज टिकिरहने थिएननन्, यो पक्का हो । यसबाट यो शंका पनि उब्जन्छ, नेपालको राजनीतिकर्मी मात्र होइन, बौद्धिक वर्गमाझ पनि कृतिचोरीबारे पर्याप्त ज्ञान र संवेदनशीलता छैन।

    जब कसैले अर्काको अनुसन्धान, विचार र लेखनलाई आफ्नो भनी पेस गर्दछ, त्यो व्यक्तिको नैतिकता शून्य रहेछ भन्ने मान्नै पर्छ । फेरि अर्काको कृतिचोरीको भरमा आफ्नो प्रगति गर्नु भनेको जालसाजी हो, भ्रष्टाचारको पराकाष्ठा पनि। यो मूर्खले गर्ने काम पनि हो, किनकि ढिलोचाँडो चोरीको मामला उजागर त भइहाल्छ । जताबाट जसरी हेर्दा पनि यस्तो व्यक्तिलाई विश्वविद्यालयको उपकुलपति बनाइनु हुँदैन ।

    अक्सर कृतिचोरहरू सक्षम बौद्धिक हुँदैनन् र यसै कारण उच्च पद हासिल गर्ने मौकै पाउँदैनन, नेपालमा बाहेक यहाँ भने राष्ट्रिय, केन्द्रीय विश्वविद्यालयको प्रमुख बनाइन्छन् ।  त्यति मात्र होइन, जब खनिया ‘प्लेजरिस्ट’ भएको सार्वजनिक छ, तैपनि उनको राजीनामाको माग न राजनीतिक वृत्तबाट आउँछ न त बौद्धिक क्षेत्र, नागरिक समाज वा विश्वविद्यालय स्वयंका प्राध्यापक, फ्याकल्टी र प्रशासनबाट । यस्तो अवस्थामा जनता स्वयंले खनियाको खतराबारे सचेत हुनुपर्ने हुन्छ ।

    बौद्धिक तथा भौतिक कृतिचोरी भनेको भ्रष्टाचार हो, जहाँ एउटाले अर्काको काम आफ्नो भन्दै लाभ लिन्छ– नाम, दाम र प्रतिष्ठाका लागि । जुन पदमा बसेर त्रिवि प्रमुखले बर्सेनि हजारौं डिग्री प्रदान गर्नुपर्ने हुन्छ, त्यो व्यक्ति नै कृतिचोर हुन्छन्, भने उनले कस्तो रोलमोडल पेस गर्दा हुन ? अनि त्यस्तो मानिसले कुन हैसियतले त्रिविका विद्यार्थीलाई कृतिचोरी नगर्नु भन्न मिल्छ ? चोरी गर्न चाहना राख्नेलाई कुन नैतिक आधारमा नगर भन्न सक्छ? फेरि यसै पनि कृतिचोरीको त महामारी नै छ भनिन्छ, त्रिविमा ।

    त्रिभुवन विश्वविद्यालय नेपालको बौद्धिक नेतृत्व उत्पादन गर्नुपर्ने प्रमुख थलो हो। यसलाई आज आएर हाम्रा दलहरूले आफ्नो वफादारी गर्ने व्यक्तिलाई दिने उपहार र दाइजोका रूपमा मात्र लिएका छन् । त्यही सोचअनुरुप खनिया नेपाली कांग्रेसको भागबन्डाअन्तर्गत त्रिविमा अवतरण गरेका हुन् । त्रिवि उपकुलपतिको छनोट कार्यदक्षता र वरिष्ठता होइन, भागबन्डामा आधारित हुन्छ ।

    त्यसमा पनि खनियाजस्तो समस्याग्रस्त व्यक्ति नियुक्ति हुँदा त्रिविलाई मात्र होइन, नेपालको समग्र बौद्धिक जगतलाई क्षति पुगेको छ । उनको नियुक्तिले त्रिविको अग्रगमनमा तगारो लागेको छ र अन्ततोगत्वा यो नियुक्तिले पूरै राज्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक अग्रगमनलाई पनि असर पारेकै छ। यो कुरा बुझ्न थोरै कल्पनाशीलताले पुग्छ, खनियाको नियुक्ति तथा पदको निरन्तरता शैक्षिक क्षेत्रको बर्बादी नै हो।

    नेपालमा हुने गरेको प्लेजरिजमबारे इतिहासकार प्रत्यूष वन्तले सेतोपाटीमा अगस्ट २०१५ मा लेखेका छन्। उनी भन्छन ‘नेपालमा पिएचडी र मास्टर्स तहमा थेसिस या पेपर प्रस्तुतिमा व्यापक कृतिचोरी हुने गर्छ । कृतिचोरमाथि सजाय हुनु जरूरी छ, विश्वविद्यालयमा शैक्षिक तथा बौद्धिक स्तर कायम राख्न ।’ अफसोच यस्तो उपकुलपति त्रिविले पायो, जो आफैं प्रमाणित कृतिचोर हुन् ।

    तीर्थ खनियाले गरेको चोरी प्रमाणित भएको छ, तर उनी चुपचाप घरै बस्ने व्यक्ति भएको भए यसरी पछ्याउनुपर्ने आवश्यकता थिएन होला। त्रिवि उपकुलपति भएका कारण उनको यो अभियोग सान्दर्भिक र अति गम्भीर हुन पुग्यो, किनकि यसले मुलुकको प्रमुख विश्वविद्यालयको छवि, आत्मबल र भविष्यमा घात पुर्याउँदैछ।

    खनियाले अन्यत्र पनि कृतिचोरी गरेका छैनन भन्न सकिन्न, तर वर्तमान प्रसंग भनेको उनले टर्किको एक जना भाषाविदको पेपरको ठूलो अंश आफ्नो भनेर पेस गर्नु हो। फेरिट किलिच्काया नाम गरेका प्राध्यापकले ‘टिइएएसएल जर्नल’ नामक ई–पत्रिकाको वर्ष १० अंक ७ जुलाई २००४ को संस्करणमा आफ्नो पेपर छपाए । शीर्षक थियो– ‘अथेन्टिक मेटिरियल्स एन्ड कल्चरल कन्टेन्ट इन इएफएल क्लासरुम्स’।

    अंग्रेजीलाई दोस्रो भाषाका रूपमा पढाउने ‘इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज’ विशेषज्ञ रहेछन, किलिच्काया, र उनको पेपरको जिकिर थियो– अंग्रेजी पढाउन विशेष सामग्री तयार पार्नुभन्दा अंग्रेजी भाषामा उपलब्ध सार्वजनिक लेखनकै प्रयोग गरी पढाउँदा विद्यार्थीले छिटोछरितो हिसाबले अंग्रेजी सिक्छन् ।

    उनको भनाइ छ, अंग्रेजीमा उपलब्ध समसामयिक पत्रिका र अन्यत्र प्रस्तुत लेख–रचना लगायत हरेक खालका ‘अथेन्टिक’ सामग्रीले नै अंग्रेजी भाषा सिक्न सजिलो पारिदिन्छ, न कि विद्यार्थीलाई भनी तयार पारिएको विशेष सामग्रीले।

    यही विचार तीर्थराज खनियाले नेपाल इङ्लिस ल्याङ्वेज एसोसिएसन (नेल्टा) को ‘नेल्टा जर्नल’ मा उही विषयमा आफ्नो पेपर प्रकाशन गरे, वर्ष ११, अंक १–२ डिसेम्बर २००६ मा, त्यसको शीर्षक थियो, ‘युज अफ अथेन्टिक मेटिरियल्स इन इएफएल क्लासरुम्स’। उक्त लेखको आसय टर्केली प्राध्यापकको जस्तै थियो, अर्थात् ‘नन–नेटिभ–स्पिकर’ लाई अंग्रेजी पढाउन सान्दर्भिक ‘अथेन्टिक’ सामग्रीको प्रयोग नै उपयुक्त हुन्छ। यो विचार र तर्कमा दुई प्राध्यापकको विचार मिल्नु त राम्रो कुरा नै हो, तर खनियाले आफ्नो २००६ को लेखमा किलिच्कायाको २००४ को प्रस्तुतिको सहारा लिएको नभई सरासर ‘कपी’ गरेको देखियो। यो तथ्य किलिच्काया आफैंले पत्ता लगाएर नेल्टाका पदाधिकारीलाई सतर्क गराएका थिए।

    दुई लेखमा झन्डै दुईतिहाइ भाषा, वाक्यांश, हुबहु छन्। कतैकतै अलि फरक देखाउन खनियाले उही शब्द प्रयोगलाई घुमाउरो पाराले प्रस्तुत गरेको देखिन्छ, तर यस्तोमा पनि विचार र प्रस्तुतिक्रम सीधै ‘कपी’ गरेको देखिन्छ। हुँदाहुँदा यदाकदा किलिच्कायाले गलत या अप्ठेरो अंग्रेजी प्रयोग गर्दा पनि खनियाको पेपरमा हुबहु प्रस्तुत छ। एकठाउँमा किलिच्कायाले पाँच वटा ‘बुलेट प्वाइन्ट’ राखेका छन्, ‘अथेन्टिक सामग्रीको परिभाषा’ सबहेड अन्तर्गत, अनि खनियाले पनि ठ्याक्कै त्यही गरेका छन्। किलिच्कायाको पेपरको पुछारमा राखिएका १४ वटा रेफरेन्समध्ये खनियाले १२ वटा राखेका छन्।

    खनियाले गरेको प्लेजरिजमलाई द रिपब्लिका अखबारले दुई पेपरलाई दाँजेर हाइलाइट नै गरी ‘कपी पेस्ट’ गरेको देखाएको थियो।

    यस्तो संगीन प्रमाणसहितको आरोप आउँदा पनि न त्रिवि न त्रिविबाट बाहिरका बौद्धिक वृत्तले आपत्ति जनाए, त्यो पनि पार्टीगत भागबन्डाको दुष्परिणाम नै मान्नुप¥यो। प्लेजरिजमका वाहक नेल्टाका पदाधिकारीले पनि आवाज उठाएनन्।

    कृतिचोरीको यो तहको र यो हदको अभियोगले मुलुकको शिक्षा प्रणालीलाई नै तहसनहस पार्न सक्छ भन्ने आम जनमानसमा सञ्चार भएन । प्रिन्ट र अनलाइन मिडियाले अभियोग उठाए, तर नागरिक समाज र बौद्धिक वृत्तले यसलाई मुद्दा बनाएनन् ।

    नेपालको नियति नै छ, दलगत राजनीतिक भागबन्डा संस्कृतिले क्याकर्याक्कै पारेको हाम्रो समाजमा एउटा दलका सदस्यले अर्कोलाई अति महत्वपूर्ण विषयमा दोषारोपण गर्न चाहँदैन । आँटै गरे सम्बन्धित दलका ‘हनुमान’ र ‘ट्रोल’ हरूले आक्रोशित प्रतिक्रिया दिने हुनाले ‘भद्र’ बौद्धिक र अगुवा कुरा कोट्याउन चाहँदैनन ,  कसले झमेला बेहोरोस् , यस्तै प्रसंगमा खनियामाथि कुनै आरोप लगाउँदा विभिन्न दलका नेता–कार्यकर्ताले मौनताको बाटो लिन्छन् , भने स्वतन्त्र व्यक्ति कसैले मुख खोलिहाले कतिपय कांग्रेस नेता–कार्यकर्ताले ‘कांग्रेसविरोधी’ कार्य सम्झन्छन्।

    डा. गोविन्द केसीको बेथितिविरुद्धको अभियानमा तीर्थराज खनियाको नाम जोडिन आउनु एकदम उचित थियो, किनकि उनको नियुक्ति, पदबहाली तथा आजसम्मको पदमा निरन्तरताले नेपालको उच्च शिक्षा प्रणालीमा दाग लागेको छ। संसारसामु त्रिविले मात्र होइन, जोकोहीले मुख कसरी देखाउने? खनियाले राजीनामा दिएको बेस, नत्र बर्खास्तगीको कसरतमा बौद्धिक वृत्त, नागरिक समाज तथा राजनीतिक जगत एक भएर लाग्नुपर्छ।

    खनिया विदा भएपछि धेरै वर्ष थाती रहेको त्रिविलाई दक्षिण एसियाको अग्रपंक्तिको विश्वविद्यालय बनाउने अभियानमा सबै सरिक हुनुपर्छ। यस संस्थाको भौतिक पूर्वाधार एकदमै राम्रो छ भने बौद्धिक अवस्था कीराले खाएर जीर्ण छ। त्रिवि र यसको सम्बन्धनमा रहेका कलेज र यावत् संस्थालाई राम्रो बनाउने पहिलो र अपरिहार्य आवश्यकता हो, खनियाको बहिर्गमन। लेखक केदार शर्मा भन्छन्, ‘हामी खनियाजीलाई यतिको लागि धन्यवाद दिन सक्छौं, कृतिचोरीको वास्तविकता तथा मर्मबारे पहिलोचोटि यति व्यापक चर्चा हुनपुगेको छ। यो उनको ‘देन’ हो। यसअघि अधिकांश नेपालीले ‘प्लेजरिजम’ शब्द सुने–बुझेका थिएनन्।’

    वास्तवमा नेपालमा ‘प्लेजरिजम’ को सही बुझाइ व्यापक नभएकै कारण तीर्थराज खनिया नियुक्त भएका हुन् र, अर्कातिर भन्डाफोर सार्वजनिकीकरण भएर पनि राजीनामा नदिएर टिकिराखेका हुन् । प्लेजरिजमलाई घृणित र दण्डयोग्य क्रियाकलाप हो भनेर हाम्रा पढैयाहरूले आवाज नउठाउँदा त्रिविजस्तो अतिमहत्वपूर्ण संस्था एउटा कृतिचोरको पञ्जामा पुर्याइयो र आजसम्म उम्कन सकेको छैन।

    जसरी डा. केसीको अभियानले मेडिकल शिक्षाको भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न सहयोग गरेको छ, यस्तै गरी जनआवाजको भरमा तीर्थराज खनियाको राजीनामा या बर्खास्ती अवश्यंभावी बनाइनुपर्दछ, ताकि त्रिविलगायत सबै विश्वविद्यालय तथा बौद्धिक संस्थामा बेथितिको अन्त्य होस् राजनीतिक भागबन्डाका आधारमा आसेपासेको नियुक्ति र राजको अन्त्य होस् । तीर्थराज खनिया नैतिकताको आधारमा बाटो लागुन् ।  त्रिवि र पूरै शिक्षा क्षेत्रलाई भागबन्डामुक्त गराऔं। (सेतोपाटी)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.