लुम्बिनीखबर
बल्ढेङगढी (पाल्पा), पुस २ । पाल्पा जिल्लाको सुदुरपश्चिम क्षेत्रमा रहेको बल्ढेङगढी प्रहरी चौकीमा सवारी साधनको अभावमा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।
यस चौकीको कार्यक्षेत्र ठूलो र जिल्लाकै संवेदनशील क्षेत्र रहेको भएपनि सवारी साधनको अभावका कारण प्रहरीहरु दुर्घटना स्थलमा पुग्न घण्टौँ पैदल हिँड्नुपरेको छ ।

उत्तरतिर रुपन्देहीको सालझण्डी सम्म जोडिएको बल्ढेङगढी गाविस, पूर्वमा छहरा गाविस सम्म जोडिएको जुठा गाविस, पश्चिममा अर्घाखाँचीसँग जोडिएको सत्यवती गाविस कार्यक्षेत्र भएको यस चौकीको सवारीसाधनको रुपमा मोटरसाइकल समेत नहुँदा तुरुन्त उद्दार गर्नुपर्ने घटना घटेमा घटनास्थल पुग्न समस्या परेको त्यहाँका प्रहरीहरुले बताउने गरेका छन् ।
ढोरपाटन सालझण्डी सडक खण्डको केही भाग समेत पर्ने सत्यवती गाविस, सालझण्डी तानसेन सडक खण्ड, सालझण्डी पोखराथोक अर्घाखाँची सडक खण्ड समेत यस प्रहरी चौकीको कार्यक्षेत्रभित्र पर्दछ ।
सबै गाविस र गाउँहरुमा मोटरबाटोहरु पुगेको भएतापनि सवारी साधन नहुँदा प्रहरीहरु पैदल गस्तीका रुपमा गाउँ गाउँमा जान बाध्य भएका छन् ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्र बलिहाङगढी दरबार समेत यसै क्षेत्रमा पर्ने गरेकाले पनि त्यहाँ पुग्ने देशी विदेशी पर्यटक, सरकारी निकायका व्यक्तित्वहरुको सुरक्षामा खटिनका लागि समेत प्रहरीहरुलाई समस्या परेको बल्ढेङगढी गाविसका सचिव हुमबहादुर कुँवरले बताए ।
गाविस सचिव कुँवर भन्छन्, “ सवारी साधनमा आउने सरकारी निकायका व्यक्तित्वहरु, विभिन्न क्षेत्रका विशेषज्ञहरु बलिहाङगढी दरबार क्षेत्र अवलोकन गर्न सरर्र पुग्दा प्रहरीहरु पैदल हस्याङ र फस्याङ गर्दै पछिपछि दर्गुन परेको छ ।”
जिल्लामै संवेदनशील र धेरै दुर्घटनाहरु भैरहने यस क्षेत्रको प्रहरीलाई आधुनिकतामा सरकारले प्रवेश गराउन नखोज्दा सय वर्ष पुरानो शैलीमा अगाडि बढ्नुपरेको बल्ढेङगढी गाविसका स्थानीय नेता लेखबहादुर कार्की बताउँछन् ।
सवारी साधनको रुपमा मोटरसाइकल भएपनि चौकीलाई आवश्यक भएको भन्दै यहाँ आउने प्रहरी इन्चार्जहरु जिल्ला प्रहरी कार्यालय पाल्पालाई माग गरेपनि कुनै सुनुवाई नहुने गरेको स्थानीय समाजसेवीहरु बताउँछन् ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेर बहादुर बस्नेतले प्रहरी चौकीहरुमा सवारी साधनको समस्याहरु थपिँदै गएको बताउँदै बल्ढेङगढी प्रहरी चौकीलाई संवेदनशीलताको आधारमा महत्वपूर्ण क्षेत्र भएकाले पनि मोटरसाइकल उपलब्ध गराउन आफूले प्रयास गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हरि वाग्लेले जिल्लाको संवेदनशील क्षेत्रको प्रहरी चौकी बल्ढेङगढी प्रहरी चौकी भएको आफूलाई जानकारी भएपनि सवारी साधनको अभाव रहेकाले उपलब्ध गराउन नसकिएको बताए ।