प्रहरीको प्रत्यक्ष संलग्नतामा तस्करको संरक्षण
लुम्निीखवर
धकधई, पुस २३ । रुपन्देहीको पूर्वी क्षेत्र धकधई आसपासका नाकाहरुबाट तस्करी बढ्न थालेपछि यस क्षेत्रका बुद्धिजीवीहरु चिन्तित बन्न थालेका छन् ।
विगतका दिनहरुमा फाट्टफुट्ट रुपमा तस्करी हुने गरेको यस क्षेत्रको सीमा क्षेत्र अहिले व्यापक रुपमा तस्करहरुको ट्रान्जिट बन्दै गरेपछि यहाँका बासिन्दाहरुलाई समेत चिन्ता थपिएको हो । भारतसँग सीमा जोडिएका यस क्षेत्रका गुटीबरवा नाका, मैनिहवा नाका, मनहरा नाका, अमुवा नाकाबाट दैनिकजसो लाखौँ मूल्यका सामानहरु अवैध रुपमा नेपाल भित्रिन थालेपछि तस्करहरुको चहलपहलले सीमा क्षेत्र समेत आतंकित बनेको स्थानीयहरु बताउँछन् ।
अहिले प्रहरीको समेत तस्करको मिलोमतोमा भारतबाट अवैध सामान नेपाल भित्रिने गरेको स्थानीय दिलिपमणि त्रिपाठीले बताए । उनले भने “राज्यको सुरक्षा जिम्मा लिएको प्रहरीले दिनदहाडै तस्करसँग मिलेर अवैध सामान नेपाल भित्र्याईरहेको देख्दा आफूलाई अपमानित महशुस भईरहेको छ ।”
यस क्षेत्रमा दैनिकजसो साइकल, मोटरसाइकल र पिकअप गाडीहरुमा बिहानीपख, साँझपख र रातको समयमा तस्करी सामान भारतबाट नेपाल भित्र्याई नजिकको बजार देवदह, बुटवल र अन्य क्षेत्रमा समेत पठाउने गरेको पाईन्छ । लागूऔषध, किरानाका सामानहरु, खुद्रा सामान, चिनी, कपडा, मोटर पार्टस्हरु, मोबिल, पानी तान्ने मोटर, स्टेशनरीका सामानहरु, सूर्तीजन्य पदार्थ र खाद्यान्न समेत तस्करी हुँदै नेपाल आउने गरेको यस क्षेत्रका स्थानीय सुदर्शन यादवले लुम्बिनीखबरलाई बताए ।
तस्करहरुले भारतीय बजारबाट नेपालतर्फ तस्करी सामान ल्याउँदा प्रहरी सेटिङमा ल्याउने गरेको देखिन्छ । सीमा क्षेत्रमा पिपरहवा चौकी, मैनिहवा चौकी र धकधई ईप्रका रहेका छन् । यहाँका प्रहरीसँगको सेटिङमा सहजै तस्करी सामान सीमा नाकाबाट धकधई हुँदै बुटवल सम्म पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।
यस क्षेत्रमा सशस्त्र प्रहरी बलको पजरकट्टी बेस समेत रहेको छ । यति धेरै प्रहरीहरु सीमा क्षेत्रमा तैनाथ राज्यको लागि हो की ? जनताको लागि ? प्रश्नचिन्ह खडा भएको छ । स्थानीयहरु भने प्रहरीहरुका कारण नै तस्करी बढेको गुनासो गर्ने गरेका छन् । स्थानीयहरु भन्छन्, सादा पोशाकका प्रहरी नै तस्करहरुसँग आवतजावत गर्ने र तस्करी भई नेपाल भित्रिएको सामान गन्तव्यसम्म पु¥याउन सहयोग पु¥याउने गरेको देखिन्छ ।
प्रहरीहरुले आफ्नो स्वार्थको लागि राज्यको कानुन सबैका अगाडि यसरी उल्लङघन गर्दा कसले कारबाही गर्ने ? दैनिक करोडौँ राजस्व एकातिर गुमिरहेको छ । राज्यको उत्पादनमा समेत तस्करी गरिएका सामानहरुले निरुत्साहित गराएका छन् । राज्यबाट परिचालित प्रहरी नै तस्करसँग मिलोमतो गर्दछन् भने कसले यो देशको रक्षा गर्छ, यहाँ समस्या देखिएको छ ।
शसस्त्र प्रहरीका घुमुवाहरु समेत यस क्षेत्रमा परिचालित भएको देखिन्छ । उनीहरुले तस्करी गरेको सामान नियन्त्रण गर्नुभन्दा पनि सेटिङ मिलाउनमा व्यस्त रहेको स्थानीयहरु बताउँछन् । यस क्षेत्रबाट नेपालमा प्रतिबन्धित कुखुराको चल्लाहरु समेत भारतबाट तस्करी भै आउने गरेको छ । भैरहवा क्षेत्रका नाकाहरुमा नयाँ एसपी आएसँगै कडाई गरिएपछि कुखुरा तस्करहरु जिल्लाको पूर्वी क्षेत्र गुटीबरवा नाकातर्फ सक्रिय भएको पाईन्छ ।
अहिले यस क्षेत्रमा दिनमा सेटिङ मिलाउने र रातीको समयमा तस्करी गराउने काम प्रहरीले गर्न थालेको भन्दै स्थानीय विनोद कुमार यादवले पत्रकारसँग गुनासो गरे । उनले प्रहरीले सीमा नाकामा कडाई गर्ने हो भने तस्करी पूर्ण रुपमा रोक्न सकिन्छ । विगतमा लागूऔषधको मुख्य ट्रान्जिटको रुपमा रहेको बेलहिया नाकामा जिल्लामा आएका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर धानुकले कडाईका साथ प्रहरी परिचालन गरेपछि लागूऔषध तस्करहरु समेत अहिले मैनिहवा नाकाका चिया पसलहरुमा सेटिङ मिलाउनमा व्यस्त रहेको देखिन्छ ।
प्रहरीहरुले तस्करी सामान र तस्करहरुको वर्गीकरण गरी दैनिक, साप्ताहिक र मासिक रुपमा असुली गर्ने गरेका छन् । जसका कारण विगतमा भन्दा अहिले भैरहवा भन्सार कार्यालयमा समेत किरानाका सामानहरु, खुद्रा सामान, चिनी, कपडा, मोटर पार्टस्हरु, मोबिल, पानी तान्ने मोटर, स्टेशनरीका सामानहरु र खाद्यान्नको भन्सार कम हुने गरेको भैरहवा भन्सार कार्यालयले समेत जनाएको छ ।
यस क्षेत्रबाट हुने तस्कर सुरक्षित रुपमा बुटवल सम्म पु¥याउन प्रहरीहरुको प्रत्यक्ष सहयोग देखिन्छ । सबै नाकाबाट आउने सामानहरु जिल्लाको पूर्वी क्षेत्रका गाउँहरुका दर्जनौँ बाटोहरु प्रयोग गरी पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवल सम्म पुग्ने गरेको पाईन्छ ।
जिल्लो पूर्वी क्षेत्र धकधईको कमाण्ड सम्हालेका ईलाका प्रहरी कार्यालय धकधई का प्रहरी नायब निरीक्षक सोभित केसीले यस क्षेत्रबाट लागूऔषध तथा तस्करीहरु नियन्त्रणमा मातहतका निकायहरुमा प्रहरी परिचालन गरिएको बताउँदै फाट्टफुट्ट रुपमा लागूऔषध तस्कर पक्राउ पर्ने गरेको बताए । उनले तस्करी नियन्त्रणमा आफू सक्रिय रुपमा लागेको जानकारी दिँदै कुुखुरा तस्करहरुलाई समेत बेला बेलामा नियन्त्रणमा लिने र कारबाही गर्ने गरेको बताए ।