लुम्बिनीखबर
भैरहवा, माघ २३ । सिद्धार्थ होटल एशोसियसन नेपाल (सान) को आयोजना तथा रूपन्देही क्रिकेट संघको सहआयोजनामा भैरहवामा हुन लागेको मेलाको तयारी तीव्र पारिएको छ ।

मेलाका लागि स्टल बुकिङ कार्य भइरहेको छ । हालसम्म २ सय २५ स्टल बुकिङ भइसकेका छन् भने अधिकांश काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । मेला सम्पन्न गर्नका लागि सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी) संयोजक र क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्ल सहसंयोजक रहने गरी ७ सदस्यीय तथा मेला व्यवस्थापनका लागि श्रेष्ठकै संयोजकत्वमा १ सय १ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।
घुमफिर वर्ष–२०१७ लाई सफल पारौं, आन्तरिक पर्यटन क्षेत्रको विकास गरौं’ भन्ने मूल नाराकासाथ भैरहवाको (सीता नर्सरी) मा यही माघ २५ गतेदेखि फागुन ७ गतेसम्म प्रथम राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक मेला–२०७३ हुदैछ ।
मेलामा बाल उद्यान झुला तथा बालबालिकाहरूलाई मनोरंजनात्मक खेलहरू, आकर्षण मायादेवीको मन्दिरको फोटो प्रदर्शनी, उटको नाच, अष्ट्रिज, डाफे लगायतका जनावर प्रदर्शनी तथा कुस्ती खेल, राष्ट्रिय कलाकारहरूको आधुनिक, पप, लोकगीत र हास्य कलाकारहरूको प्रस्तुती, स्थानीय स्कूल डान्स प्रतिस्पर्धा महोत्सवका आकर्षकहरू रहेका छन् ।
डण्डा खोलामा बोटिङको व्यवस्था गरिएको श्रेष्ठले बताए । मेला अवधिभर फ्रि वाईफाई, मेलामा आउने दर्शक र स्टलहरूको लागि बिमा तथा मेला अवधिभर सुरक्षालाई विशेष ख्याल गरी सिसी टिभीबाट मेलालाई कैद गरिने आयोजकले जनाएका छन् ।