लुम्बिनीखबर
भैरहवा , १८ कात्तिक । नेपाली मौलिक कला, संस्कृति, खानपान र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले बुटवलमा पाँचदिने खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा आगामी मङ्सिर ११ देखि १५ गतेसम्म बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित एन्फा रङ्गशालामा महोत्सव सञ्चालन हुने भएको हो ।
सङ्घका अध्यक्ष माधवकुमार खनालले बुटवलमा खाना महोत्सवलाई पर्वका रूपमा निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँका अनुसार बुधबार बसेको सङ्घको बैठकले मङ्सिर दोस्रो सातामा पाँच दिन महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सवमा नेपाली मौलिक खानाका विभिन्न परिकारका साथै मनोरञ्जनात्मक गतिविधि समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । अध्यक्षको संयोजकत्वमा मूल समारोह समिति गठन गरी स्टल व्यवस्थापन, विद्युत् जडान, स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, मञ्च सजावट, सुरक्षा, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा संस्थागत समन्वयलगायतका जिम्मेवारी बाँडफाँट गरिएको सङ्घले जनाएको छ । सङ्घका कोषाध्यक्ष अर्जुन पोखरेलले विगतका महोत्सवभन्दा यसपटक थप आकर्षण र मनोरञ्जनका कार्यक्रम समावेश गर्ने तयारी गरिएको बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, मौलिक खानाका परिकार र विभिन्न मनोरञ्जनात्मक स्टल रहने उहाँले जानकारी दिनुभयो । महोत्सवले स्थानीय उत्पादन, मौलिक खानपान र व्यवसायको प्रवर्द्धन गर्नुका साथै पर्यटन गतिविधि बढाउन तथा स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।