आशिष चौधरी
भैरहवा, फाल्गुन १९ । कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दीको कारण फागुन १८ गते हुन स्ववियू चुनाव सरेको छ ।

उक्त दिन हुन नसकेको निर्वाचन यही फाल्गुन २० गते हुने गरी सरेको स्व.वि.यु निर्वाचन अधिकृत भार्गव धितालले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) र नेविसंघ सम्बद्ध विद्यार्थीहरुको दिनभरको धर्नाका कारण क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समिति अर्को मिति तोक्न बाध्य भएको हो ।
यता संयुक्त विद्यार्थी मोर्चाका मोहम्मद अली, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुमन न्यौपाने, अखिल क्रान्तिकारी विप्लव समूहका इन्द्रजित कुमार राय, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका ईशान भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरी स्ववियू निर्वाचन स्थगित भएका क्याम्पसहरुमा एकैचोटी एउटै मितिमा गर्ने गरी पक्लिहवा कृषि क्याम्पसमा पनि सोही अनुसार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयले अर्को सूचना जारी नगर्दा सम्म निर्वाचन गर्न नदिने भन्दै विज्ञप्ति निकालेर अनेरास्ववियू पक्लिहवा क्याम्पसले गरेको तालाबन्दीलाई समर्थन गरेका छन् ।
अनेरास्ववियूले फागुन १७ गते विज्ञप्ति निकाली क्याम्पस प्रशासन र निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो । आचारसंहिता विपरीत निर्वाचन आयोगले काम गरेको भन्दै बाध्य भएर तालाबन्दी गरेको संगठनका अध्यक्ष निसिम भुषालद्वारा हस्ताक्षरीत भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष भुषालले त्रिविका अन्य आंगिक क्याम्पसहरु जहाँ जहाँ निर्वाचन स्थगित भएको छ, त्यहाँ निर्वाचन हुँदा पक्लिहवा कृषि क्याम्पसमा पनि स्वतः निर्वाचन हुने जनाए ।
यता शान्तपूर्ण रुपमा सम्पन्न हुन गईरहेको क्याम्पसको निर्वाचनमा बाह्य हस्तक्षेप बढ्दा विद्यार्थीहरु चिन्तित भएकोले क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई आवश्यक सुरक्षा व्यवस्था गरिदिन पनि अखिल क्रान्तिकारीका अध्यक्ष रिकेश श्रेष्ठले माग गरेका छन् ।