लुम्बिनीखबर
भैरहवा, फागुन २२। रुपन्देहीको भारतीय सीमा नाका बेलहिया क्षेत्र आसपासबाट नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ ।
सीमा सुरक्षा, तस्करी र सीमा अपराध नियन्त्रणमा खटिएका प्रहरीहरुसँगको मिलोमतोमा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियामा नयाँ प्रहरी प्रमुख आएसँगै तस्करहरुले अवैध कार्यहरुलाई बढावा दिएका हुन् ।

फाइल फोटो
नेपाल भारत सीमा नाका बेलहिया र यसको आसपास, भैरहवा भन्सार कार्यालय पछाडि, कोटियामाई मन्दिरको पूर्वी क्षेत्र बगाहा र पक्लिहवा क्षेत्रबाट अहिले तस्करहरुले तस्करी गरिरहेको खुलेयाम देख्न सकिन्छ ।
भारतीय बजारमा सस्तो र नेपाली बजारमा महँगो पर्ने सामानहरु अहिले भन्सार छली भएर नेपाल भित्रिरहेको व्यापारीहरु बताउँछन् । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरु, किरानाका सामानहरु, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरु र सुटिङ, सटिङका सामानहरु खुलेआम तस्करी हँुदै नेपाल भित्रिरहेको छ । पदमार्गबाट नेपाल आउन प्रतिबन्ध गरिएको पंक्षीजन्य कुखुरा र तीनका चल्ला समेत अहिले रुपन्देहीको सिमाक्षेत्रबाट तस्करी हुँदै नेपाल आईरहेको छ ।
बेलहिया नाकाबाट जसरी भारतबाट नेपालतर्फ अवैध रुपमा सामानहरु आइरहेको छ, त्यसरी नै नेपालबाट समेत बेलहिया नाका हुँदै फलफुल स्याउ, कवाड र कवाडको भित्र राखेर विभिन्न चाइनिज समानहरु भारततर्फ तस्करी भैरहेको खुलेआम देख्न सकिन्छ ।
उक्त नाकाबाट यसरी १ दर्जन भन्दा बढी तस्करहरुले काम गरिरहेका छन् । जसले इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुखलाई मासिक, साप्ताहिक र दैनिक नगद बुझाउने गरेका छन् । तस्करसँगको प्रहरी सेटिङ मिलाउने काम गर्नका लागी समेत प्रहरी जवानहरु खटिएको स्थानिय राम केवट बताउँछन् ।
इलाका प्रहरी कार्यालय बेलहियाले अहिले असई खडानन्द यादव र प्रहरी जवान विरेन्द्र चौहानलाई तस्करसँग सेटिङ मिलाउने, असुल गर्ने गर्दछन् । उनीहरुले तस्करीमा सहयोग गरेबापत समयमा रकम नबुझाउनेलाई सुराकी गरी सामान पक्राउने समेत दोहोरो भूमिका निर्वाह गर्ने गरेको लुम्बिनीखबरलाई एक व्यापारीले जनाए ।
अहिले तयारी पोसाक, हार्डवेयरका समानहरु, पानी तान्ने पम्म र चिनीको भन्सारमा कमी आएको भैरहवा भन्सार कार्यालयको रेकर्डबाट देखिनुले पनि तस्करी भइरहेको कुरालाई पुष्टि गरेको छ ।
कसरी हुन्छ प्रहरी सेटिङ ?
सीमा क्षेत्रमा हुने तस्कर प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय वजार वाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् ।सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाए सम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ । बेलहिया नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट १ दर्जन जति तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् ।
बेलहियामा तस्करी गर्नेहरु
बेलहियामा अहिले तस्कर गर्नेहरु कोही भारतीय नागरिक छन् भने कोही नेपाली नै छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् ।
यस नाकाबाट मुख्यतया तस्कर गर्नेहरुमा अग्रेज, राजु, हिरा, मन्ताज, पप्पु जसले मोटर पार्टस तस्करी गर्दछन् । यी सबै भारतीय नागरिक हुन । पप्पु चाहिँ नेपाली हुन् ।
आफुलाई गुप्ता भनेर चिनाउने एकजना मुस्लिम ले दैनिक सुर्तीको काम गर्दछन् । कपडाको काम गर्नेहरु शम्भु भन्ने एकजना मुस्लिम रहेका छन् । पेन्टको तस्करी गर्ने नाटे, सुकु ,पण्डित नाम गरेका तस्कर रहेका छन् । यिनीहरुले पानी तान्ने पम्पदेखि पाएसम्म सबै तस्करी गर्ने गरेका छन् ।
नेपालबाट भारत तर्फ फलफुल स्याउको कारोबार गर्नेहरुमा यादव थरका दुई जना रहेका छन् । उनीहरुको बेलहिया स्थित ममता होटलको दक्षिण साईडमा गोदाम रहेको छ । भैरहवाबाट चाईनीज स्याउ गोदाम सम्म पु¥याउने र साईकलमा भारतीय बजार सम्म लैजाने काम गर्दछन् ।
यिनीहरुले बाईपास हुदै साईकलमा सामान पारी पु¥याउँछन् । अफ्रोज जसले नेपालको कवाड भारतीय बजार सम्म पु¥याउने र भारतीय बजारबाट नेपाल तर्फ ल्याउन सकिने जुन पनि सामान क्यारिङ गरी नेपाल ल्याउने काम गर्दछन ।
डिडि र वीनवीनको नाममा मानव तस्करी
भारतमा सञ्चालित अवैध नेटवर्किङ व्यापार डिडि र विनविन कम्पनीमा जाने र संलग्न हुनेलाई कारबाहि गर्न गृहमन्त्रालयले स्पष्ट निर्देशन दिएता पनि बेलहिया प्रहरीले ती कम्पनीमा काम गर्न जाने र ती कम्पनीका सदस्यता देखाउनेहरुलाइ निस्फ्रिक्रि छाडिदिने गरेको छ । स्रोतका अनुसार प्रहरीले उनीहरुसँग मोटो रकम असुली छाड्ने गरेको हो ।
गत मंसिर महिनाको पहिलो हप्ता जिल्ला बालकल्याण समिति रुपन्देहीले आयोजना गरेको बालबालिका बेचबिखन रोकथाममा दुई देशीय अन्तरसंवाद कार्यक्रममा नेपाल र भारतका सुरक्षा अधिकारी तथा नागरिक समाजका अगुवाहरुले डिडि र वीनवीन कम्पनीको नाममा मानव तस्करी भइरहेको तथ्य सहित सो कम्पनीलाई तत्काल रोक्न आग्रह गरेका थिए ।
रुपन्देहीका तत्कालिन प्रमुख बुद्धिराज गुरुंगले डिडि र वीनवीन कम्पनीको नाममा नेपालका सोझा साझा नागरिकलाई बेचिने गरेको प्रमाण समेत पेश गरेका थिए । सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र नागरिकले मात्रै होइन भारत नेपाल मैत्री समाजका राष्ट्रिय अध्यक्ष अनिल गुप्ताले समेत डिडि र वीनवीन कम्पनिलाई तत्काल बन्द गर्न माग गरेका थिए ।
सोही कार्यक्रममा भारतका सुरक्षा अधिकारीहरु विक्रम सिंह, नचिराम यादव र नेपालका सुरक्षा अधिकारीहरु एसएसपी शेरबहादुर बस्नेत, तत्कालिन रुपन्देहीका सिडिओ विष्णु प्रसाद ढकालले ती कम्पनिलाई भारतमा सन्चालनमा रोक लगाउने र त्यस्ता कम्पनीमा जान खोज्नेलाई सीमामै नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका थिए ।
भारतको बनारस, लखनऊ, गोरखपुर, चण्डीगढ, र दिल्ली लगायतका मुख्य शहरहरुमा नेपाली भाषी भारतीयद्वारा खोलिएका डिडि र वीन वीन नेटवर्किङ कम्पनीमा शुरुमा सदस्य हुन ९ हजार भारतीय रुपैयाँ र पछि २५ हजार लाग्ने जसको प्रतिफल मासिक हजारँौ रकम प्राप्त हुनेगरी विजनेश पोलीसी बनाइएको छ ।
उक्त कम्पनीले नेपालको पहाडी क्षेत्रमा आफ्नो सन्जाल विस्तार गरी पहाडका किशोरीहरुलाई आकर्षण गर्ने विभिन्न योजना ल्याएको छ । सोही आकर्षणमा परेर जाने किशोरीहरुलाई भारतमा यौन शोषण हुने त कयौं रेडलाइट एरियामा बेचिने गरेको तथ्य बाहिर आएको छ ।
यसरी खुलेआम मानव तस्करी र सामानको तस्करी भइरहदा भने सो क्षेत्रको कमाण्ड सम्हालेका इलका प्रहरी कार्यालय बेलहिया भने मौन देखिएको छ । इप्रका बेलहियाका प्रहरी निरीक्षक रविन विष्टले डिडि र वीनवीन कम्पनिमा जान खोज्नेहरुलाई फर्काइदिएको जिकिर गरे । प्रहरी निरीक्षक विष्ट आफु आउनुभन्दा अगाडी के थियो थाहा नभएको तर आफुले अहिले सम्म कुनैपनि व्यापारीसंग पैसा नलिएको जनाउँदैं अवैध व्यापारलाई प्रोत्साहन नगरेको बताए ।