
उमेशचन्द्र रिजाल
मलाई अत्यन्त पीडा बोध भइरहेको छ । प्रायजसो प्रत्येक बिहान सूर्य उदय हुन पूर्व रुपन्देही एफ.एम. सुन्छु । धेरै वर्ष भयो नेताहरुले (सबै प्रमुख दलका) भन्ने गरेका छन्, “प्राप्त उपलब्धि गुम्ने खतरा छ” के प्राप्त ग¥यौँ हामी (जनता)हरुले ?? सँधै दुःख पाएकाहरुको के गुम्ने ? के प्राप्ति हुने ? इतिहासको कालखण्डमा यति भयानक अवस्थामा पनि देश (नेपाल) बाँचिरहेको छ । बाँच्दो रहेछ । अब के गुम्न बाँकी छ ?
प्रधानमन्त्री देखि प्रमुख दललाई प्राप्त उपलब्धि गुम्ने चिन्ता छ भने जनताहरु गुमोस भन्नेमा छन् । राष्ट्र, मुलुक, देश विभिन्न नामले नामाकरण गरेपनि नेपाल कहाँ पर्छ ? लाखौँ युवाहरु विदेश पलायन भएका छन्, हजारौँको संख्यामा प्राविधिकहरु विदेशको नागरिकता लिएर बसेकै छन् ।
यहाँ बस्ने नीरिह जनतालाई विभिन्न पार्टीको झण्डा ओढाएर भिडन्त गराएकै छन् । हामीलाई किन चाहियो यो थोत्रो आश्वासन ? दोस्रो युद्ध पछि युरोपको नक्सा फेरिनुमा कसको हात थियो ? प्रश्न गम्भिर छ । को कहाँ पुग्यो ? किन टुक्रियो रसिया ?
अब समय आइसकेको छ, नेताहरुले हिलोले लतपत भएको हातले जनतालाई सफा गर्न सक्तछन् त ? रक्त रंजित हातले के शान्तिको अभ्यास गर्न सकिन्छ ? कस्तो संस्कार ? कस्तो शिक्षा दिइरहेका छन् नेताहरुले ?
एउटा मात्र उदाहरण हेरौँ, स्वतन्त्र विद्यार्थी निर्वाचन सबै राजनैतिक दलले धावा बोले कि बोलेनन् ? के स्वतन्त्र रुपले निर्वाचनमा सहभागी हुन दिनु पर्दैनथ्यो ? हार्नु र जित्नु सामान्य यस्तो शिक्षा दिन नसक्ने नेताहरु र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यतालाई जोड दिइरहेको वर्तमान अवस्थामा, भविष्यमा यीनै अत्यन्त प्रबल छ र मुलुक भने अन्धकार खाडलतर्फ जानेछ ।
विद्यार्थी नेताहरुको मूल उद्देश्य शैक्षिक वातावरणलाई सफा राख्दै, विद्यार्थी, हकहितमा काम गर्नु हो न की राजनैतिक दलको पुच्छर !! के हो विद्यार्थी हक र हित ? पठनपाठन गर्ने, कक्षा सफा होस्, आधुनिक तरिकाले पठनपाठन कार्यक्रम होस्, गरीब र जेहेन्दार विद्यार्थीहरुलाई विशेष सहुलियत होस् आदि ।
तर अचम्म ठेक्का पट्टामा विद्यार्थी चासो, लेखामा विद्यार्थी अड्चन, हरेक ठाउँमा (प्रशासनिक) अवरोध, यसले के देखाउँछ ? के इंगित गर्छ ?
माथि उठाइएका प्रश्नहरुले हाम्रा राष्ट्रिय नेताहरुको डोरी पनि गाँसिएको छ । कस्तो शिक्षाबाट अभिप्रेरित भएर राजनीतिमा होमिएका हुन् ? यसको मनोवैज्ञानिक विश्लेषण नगरी मुलुकको यस्तो दुर्दशाको व्याख्या अत्यन्त कठीन हुन्छ । यसबारे कुनै बेला चर्चा होला ।
नेताहरुको मुखमा झुण्डिएको छ, प्राप्त उपलब्धि गुम्ने खतरा छ । कस्तो उपलब्धि गुम्ने खतरा देखेर नेताहरु थरथर कामेका हुन् त ? धेरै उपलब्धिहरु गुम्ने खतराहरु छन्, जस्तै ः
ठोकतन्त्र
घुसतन्त्र
भाइ भतिजा तन्त्र
भागबण्डा तन्त्र
मिली खाने तन्त्र
र यी सबै भन्दा माथि सत्ता तन्त्र । यो सत्तातन्त्र नै गुम्ने खतराले थरथर काँपेका छन् नेताहरु !! निर्वाचन भएपनि कसैको बहुमत आउन सक्तैन, आएपनि देशले निकास पाउँदैन । विगतमा पनि नेपाली कांग्रेसलाई जनताले बहुमत दिएकै हुन् । मिलिजुली भागबण्डा गरी गरी सत्ता बाँडी बाँडी जनताको ढाड भाँच्ने तन्त्रको उपलब्धि गुम्नेमा कामेका छन् नेताहरु ।
देशको राजनीतिले चौतर्फी असर पार्दछ, एउटा गलत निर्णय सच्याउन कैयौँ गलत निर्णयहरु गर्नुपर्ने बाध्यता आउाछ, यो वास्तविकतालाई नबुझी नेताहरुले आफ्नो अनुकूल (सत्ता)लाई केन्द्रविन्दु मानेर बढ्दा वर्तमान समयको अस्वस्थकर राजनैतिक द्वन्द्व बढेको हो ।
भागबण्डा राजनीतिले देश डुबायो, देश डुबे पनि सत्ता केन्द्रमा बसिरहन पाउने अवस्था भयंकर खतरनाक छ । वर्तमान अवस्थामा “नेपाली कांग्रेस” देशको सबैभन्दा ठूलो पार्टीले एमाओवादीसँग कुममा कुम मिलाएर हिँडिरहेको छ । तर त्यसको परिणाम के हुन्छ ? हेक्का गरेका छन् ? नेताहरुले ??
मुलुकको निकास कसरी होला ? यो चिन्ता हामीले गरेर हुने होइन, यो चिन्ता दलहरुले नै लिनुपर्ने हो तर सत्ता केन्द्रित भएर होइन । सबै कुराहरु नकारात्मक तरिकाले सोच्न थालेका छन्, मानिसहरुले सकारात्मक कुरा त नेताहरुले गरिरहेका छन्, हुँदै नभएको, कहिल्यै अनुभव नगरिएको उपलब्धि गुम्ला कि ? भनेर । देशलाई सकारात्मक मोडमा लाने हो भने नेताहरुले तत्काल निम्न कार्यहरु रोक्नुपर्दछ
–आन्तरिक पार्टीभित्रको गुट उपगुटलाई पार्टी नेताले परास्त पार्ने ।
–वरिष्ठताको आधारमा नियुक्ति गर्ने, चाहे त्यो जुनसुकै विचारको किन नहोस् ।
–आफुले गरेका सन्धि र सम्झौतालाई इमान्दारीतापूर्वक लागू गर्ने ।
–संविधान सभाले अत्यधिक बहुमतले पारित भएको संविधान तत्काल संशोधन गर्न बहुमत पक्ष (सरकार) किन लागि प¥यो । (वर्तमान समयमा संविधानलाई २÷३ मत प्राप्त छैन भन्न सकिने अवस्था ) गम्भिर छलफल हुनुप¥यो ।
–निर्वाचन लोकतन्त्रको मुटु हो निर्वाचन नहुने अवस्थालाई निर्वाचनमा लान पहल गर्नुप¥यो । निर्वाचन मात्र सबै समस्याको समाधान होइन, सबैको सहभागितामा यसको सफलता नीहित छ । नेताहरुलाई चेतना भया……..।
कति सम्म नराम्रो अवस्थाको आधारशिला बनाइयो भने जुनसुकै ठाउँमा, जुनसुकै पदमा भागबण्डाले जो गाड्यो ? यसले गर्दा राष्ट्रिय सुरक्षालाई गम्भिर धक्का दिएको अनुभव गरेका छन् विज्ञहरुले । सुरक्षा निकायलाई स्वतः रुपमा चेन अफ कमाण्डमा चल्न नदिनु वर्तमानको भयंकर ठूलो गल्ती हो । वरिष्ठताको आधारमा स्वतः अगाडि बढ्न नदिने हो भने परम्परा बस्तछ जसले गर्दा सेना, प्रहरी, कर्मचारी, शिक्षक आफ्नो योग्यता भन्दा पार्टी भक्ति तिर स्वतः गएको वास्तविकतालाई नकार्न सकिँदैन ।
यी सब कुराहरु नेताहरुले सच्याउन सके भने प्राप्त उपलब्धि गुम्छ भनेर घोक्रो फुटाउनु पर्दैन, थरथर काम्नु पनि पर्दैन । नेता आउने जाने क्रम चलिरहन्छ । पार्टीहरु एकबाट अर्को सत्तामा जाला, तर देश निर्बाध रुपमा अगाडि बढ्दछ ।