कमल रायमाझी
भैरहवा, चैत्र २६ ।
आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनीया ठेकेदार कम्पनि नर्थवेष्ट सिभिल एभियसनले सब कन्टयाक्टर नेपाली ठेकेदार कम्पनि नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.ल्लिार्ई काम बापतको ६० करोड ५ लाख ५४ हजार ६ सय १५ रुपैयां ९१ पैसा तिनुपर्ने पैसा नतिरेकाले यो विवाद निस्कीएको हो ।
चिनिया निर्माण कम्पनि नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माणको ठेक्का पाए पनि नेपाली सब कन्टयाक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लि लाई निर्माणको जिम्मा दिएको थियो ।
चिनीया कम्पनिले सम्झौता अनुसार रकम नदिदां नेपाली पक्षले मर्कामा परेको भन्दै ३ दिने अल्टीमेटम समेत दिएको छ ।
नेपाली पक्ष सब कन्टयाक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लिले शनिबार भैरहवामा पत्रकार सम्मेलनगरी चिनीया कम्पनिले सम्झौता अनुसार दिनुपर्ने रकम तत्काल दिनुपर्ने माग समेत राखेको छ ।
नेपाली पक्ष सब कन्टयाक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लि. का अध्यक्ष राजु गुरुङले चिनिया कम्पनीले विभिन्न वहाना वनाएर हामीलाई हटाउने योजनाका साथै काममा पनि ढिलाई गर्ने योजना वनाएको आरोप लगाउनुभएको छ ।
नेपाली र चिनीया ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत्र ८ गते भैरहवामा सर्वपक्षिय छलफल गरि विवाद टुङगाउने सहमती भएको थियो । 
जसमा दक्षिण एशियाली पुर्वाधार विकास आयोजनाका प्रमुख डन्डु घिमिरे, क्यानका डेपुटी डाइरेक्टर राजकुमार क्षेत्री, एडिबीका नरेश प्रधान, आयोजना प्रमुख ओम शर्मा को रोहबरमा बैठक बसी चिनीया कम्पनीका उपाध्यक्ष जिङयाङ र नेपाली कम्पनीका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका थिए ।
सहमतीमा नेपाली पक्षले ५ दिनभित्र चिनीया पक्षलाई बिलविजक दिने र एक हप्ता भित्र नेपाली पक्षलाई पुरा रकम चिनीया पक्षले चुक्ता गर्ने सहमती थियो ।
चैत्र २० गतेभित्र नेपाली पक्षले सबै रकम पाउनुपर्ने सहमति गरेको भएता पनि चिनीया पक्षले रकम नदिई अहिले उल्टै नेपाली पक्षलाई काम गर्न अवरोध गरेको आरोप लगाएपछि नेपाली पक्षले पत्रकार सम्मेलन नै गरेर विषयवस्तुको बारेमा स्पष्ट पारेको वताएको छ ।
विमानस्थल निर्माण स्थलमा नेपाली पक्षले सम्झौता अनुसार काम गर्ने क्रममा २७ प्रतिशत काम सम्पन्न भइसकेको र आगमी जेठ मसान्त सम्म ६० प्रतिशत काम गर्ने लक्ष्य राखेको थियो ।
तर एकाएक चिनीया पक्षले विवाद निकालेर नेपाली पक्षलाई हटाउन खोजेपछि चैत्र १ गते देखी निर्माणको काम ठप्प भएको छ ।

काम ठप्प हुदां नेपाली ठेकेदार कम्पनिमा कार्यरत २ सय ५० जना कर्मचारी र विभिन्न यान्त्रीक साधनका ५ सय जना दैनिक ज्यालामजदुरी गर्ने व्यक्तिहरु समेत बेरोजगार बन्न बाध्य भएका छन् ।
विक्रम सम्वत २०७१ साल माघ १ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले आयोजनाको शिलान्यास गरेको यो विमानस्थल २०७४ साल जेठ १९ गते सम्पन्न गर्नु पर्ने थियो । तर तराई मधेस आन्दोलन र नाकावन्दीको कारण आयोजना निर्माणको अवधी १६७ दिन थपी २०७४ कार्तिक २५ गते सम्म सम्पन्न गर्ने समय तोकिएको छ ।
नेपाली र चिनीया ठेकेदार कम्पनिबीच विवाद चुलिएपछि नेपालकालागी चिनीया राजदूतबासले समेत चासो ब्यक्त गरेको बुझिएको छ । चिनीया राजदूताबासले दुबैपक्षलाई सहमतीमा ल्याई पुनः पुरानै सम्झौता अनुसार दुबै पक्षलाई मिलेर काम गर्न आग्रह गरको स्रोतले बताएको छ ।