शुन्य समयमा भोट माग्नेहरु कार्वाहीमा पर्ने
कमल रायमाझी
भैरहवा, ११ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधी आज राति १२ बजे देखि सुरु हुने भएको छ ।
मौन अवधी सुरु भएपछि नेपालको कानुनले उम्मेदवारको पक्ष बिपक्षमा चुनाव प्रचार प्रसार गर्न पूर्ण रुपमा बन्देज तथा निषेध गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

मतदान हुनुभन्दा ४८ घण्टा अघि देखि सुरु हुने मौन अवधीमा राजनीतिक दलका कार्यकर्ता, उम्मेदवार तथा आम सर्वसाधारणले चुनावी गतिविधिलाई पूर्णरुपमा बन्द गर्नुका साथै कानुनले तोकेका कामहरु मात्र गर्न पाउने प्रावधान रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाए अनुसार–स्थानीय तहको निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधीमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को ९१० मा मौन अवधी शुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित हुने क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा बिपक्षमा मत लिने या दिने उद्धेश्यले कुनै किसिमको प्रचार प्रसार गरे कार्वाही गरिने छ ।
निर्देशिकाको दफा ७० को उपदफा ९१० मा मतदान हुने दिन भन्दा ४८ घण्टा अघि देखि मतदानको काम पुरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा बिपक्षमा मतदान गर्ने वा नगर्ने उद्धेश्यले सभा बोलाउने वा आयोजना गर्न जुलुस निकाल्न वा नारावाजी गर्न तथा अन्य कुनै प्रकारको प्रचार प्रसार गर्न वा गराउन निषेध गरिएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत मुरारी बावु श्रेष्ठले जानाकारी दिनुभयो ।
आम समुदायले मौन अवधीलाई निर्वाचन हुने ४८ घण्टा अघि देखि मतदान सम्मको अवधीलाई बुझ्नु पर्ने समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।
आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामाग्रीको प्रयोग तथा प्रदर्शन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।
साउन्ड सिस्टम बजाउन, बाजा बजाउन, नाचगान गर्न सामाजिक भोज गर्न, जुलुस प्रदर्शन, हुलहुज्यत होहल्ला गर्न समेत रोक लगाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमानाथ गौतमले वताउनुभयो ।
फेसबुक ,ट्विटर र एसएमएसमा पनि आंचार संहिता
मौन अवधीमा फेसबुक, ट्विटर र एसएमएस जस्ता विद्युतीय प्रविधिको प्रयोगमा समेत रोक लगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।
मौन अवधी शुरु भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा फेसबुक, ट्विटर र एसएमएस मार्फत भोट मागिएको तथा चुनावी प्रचार प्रसार गरेको भेटिएमा कारवाही समेत गरिने भएको हो ।
मतदानको ४८ घण्टा अघिदेखि शुरु हुने मौन अवधीको आचार संहिता उम्मेदवार र राजनितिक दललाई मात्र नभएर सामाजिक सञ्चाल प्रयोगकर्तालाई पनि लागु हुने कानुनमा देखिन्छ ।
निर्वाचन आचार संहिता उल्लङघन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत उजुरी परेमा कानुनी प्रकृयामा टेकेर कारवाही गरिने जिल्ला प्रसाशन कार्यालय रुपन्देहीले जनाएको छ ।
मदिरमा निषेध
मौन अवधी सुरु भएपछि मतदान अधिकृतले मतदान स्थलको वरिपरिको क्षेत्रमा मतदान समाप्त नभएसम्म मदिरा विक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक समेत लगाईने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले समेत स्थानीय स्तरको कानुनी संयन्त्रलाई आकर्षित गर्दै असार ११ गते देखि १४ गते सांझसम्मलाई जिल्लाको सम्पूर्ण क्षेत्रमा मदिराजन्य वस्तु विक्री वितरण तथा सेवनमा निषेध गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सिंहले अनुगमन तथा निगरानी गर्दाको समयमा कसैले विक्री वितरण गरेको पाईएमा कडा कार्वाही गरिने समेत बताउनुभयो ।
मौन अवधीमा आर्थिक चलखेल
मतदान हुने समयभन्दा ४८ घण्टा पहिले देखि शुरु हुने मौन अवधीलाई विगतमा राजनीतिक दलका नेताहरुले दुरुपयोग गरेको स्थानीयहरुले बताउने गरेका छन् ।
यस समयमा चलखेल समेत व्यापकरुपमा हुने भएकाले मतदाताहरुलाई समेत प्रभाव पार्नका लागि विभिन्न किसिमका प्रलोभन तथा आर्थिक चलखेलले निर्वाचनको परिणामलाई उल्टाउने सम्भावना हुनाले प्रहरी प्रशासनले सकृयता देखाउनुपर्ने मागहरु आउने गरेका छन् । उम्मेदवारहरुले विभिन्न किसिमका हतकण्डा अपनाउने र आफ्नो पक्षमा मतदातालाई पार्ने प्रयास गर्दा विभिन्न घटना तथा दुर्घटना हुनसक्ने भएकाले सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतको कार्यालय चनाखो हुनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
सुरक्षा निकायको सक्रीयता
रुपन्देहीमा अहिले सुरुक्षाकर्मीको व्यापकरुपमा परिचालन भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले स्थानीय तहमा सुरक्षा सतर्कता उच्च रहेको जानाकारी दिनुभएको छ । उहाँले जिल्लाको सवै क्षेत्रमा निर्वाचन आचार संहितालाई पूर्णरुपमा पालन गराईने समेत बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र धानुकले समेत सरकारको निर्देशन र निर्वाचन आचार संहिता अनुसार मातहतका प्रहरीलाई परिचालन गरिएको बताउनुभयो । अहिले स्थानिय निर्वाचनमा सरकारले,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।