
-नरेश के.सी.
फागुन २९ गते भैरहवामा नेकपा (एमाले)ले ठूलो आमसभा ग¥यो । सोही पार्टीले गरेको दाबी अनुसार सभामा ५० हजार जनसहभागिता रहेको थियो । उक्त सभा भन्दा अगाडि मधेसी मोर्चा निकट दल बाहेक अन्य दलले ठूला सभा गर्न सकेका थिएनन् । मान्छे जत्ति उपस्थित भएता पनि २०७० यता त्यति धेरै जनसागर उर्लेको पहिलो होला । त्यसपछि अन्य दलले पनि चुनावी सभा सम्पन्न गरे ।
सभा मेची महाकाली अभियान अन्र्तगत सम्पन्न भएको थियो । उक्त सभा भैरहवाको मुख्य बजारमा गर्दा मधेसी मोर्चा सँग झडप हुने डरले स्थानिय प्रशासनले केही किलोमिटर उत्तर तर्फ मात्र सभा गर्न दिएको थियो । हजारौको सहभागितामा सम्पन्न उक्त सभालाई एमाले अध्यक्ष के.पी. ओलीले सम्बोधन गर्दै पश्चिम तराईको भैरहवा लगायत सबै क्षेत्र स्थानीय निर्वाचन पश्चात एमालेमय हुने उद्घोष गरेका थिए ।
ओली लगायतका एमाले शीर्ष नेतृत्वले सभालाई सम्बोधन गरिरहँदा रुपन्देहीमा मधेसी मोर्चाले आम हड्ताल आह्वान गरेको थियो । आमहड्तालका बीच सभामा हजाराँैको सहभागिता देखेपछि नेताहरु उत्साहितपूर्ण भाषण गर्दै गए । सभामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले केही दिनमै ब्यालेट मार्फत भैरहवा लगायतको क्षेत्र एमाले कब्जामा जाने भनेर दृढतापुर्वक भाषण गर्दा केही केही सहभागीहरुले ओलीको भाषणलाई हावादारी भनेर टिप्पणी गरेको पनि सुनिन्थ्यो । जुन कुरा सामाजिक सञ्जालमा पनि छ्यापछप्ती भयो ।
चैत्र अन्तिम साता लुम्बिनी निर्माण व्यवसायी संघको सभाहलमा पाटिका उपमहासचिव विष्णु प्रसाद पौडेलको उपस्थितीमा एमालेले सिद्धार्थनगरमा एकल उमेदवारी दिने अनौपचारिक घोषणा ग¥यो । वैशाख ४ गते होटल क्यासलमा आयोजित नगरको विस्तारित बैठकमा हरिप्रसाद अधिकारी मेयर सर्वसम्मत उम्मेदवार घोषणा भए ।
मेयरका आकांक्षी डा. रामप्रसाद बस्यालले नै अप्रत्यासीत रुपमा अधिकारीलाई प्रस्ताव गरेपछि भरीभराउ उक्त हल खुसीले गुञ्जायमान भएको थियो । उपमेयरमा उमा काफ्ले र पम्फावती खनाल दुवैको नाम सिफारिश भयो । पछि जिल्ला कमिटीले काफ्लेको नाम सर्वसम्मत गरायो ।
वैशाख २८ गते पुनः भैरहवाको लुम्बिनी निर्माण व्यवसायी संघको हलमा एमालेको अर्को सभा सम्पन्न भयो । सभाले एमाले कसैसँग तालमेल नगर्ने निर्णय ग¥यो । सभामा सहभागी अगुवा कार्यकर्ताले त अन्य दलसंँग तालमेल गरे सामूहिक राजीनामा दिने सम्मको अनौपचारीक निर्णय गरे ।
त्यसको दुई दिनपछि पार्टीका उपमहासचिवद्वय विष्णु प्रसाद पौडेल र घनश्याम भुसाल सहित शीर्ष नेताको आतिथ्यतामा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अर्को सभाले आसन्न स्थानीय निर्वाचनमा सिद्धार्थनगरमा एमाले कसैसंग तालमेल नगर्नेगरी हरिप्रसाद अधिकारी मेयर र उमा काफ्ले उपमेयर सहित नगरका १३ वटै वार्डमा उमेदवारी घोषणा गरयो । त्यसको अर्कोदिनदेखी एमालेले घरदैलो शुरु गरयो । त्यतिबेला सम्म कांग्रेस , माओवादीले उमेदवार नै छनौट गर्न सकेको थिएन ।
राप्रपाले मेयरको छनौट पहिले गरेको भएता पनि उपमेयर उमेदवारी मनोनयनको दिन मात्रै ग¥यो भने अन्य दलले पनि मनोनयन दर्ताको केही दिन अगाडि मात्रै उम्मेदवार छनौट गरे । यद्यपी एमालले एकाध महिना पहिलेदेखी तयारी थालेको थियो । एमालेको तिब्र तयारीका बाबजुद पनि भैरहवामा धेरैले एमाले अन्तीम अवस्थामा अन्य दलसंग तालमेल गर्छ भनेर हल्ला गर्दै हिँड्ने पनि धेरै भेटिए । भैरहवामा धेरै हल्ला फिँजाइयो । एमाले राप्रपा वा अन्य दलसंँग तालमेल गर्छ भनेर भित्रभित्रै व्यापक पारियो । एमालेले मेयर छाड्छ, उपमेयर लिएर चुनापमा जान्छ भनेर अन्य दल आबद्ध व्यक्तिहरुले सामाजिक सञ्जालको प्रयोग मात्रै गरेनन केही केही मिडीयालाई प्रयोग पनि गरे ।
असार ९ गते भैरहवामा एमालेको अन्तिम चुनावी सभा सम्पन्न भइरहँदा सम्म पनि एमालेले एक्लै चुनाव लड्छ की लड्दैन भनेर अशंका गर्नेहरु विद्यमान थिए । तर पार्टीका उपमहासचिव घनश्याम भुषाल र केन्द्रिय सदस्य प्रा.डा. लालबाबु यादवले एमालेले असारको दोस्रो हप्ता भैरहवामा लालझण्डा गाड्ने उद्घोष गर्दै मेयर उपमेयरले जितिसकेको भन्दै अबिर नै लगाइदिए । त्यो दृश्य एमाले समर्थकहरुलाइ खुसी लाग्दो थियो भने अन्यलाई हाँसो लाग्दो । हाँसोमा उडाउनेहरु भन्दै थिए ः चुनाव नहुँदै विजयीको अबिर, हेर्दै जानु भाषण जे भएपनि एमाले अरुसंगै मिलेर जान्छ वा एक्लै गए पुरै चुनाव हार्छ ।
उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतो सहितका नेताहरुले भैरहवामा चुनाव हुँदैहुँदैन । यो चुनाव मधेसी जनताको पक्षमा छैन भनेर भाषण गरे । महतो सहित महन्थ ठाकुर लगायतका नेताहरु अर्कोदिन भैरहवाको होटल पवनमा बसेर उम्मेदवारी दर्ताको सहभागीतालाई आफ्नै आँखाले नियाले र उनीहरु अघिल्लो दिनसम्म गरेको भाषण फगत रहेछ भन्ने आत्मविश्लेषण गर्दै अन्यत्र लागे । उमेदवारी मनोनयन दर्ता उत्साहबद्र्धक भयो ।
आठ दलीय र तीन स्वतन्त्र गरी ११ जनाले मेयरमा उमेदवारी दिएपछि सोही दिनदेखि भैरहवामा चुनावी रौनकताले तीव्रता छायो । एमालेका स्थानीय नेताहरु विशेषगरी पुष्पाञ्जली उपाध्याय, भरत कुमार पोखरेल, डा. रामप्रसाद बस्याल, जीवलाल अर्याल, पम्फावति खनाल, राजेन्द्र पन्थि, हितराज पन्थी, हरिप्रसाद अधिकारी, उमा काफ्ले, डासुराम पाण्डे, विष्णु पन्थी लगायत बुद्धजीवि तथा नेता कार्यकर्ताहरुको जोडमा एमालेले भैरहवामा एकल चुनाबमा होमियो । नेताहरुले एमालेले भैरहवामा सुर्यध्वजावाहक झन्डा गाडेरै छाड्ने ६५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेपछि भित्रभित्रै सिद्धार्थनगर एमालेमय हुँदै गयो । केही नेताहरु एकल चुनावी मैदानमा जानु हुन्न भन्ने पक्षमा थिए । तर कार्यर्ताहरुको व्यापक दबाबका कारण उनीहरु अल्पमतमा परे र एकल दौडमा होमिए ।
विगतमा पन्चहरुले शासन गरेको भैरहवामा एमालेको जग बसाल्न गोपीरमण उपाध्यय, पुस्पराज ज्ञवाली, देवी पाण्डे, बाबुराम अर्याल, यश बहादुर कुवर, रिद्धी प्याकुरेल, पद्मा प्याकुरेल, रामचन्द्र भट्टराई, बूँद राना, धनपति उपाध्यय, आदित्य नारायण कसौधन, रमेश अर्याल, ठाकुर खनाल, डिबी पुन, चुलई यादवको योगदान स्मरणीय रहेको नेताहरु बताउँंछन् ।
०४९ सालमा आदित्यनारयण कसौधन सिद्धार्थनगरमा एमालेको तर्फबाट मेयर पदमा उठ्दा २२ सय मत प्राप्त गरेका थिए । ०५४ सालमा राप्रपासंँग तालमेल गरी एमालेले उपमेयरमा हरिप्रसाद अधिकारी जित्यो ।
त्यतिबेला पनि पार्टी एकल रुपमा चुनावमा लड्नुपर्छ भन्ने व्यापक दबाब थियो तर नेतृत्वले सुनेन । जसको फलस्वरुप स्वतन्त्र रुपमा डा. रामप्रसाद बस्यालले स्वतन्त्र उमेदवारी दिए र २४ सयको हाराहारीमा मत प्राप्त गरे । ०५३ सालको उपनिर्वाचनमा एमाले उमेदवार घनश्याम भुसाललाई जिताउँदाको गुन ०५४ को स्थानिय निर्वाचनमा एमालेले तिरेको थियो । त्यसभन्दा अगाडि ०५३ मा एमालेका धनपति उपाध्ययले यही क्षेत्रबाट सांसद जितेका थिए । ०५६ मा बुंद राना, ०६४ मा देवी चौधरी र ०७० मा भरत कुमार पोखरेल सांसद उठेता पनि पराजित भए ।
यी सबै घटना परिघटनाले एमाले भैरहवामा कमजोर भएको प्रमाणित हुँदै गएको थियो । तर ०७० पछि एमालेको एउटा समूह पार्टीभित्रका अन्तरविरोधलाई चिर्दै अगाडि बढ्यो ।
जसको फलस्वरुप प्रदेश नम्बर ५ मा नै सिद्धार्थनगरमा सर्वसम्मत उमेदवार सिफारिस गर्न सफल भयो भने बहुमत सहित मेयर उपमेयर पनि विजयी प्राप्त गर्न पुग्यो ।
निर्वाचनमा जित हार स्वभाविक पक्ष हो । तर सिनपामा एमालेले केही महत्वपुर्ण उपलब्धि प्राप्त गरेको छ भने केही आन्तरिक व्यवस्थापनको कमीको कारण केही गुमाएको पनि छ । सबैभन्दा महत्वपुर्ण उपलब्धिको रुपमा एमालेका मेयर उपमेयरका उमेदवारहरु प्रतिद्वन्द्वी भन्दा फराकिलो मतान्तरले विजयी हुदैं ईतिहांस कायम गरेका छन् । दोस्रो एमाले पंक्तिले भन्दा पनि आम जनताले कम आशा गरेका वार्डहरुमा एमालेले किल्ला गाडेको छ ।
नगरको ३ र ११ नम्बरमा राप्रपाको विरासतलाई समाप्त नै पार्नेगरी विजय हासिल गरेको छ । वडा नम्बर २, ५ र ९ मा उल्लासपुर्ण ढंगले सफलता प्राप्त गरेको छ । तर एमालेको गढ मानिएको वडा नम्बर ८, ७ र १२ मा अध्यक्ष पद गुमाएको छ । उक्त वार्डमा अध्यक्ष पद बाहेक अन्य सदस्यहरु जितेको एमालेले पराजयको कारण अनेक भएता पनि आन्तरिक व्यवस्थापन मुख्य हुन सक्छ । तर पनि पराजय पश्चात उमेदवारहरुले पार्टी काममा हिजो भन्दा अझ शसक्त ढंगले खटिने प्रतिक्रिया दिनुले एमालेले केही हारेता पनि धेरै जितेकोमा सिङ्गो नगर खुसी भएको छ ।
खासमा माथिका दृष्टान्त र घटनाले एमालेलाई मधेस विरोधी भनेर लाग्दै आरोप स्वतः खारेज भएका छन् । मधेसी मोर्चाले तराइ मधेसमा बसोबास गर्ने जनताको ठेक्का नै लिएर दिदैं आएको अभिव्यक्तिको पर्दाफास भएको छ । मधेसका जनताले के चाहन्छन् भन्ने कुराको पर्दा खुलेको छ । अझ सिनपा ११ जहांँ १०८५ मत खसेको थियो । पिपरैया, छोटकी पिपरैया, नौडिहवा, भुजौली र सिपवा गाउँका जनताले एमालेको सूर्यमा गरेकोमतदान ऐतिहासिक देखिएको छ ।
शतप्रतिशत मधेसी मतदाता रहेको उक्त वार्डबाट एमालेका उम्मेदवार दिलिप यादव, नरेश अहिर, अकबाल अहमद, सहनाज बेगम र सुभावति चमारले अत्याधिक मतले विजयी प्राप्त गरे । सो वार्डबाट एमालेका मेयर उमेदवारलाई ३ सय १० मत प्राप्त भएको छ भने उपमेयरको उमेदवारलाई ३ सय ३१ मत प्राप्त भएको छ । जबकी मधेसलाई आधार बनाएर निर्माण भएको दल संघीय समाजबादी फोरम नेपालका मेयर उमेदवार अर्जुन जैसवालले सो वार्डबाट जम्मा १४ मत प्राप्त गरेका छन भने फोरम लोकतान्त्रीकका मेयर उमेदवार पुनम अग्रवालले जम्मा १ मत प्राप्त गरेका छन् ।
कांग्रेसका मेयर पदका उमेदवार मातृका प्रसाद यादवले २ सय ६४ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका फैज अहमद खानले १ सय ७७ मत प्राप्त गरेका छन् । जबकी राप्रपाले आफ्नो गढ वार्डको रुपमा परिचय दिदैं आएको उक्त वार्डमा सो दलका मेयरका उमेदवार सागरप्रताप राणाले २ सय २६ मत मात्रै प्राप्त गरेका छन् । यो मतदानले पनि मधेस क्षेत्रका जनता के चाहन्छन भनेर प्रस्टाएका छन् ।
नेकपा एमाले मधेसप्रति अनुदार छ भनेर प्रचार प्रसार भइरहेको बेला पश्चिम तराईको मुख्य केन्द्र भैरहवामा एमालेले कब्जा जमाइरहँदा नेपाली राजनीतिमा नै धेरै थरी अड्कलबाजी भइरहेका छन् । भैरहवामा माओवादी केन्द्रका फैज अहमद खानले मेयर पदमा दिएको साहसपूर्ण उमेदवारीले यहाँंको राजनीतिको मोड नै परिवर्तन गरिदिएको हो । एमालेको लहर, पार्टीभित्रकै अभूतपूर्व एकता, उमेदवारको छनौटमा सजगता, माओवादी केन्द्रबाट खानको उम्मेदवारी तथा मतादाताको विश्वास र पार्टीको प्रतिबद्धतापत्र एवं नेता कार्यकर्ताको अहोरात्रको खटन पटनले भैरहवा एमालेमय बनेको हो ।
प्रदेश नम्बर ५ को मुख्य केन्द्र रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सबै दल एकातिर हुँदा पनि एमालेको अभुतपूर्व विजयी एवं दक्षिणी क्षेत्रका गाउँपालिकामा आएको सम्मानजनक मतले पनि एमालेप्रति जनाधार बढ्दै गएको पुष्टि गरेको छ । एमाले जनले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडानलाई यथावत राख्दै अझै जनपक्षीय काम गर्दै गएमा आसन्न प्रान्त र केन्द्रिय निर्वाचनमा देश एमालेमय हुनेमा कुनै शंका छैन ।