logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कपिलवस्तुमा शैक्षिक स्तर खस्किँदो


    १२ साउन २०७४ , बिहिबार

    कपिलवस्तुमा शैक्षिक स्तर खस्किँदो

    मो. इमरान खान
    कपिलवस्तु, श्रावण÷ कपिलवस्तु जिल्ला शिक्षा कार्यालयको वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ ।  जिल्लामा रहेका १६० संस्थागत,४३१ सामुदायिक ५२८ बालविकास केन्द्र १९० मदरसाको तथ्याङक अनुसार यो वर्ष शैक्षिक सिकाइ ५१ प्रतिशत रहेको र कूल विद्यार्थी  मध्ये अहिले छात्राको संख्या छात्रभन्दा १ प्रतिशत बढी रहेको तथ्याङक  सार्वजनिक गरेको छ ।


    पछिल्लो समय कपिलवस्तुमा विद्यालय भर्ना दर पनि बढ्न सफल भएको, आधारभूत कक्षातर्फ १ देखि ५ सम्म ९७ प्रतिशत विद्यार्थी भर्ना भएका छन् भने १ देखि ८ सम्म भर्ना हुनेको संख्या ८८ प्रतिशत रहेको छ । जुन तथ्यांकमा दर्ता बिना सञ्चालन भएका तथा नेपालमा घर भई  भारतमा पढ्नेको संख्या नभएकोले पनि भर्ना १०० प्रतिशतको नजिक पुग्न नसकेको जिल्ला शिक्षा कार्यालयका निमित्त कार्यकारी अधिकृत थानेश्वर ज्ञवालीले बताएका छन् ।
    अहिले जिल्लामा आवश्यकता अनुसारको दरबन्दी पूर्ति गर्न नसकिएको र एउटा शिक्षकले ६५ जना विद्यार्थीलाई पढाउनु पर्ने अवस्था रहेकोले पनि जिल्लामा शौक्षिक स्तर माथि उठ्न सकेको छैन ।

    जिल्लामा एक शिक्षकले ५० जना विद्यार्थी मात्रैका आधारमा गर्ने हो भने पनि अझै ६६२ जनाको शिक्षक दरबन्दी आवश्यक रहेको ज्ञवालीले बताए  । अहिले कपिलवस्तुमा प्राविमा १ शिक्षक बराबर ६२ र निमाविमा १ शिक्षक अनुसार १०५ जना विद्यार्थी पर्ने भएकोले पनि शिक्षामा उल्लेखनीय प्रगति हुन नसकेको बताइएको छ । कपिलवस्तुमा साबिकका १५ गाविस पूर्ण साक्षर घोषणा भैइसकेका छन् भने बुद्धभूमी नगरपालिका हुने तयारीमा रहेको छ ।

    त्यहाँ १५ देखि ६० वर्षका ९० प्रतिशत  साक्षर रहेको जनाइएको छ  । वार्षिक प्रगति समीक्षा अनुसार गत वर्षको तुलनामा शैक्षिक पहुँच बढेको, सिकाई उपलब्धिमूलक भएको, जिल्लाका मदरसाहरु व्यवस्थित भएको तथ्याङ्कमा  सार्वजनिक गरिएको छ । विद्यालय बालमैत्री हुने क्रम जारी रहेको र अहिलेसम्म ६० प्रतिशत विद्यालय बालमैत्री रहेको समीक्षामा उल्लेख छ ।
    जिल्लामा ५५ वटा विद्यालयमा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएका छन् । अझै पनि जिल्लाका साबिक २३ गाविसमा मावि समेत रहेका छैनन् ।

    यस जिल्लामा गत आर्थिक वर्षमा विद्यालय क्षेत्र विकासतर्फ ५४ करोड ६३ लाखमध्ये ६ करोड ५० लाख फ्रिज भएको छ । दिवा खाजातर्फ ९८ लाख फ्रिज भएको छ । द्वन्द्व पीडित छात्रा वृद्धि तर्फ ६ लाख बजेट फ्रिज भएको छ ।  कपिलवस्तुमा भर्ना प्रतिशत धेरै भए पनि उपस्थिति भने ५० प्रतिशत मात्र हुने गरेको छ ।

    साथै पढाईको स्तर पनि  पछाडि पर्ने गरेको छ । यस वर्षको ‘एसइइ’को परीक्षामा १.६ जिपिए ल्याउने विद्यार्थी गत वर्षको ४० प्रतिशतको तुलनामा यो वर्ष ३४ प्रतिशतमा झरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.