लुम्बिनीखबर
भैरहवा, साउन १२ । नेपाल भारत सीमा क्षेत्र बेलहियामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले दादागिरी देखाउने गरेको छ । एसएसबीले चेकजांँचको नाममा नेपालबाट भारततर्फ जाने सवारी साधन, पैदलयात्रुलाई दुःख दिने गरेको छ ।

अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गर्दै एसएसबीले बेलहिया सुनौली दसगजा क्षेत्रमै चेकजाँच गरिरहेको देखिन्छ । भारतीय एसएसबी हातहतियार सहित दसगजामै बसेर चेकजाँच गरिरहेका छन् । तर नजिकै रहेको इलाका प्रहरी कार्यलय बेलहिया बेखबर जस्तै भएको छ ।
मंगलबार साँंझ भारतीय एसएसबीले चेकजाँचको नाममा नेपालीमाथि दुव्र्यवहार गरेको भन्ने सुनेर सो खबर संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई पनि नेपाली भूमिमै आई दुव्र्यवहार गरेको छ ।
एसएसबीका जवानहरु बेलहिया शान्तिद्वारसम्म आई दसगजा क्षेत्रको तस्वीर किन खिचेको भन्दै धम्काएका थिए । भारतीय सुरक्षाकर्मीहरु ड्रेस र हतियार सहित शान्तिद्वारसम्म आउँदा भने त्यहिँको इप्रका बेलहियाका ड्युटीमा बसेका प्रहरी भने मौन बसे ।

सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई जानकारी गराउँदा उनले भारतीय सुरक्षाकर्मीले गलत गरेको प्रतिक्रिया दिए ।
सिंहले सो सम्बन्धमा आफूले भारतीय समकक्षीसंँग कुरा गरिसकेको र गलत काम गर्नेलाई कारबाही गर्ने आश्वासन पाएको समेत बताए । भारत, चीन शीतयुद्ध चलिरहेको अवस्थामा नजिकको छिमेकी नेपाललाई रुष्ट गराउने गरी भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा वितण्डा मच्चाउन थालेका छन् ।
केही दिनयता दसगजामा चेकजाँचको नाममा भारतीय एसएसबीले नेपालबाट भारततर्फ जाने सवारी साधनलाई कम्तिमा २० मिनेटसम्म रोक्ने गरेको पाइएको छ । जसको कारण बेलहियादेखि डण्डासम्म ट्राफिक जाम हुने गरेको छ ।