भुवन कार्की/कमल रायमाझी
रूपन्देही, २६ साउन । हिन्दु नारीहरुको महान हरितालिका तीजको रौनक यस क्षेत्रमा शुरु भएको छ । प्रायः डांडापाखामा माईतीको आँगनमा रमाउने चेलीहरु अहिले सहरका पार्टी प्यालेसमा पनि उत्तिकै रमाउन थालेका छन् ।

यस क्षेत्रका पार्टी प्यालेस, क्लब तथा सार्वजनिक स्थलहरुमा विभिन्न संघसंस्थाहरुले तीज विशेष कार्यक्रमहरु दिनहुँजसो गर्न लागेका छन् ।
बुधबार रुपन्देहीमा बसोबास गर्ने पाल्पा बल्ढेङ्गढी क्षेत्रका चेलीहरुलाई चर्चित लोकदोहोरी गायिका सपना गाहाले छमछमी नचाईन् । पाल्पा बल्ढेङ्गढी समाज रुपन्देहीले आयोजना गरेको तीज विषेश कार्यक्रममा चेलीहरुलाई दर पनि खुवाईएको समाजका अध्यक्ष डीबी कार्कीले जानकारी दिए ।

कार्यक्रममा सपनाले गीत मात्र गाएर माहोल तताइनन् आफै पनि छमछमी नाचेर पाल्पाली चेलीहरुलाई उफारिन् । प्रारम्भमा तीजका पुराना भाका गाएकी सपनाले आधुनिक पाराको ‘मायालुले इसारा दियो, मैले कुरा बुझेसी सकियो.’ बोलको गीत गाउँदा महोल निकै तात्यो । प्राय रोतो सारीमा सजिएर आएका पाल्पाली चेलीले कम्मर मर्काएर नाँच्न तछाडमछाड नै गरे । सहरको व्यस्त जीवन व्यतित गरिरहेका चेलीहरु दाजुभाईका हात समातेर खुलेर नाँचे । गायक बसन्त लम्साल, सञ्जय सौगात, अर्जुन खड्का, सामे कार्की, प्रतिक्षा बीसी, मिना खड्का लगायतले पनि तीजका गीत गाएर भरपुर मनोरञ्जन दिलाए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर केसी, पाल्पाली समाजका अध्यक्ष पदमबहादुर कार्की, समाजका सचिव लता खड्का, कल्पाना खड्का, सतिकला विक, इन्द्रकला विक लगायतले बोल्दै तीजको मौलिकता जोगाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

यसैबीच सञ्चारिका समूह रुपन्देहीले पनि बिहीबार महिला पत्रकारहरुलाई तीजको दर खुवाउने कार्यक्रम आयोजना गरेको समूहकी अध्यक्ष अमृता अनमोलले बताइन् । यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीको महिला विभागले पत्रकारहरुलाई तीजको दर खुवाइसकेको छ ।