नक्कली प्रज्ञापनका आधारमा गाडी छोडिन्छ
कमल रायमाझी
भैरहवा,२८ साउन । भैरहवा भन्सार कार्यालय रुपन्देही वाट तस्करहरुले खुलेयाम तस्कर गरेको प्रमाणहरु भेटिएका छन् ।
भन्सारका कर्मचारी र तस्करहरु विचको साठँगाठमा तस्करी मौलाए पछि कुरा वाहिर सम्म आएको हो ।
तस्कर र कर्मचारीले नक्कली कागजात देखी विना भन्सार राजस्व सेटिङमा तस्करी गर्ने गरेको कुराहरु विगत देखि नै हुनेगरेको हल्लाहरु चल्ने गरेपनि अहिले प्रमाण भेटिएका हुन् ।
तस्कर गरि राजस्व ठग्नका लागी भन्सारका कर्मचारीले विभिन्न मापदण्डहरु समेत अपनाउने गरेका छन् ।
उनिहरुले तस्करका समानहरु नेपाल भित्राउनका लागी देखावटीरुपमा भन्सार गरेका कागजात मिलाए पछि राजस्व भने तिराएका हुदैनन् ।
साउन २६ गते पनि यस्तै प्रकृतीको घटना दोहोरिएको छ । सुचनाका आधारमा स्थानियहरुले भन्सार प्रमुखलाई भन्सार गरेर निस्किएको ट्रक नियन्त्रणमा लिन अनुरोध गरे पछि कुरा वाहिर आउको हो ।
नियन्त्रणमा लिएको ना ४ ख ४१२६ नम्बरको ट्रक भन्सारले नियन्त्रणमा लिएर भन्सारको हाता भित्रत फर्कायो तर बैधानिक रहेको भनि सरोकारवाला तथा पत्रकारहरुलाई कागजात, भन्सार प्रज्ञापन पत्र र भन्सार राजस्व तिरेको रसिद देखाएर फर्कायो ।
भन्सारले देखाएका कागजातहरु अनुसन्धान गर्दा भनि नक्कली ठहरियो । जुन ट्रक नम्बर वाट भन्सार महशुल तिरिएको देखिएन । भन्सारले देखाएका प्रज्ञापनपत्र राजस्व तिरेका रसिदहरु नक्कली भएको प्रमाणीत भएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले त्रुटी भएको स्विकार गरे ।
स्थानिय तथा पत्रकारहरुलाई देखाएको प्रज्ञापन पत्रमा र राजस्व तिरेको रसिदमा यो भन्दा पहिला नै ना६ख ५६३५ नम्बरको ट्रक पनि निस्किएको रहेछ । प्रज्ञापन पत्र, राजस्व तिरेको रसिद, भन्सार गर्न भरिएको समानहरु , एजेण्ट नम्बरहरु मिलेपनि ट्रक नम्बर मात्र फरक गरेर ना४ख ४१२६ नम्बरको ट्रक भन्सार पास गरिएकोमा भैरहवा भन्सार कार्यालयका प्रमुखले अनुसन्धान गरेर के हो भन्ने कुरा वाहिर ल्याउने बताए ।
भन्सार कार्यालय वाट भन्सार एजेण्ट नम्बर ४ सय ७५ प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ वाट कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डल भन्सार महसुल तिरि ना६ख ५६३५ नम्बरको ट्रक उल्लेख गरिएको छ । त्यही प्रज्ञापनपत्र नम्बर, एजेण्ट नम्बर र भन्सार गरिएको समान उस्तै राखेर नम्कली कागजात बनाई ट्रक नम्बर भने ना ४ ख ४१२६ मा भन्सार पास गरिएको थियो । जुन पछि भन्सार गेट बाट बाहिरिए पछि स्थानियहरुको अनुरोधमा नियन्त्रणमा लिएको हो । भन्सार गरि निस्केको ट्रक नम्बर ना ६ ख ५६३५ मा पनि कागजात भन्दा फरक समानहरु भएको बताइएको छ । जुन ट्रकले लगेको समानको भन्सार मुल्य र परिणाम कम राखिएको देखिन्छ ।
प्रोपाईटर राजन प्रसाद तिमिल्सीना फर्म माँ मनकामना ईन्टरनेस्नल रुपन्देही पडसरीको नाममा भन्सार गरिएको उक्त ट्रकहरु दाहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको छ ।
प्रज्ञापन पत्रमा भन्सारका अधिकृत मान बहादुर बिश्वकर्माले जाच गरि सहि गरेका छन् ।
बिश्वकर्माले पनि प्रज्ञापन पत्रमा सहि आफ्नो भएपनि नक्कली प्रज्ञापन पत्र भएको स्विकार गर्दै यस विषयमा अहिले केहि भन्न नसक्ने बताए ।
कसको मिलोमतोमा हुन्छ तस्करी ?
भैरहवा भन्सार कार्यालयमा कर्मचारीको मिलोमतो विगत देखि नै तस्करी हुने गरेको छ । यहाँ विभिन्न गिरोहहरुले कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर खुलेयाम तस्करी गर्ने गरेका छन् । दर्जन बढी गिरोहहरुको समुहले दैनिकरुपमा दर्जनौ ट्रकहरु विना भन्सार महशुल भन्सार पास गर्दछन् । उनिहरुले एक ट्रक समान पास गरे भने त्यसको प्रज्ञापन पत्रमा दर्जनौ अरु ट्रक पास गर्दछन् । उनिहरुले नक्कली कागजात बनाएर पनि भन्सार तिरेको प्रमाण तयार गरि समानहरु पास गर्ने गरेका उदारण भैरहवा भन्सार कार्यालयमा अहिले बल्गे्रती देखिएका छन् । दर्जन वढि तस्करहरु भन्सारको सेटिङमा काम गर्दछन् । यसमा मुख्य नाइके चितवन निवासी राजु थापा हुन । उनको निर्देशनमा वेलहियाका केहि व्यक्ति परिचालन रहेको नाम उल्लेख नगर्ने सर्तमा एक भन्सार एजेण्टले जानाकारी दिए ।
राजु थापाले आफ्नो काम गर्ने कर्मचारी राजन प्रसाद तिमिल्सीनाको नाममा माँ मनकामना इन्टरनेस्नल नाम फर्म खोलेका छन् । यहि फर्मको नाममा तस्करी समान आउने र नक्कली बिल प्रयोग गरि काठमान्डौ लगाएतका स्थानमा समानहरु पुग्ने गरेको देखिन्छ ।
भैरहवा भन्सार कार्यालय वाट नै भन्सार पास भएर काठमान्डौका लागी हिडेको ना६ख २२७८ नम्बरको ट्रक बैसाख ६ गते चितवन वाट मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाले नियन्त्रणमा लिएर पथलैया राजस्वलाई बुझाएको थियो । जसको समेत अहिले अनुसन्धान भैरहेका छ । यो ट्रक पनि नक्कली कागजात र कम परिणामको भन्सार गरिएको सुचना प्रहरी समक्ष पुगेपछि नियन्त्रणमा लिएको हो । यस्तै प्रकृतीको अर्को ट्रक ना ६ ख ५०६५ ले समेत बैसाख २८ गते भैरहवा भन्सार वाट पास भएर गेट पार गरेपछि स्थानियको सुचनामा भैरहवा भन्सारका प्रमुखको निर्देशनमा पुन भन्सार फर्काइएको थियो । जसमा समेत नक्कली प्रज्ञापन पत्र र कम परिणामको भन्सार तिरेको देखिएको थियो । जुन सिधै लिलाम प्रकृयामा जानुपर्नेमा अहिले सम्म भन्सार प्रमुखको मिलोमतोमा कम जरिवाना तिराएर छुटाउने योजना रहेको भन्सारकै कर्मचारीहरु बताउछन् । तस्करका मुख्य नाईके मानिएका राजु थापाले भन्सार पास गरेर बाहिरिएका मालवाहक ट्रकहरु विगतका दिनहरुमा धेरै पटक राजस्व अनुसन्धानले समेत नियन्त्रणमा लिएर जरिवाना तिराएको देखिन्छ । हाल भन्सार विभागका डिजि तथा तत्कालिन राजस्व अनुसन्धान विभागका डिजि रामशरण टिमुरिया र तत्कालिन राजस्व अनुसन्धान विभागका डिडिजि निर्मलहरि अधिकारीले समेत केहि महिना अगाडी यहि तस्कर समुहको २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर ३ करोड ९० लाख राजस्व तिराएका थिए । आठ महिना पहिला पनि राजस्व अनुसन्धान विभागका ५ नम्बर फाटका प्रमुख राम प्रसाद रेग्मीले समेत भैरहवा भन्सार कार्यालय वाट भन्सार पास भएर निस्किएको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कमजोरी देखिएर ९० लाख राजस्व असुली गरेको नाम उल्लेख नगर्ने सर्तमा भैरहवा भन्सार कार्यालयका एक अधिकृत बताँउछन् ।

नक्कली प्रज्ञापन पत्र र कागजातमा भन्सार वाट वाहिरिए र पुन भन्सार फर्काइएको ना ४ ख ४१२६ नम्बरको ट्रकमा पनि यही भौचर प्रयोग भएको छ । ना ६ ख ५६३५ नम्बरको ट्रकमा पनि यहि भौचर प्रयोग गरिएको छ । जुन सक्कली र नक्कली आखाँले हेरेको भरमा छुट्टाउन सकिदैन ।

नक्कली प्रज्ञापन पत्र र कागजातमा भन्सार वाट वाहिरिए र पुन भन्सार फर्काइएको ना ४ ख ४१२६ नम्बरको ट्रकमा प्रयोग गरिएको प्रज्ञापन पत्र जुन ना ६ ख ५६३५ संग ट्रक नम्बर मात्र फरक छ तर अरु विवरण सवै मिलेको छ ।

नक्कली प्रज्ञापन पत्र र कागजातमा भन्सार वाट वाहिरिए र पुन भन्सार फर्काइएको ना ४ ख ४१२६ नम्बरको ट्रक । यस्ता नक्कली कागजातमा भैरहवा भन्सार वाट दैनिक दर्जनौ ट्रक बाहिरिन्छन् ।

ना ६ ख ५६३५ संग ट्रक नम्बर को प्रज्ञापन पत्र र ना ४ ख ४१२६ नम्बरको प्रज्ञापन पत्र को विवरण र सवै मिलेपनि एक नक्कली र अर्को सक्कली हो । एउटा ट्रक भन्सार गरेर त्यसैको विवरणमा नक्कली प्रज्ञापन पत्र तयार गरिएको हुन्छ । भैरहवा भन्सार कार्यालयमा जुन यो एक उदारण मात्र हो ।