लुम्बिनीखबर
नवलपरासी, २० भदौ । रामग्राम नगरपालिकाको नगरसभाले जनप्रतिनिधिहरुलाई मासिक तलब भत्ताको व्यवस्था गरेको छ । नगरसभाले नगर प्रमुखलाई ३५ हजार, उपप्रमुखलाई ३० हजार र वडा अध्यक्षहरुलाई १८ हजारका दरले मासिक पारिश्रमिक दिने नगर सभाबाट पारित बजेटमा देखिएको छ ।

नगरमा कूल १८ वटा वडा छन् । वडा सदस्यलाई पारिश्रमिक नदिइने तर वर्षमा एक पटक चाडपर्व खर्च भनी १० हजारका दरले उपलब्ध गराईने व्यवस्था मिलाइएको नगरपालिकाको सूचना शाखाले जनाएको छ ।
कार्यपालिकाका ८ सदस्यलाई ईन्धन खर्च बापत मासिक ३ हजार सहित सञ्चार खर्च मासिक ५ सय पनि दिईने व्यवस्था गरिएको छ । नगरको बैठकमा प्रति सदस्य १ हजार भत्ता पनि तोकिएको छ । यसरी प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको वार्षिक पारिश्रमिक खर्च मात्र ४६ लाख, ६६ हजार पुग्ने देखिन्छ । नवलपरासीको रामग्राम नगरपालिकाले प्रथम नगर सभामा नगरको ५९ करोड बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाले नगरको बिनियोजित रकम कुल ५९ करोड, १४ लाख, ९६ हजार रुपिया प्रस्तुत गरेको हो । जिल्लाको सदरमुकाम परासीमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा नगरको बार्षिक बजेट र निति तथा कार्यक्रमहरु सार्बजनिक गरिएको थियो ।
नगरको कुल बजेट मध्ये (चालु) प्रशासनिक खर्च तर्फ २४ करोड, ६७ लाख, २७ हजार रकम बिनियोजन गरेको छ जसमध्ये प्रशासनिक खर्च तर्फ ६ करोड ५९ लाख ५९ हजार, सामाजिक सुरक्षा तर्फ ८ करोड, शिक्षा र स्वास्थ्य तर्फ ९ करोड, ९८ लाख, ६९ हजार र एलजिसिडिपी तर्फ ९ लाख रुपिया रहेकोे छ ।
पुँजीगत तर्फ कुल बजेटको ३४ करोड, ४७ लाख, ६९ हजार रकम बिनियोज गरिएको छ जसमध्ये वार्ड नम्बर २,३,५ लाई ३५ लाखका दरले रकम छुट्टाइएको छ । वार्ड नम्बर १,४,६,७,८,९,१०,११,१२ र १३ लाई ४५ लाखका दरले १४ देखि १८ सम्मको वार्डलाई ७० लाखका दरले रकम छुट्टाएको नगर सभामा प्रस्तुत तथ्याङकले देखाएको छ ।