logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    तस्करले गरे रूट परिवर्तन


    १ असोज २०७४ , आइतबार

    तस्करले गरे रूट परिवर्तन

    लुम्बिनीखबर
    भैरहवा, असोज १ । रुपन्देहीको सीमा क्षेत्रबाट नियमित रुपमा तस्करी गरि अकुत सम्पत्ति कमाउने तस्करहरुले अहिले रूट परिवर्तन गर्न सुरु गरेका छन् ।

     

     

    जिल्लामा विगतदेखि नै विभिन्न निकायसँगको मिलेमतोमा हुने तस्करी रोक्ने अभियान जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवलम्बन गरेपछि तस्करहरुले रूट नै परिवर्तन गरी काम शुरु गरेका हुन् ।

    उनीहरुले विगतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार लगायतसँगको साँठगाँठमा सीमा क्षेत्र बेलहिया, मेउडिहवा, बगाहा, एयरपोर्ट पछाडि छोटकी पिपरहवाबाट गर्ने तस्करको रूट परिवर्तन गरी नवलपरासी र कपिलवस्तुतिर मोडिएको स्रोतले जानकारी दिएको छ ।

    केही तस्करले रातिको समयमा भगवानपुर हुँदै धकधई र मर्चवारबाट बेथरी हुँदै बुटवलसम्म सामान पु¥याउने गरेका छन् । तर यो निकै न्यून परिमाणमा हुने गरेको छ । लुम्बिनीको कालिदह नाका हँुदै पनि बुटवलसम्म तस्करीका सामानहरु जाने गरेका छन् ।

    भैरहवा भन्सारको बाटो प्रयोग हुँदै आउने तस्करहरुलाई समेत रुपन्देही प्रहरीले निगरानी बढाएपछि कृष्णनगर र नवलपरासीका छोटी भन्सारतिर तस्करहरु मोडिएको स्थानीय व्यापारीहरु बताउँछन् । रुपन्देहीका केही नाकाबाट अहिले पनि जिउँदो कुखुरा र कुखुराका चल्लाहरु रातिको समयमा तस्करी हुने गरेको छ । तस्करी नियन्त्रणमा जुटेको रुपन्देही प्रहरीले पनि अवैध रुपमा नेपाल भित्रिएका कुखुराका चल्लाहरु नियन्त्रणमा लिएर नष्ट गर्ने कामलाई भने निरन्तरता दिएको छ ।

    ठूलो परिमाणमा खाद्यान्न समेत रुपन्देहीमा अवैध बाटोबाट तस्करीको माध्यमबाट भित्रिने गरेको छ । जिल्लाको पूर्व दक्षिण भगवानपुर नाकाबाट र मर्चवार क्षेत्रबाट सीमा क्षेत्रमा नै गोदामहरु सञ्चालन गरि भैरहवाको गल्लामण्डीसम्म आउने गरेको किसानहरु बताउछन् । गल्लामण्डीका केही खाद्यान्न पसलहरुले तस्करीबाट आउने धान, चामल, चिनी खरिद गरी बिक्रि गर्दछन् ।
    चोरी तस्करी हँुदै भारतबाट नेपालमा मोटरपार्टस, खाद्यान्न, कपडा, हार्डवेयर, जिउँदो कुखुरा, कुखुराको चल्ला, पानी तान्ने मोटर, इन्भर्टर लगायतका सामानहरु रहेका छन् ।

    नेपाल भारत खुल्ला सीमाका कारण चोरी तस्करी नियन्त्रणमा प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । खुल्ला सीमाकै कारण लागूऔषध कारोबार र सेवन गरेर आउनेहरुको संख्या समेत अहिले नेपालमा बढ्दो देखिन्छ ।

    प्रहरीले चोरी तस्करी नियन्त्रणमा कडाई गर्दा भैरहवा भन्सारबाट राजस्व तिरेर सामानहरु नेपालमा भित्रिने दर समेत बढेको भन्सार कार्यालयको सुचना शाखाले जानकारी दिएको छ ।
    भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले प्रहरीले चोरी तस्करीबाट नेपाल भित्रिने सामानहरुलाई प्रहरीले नियन्त्रण गर्दा भन्सार तिरेर लैजाने क्रम बढेपनि कपडाको भने अपेक्षा अनुसार भन्सार हुन नसकेको बताए ।

    जिल्लामा चोरी तस्करी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने सिद्धार्थ उद्योग वाणिज्य वाणिज्य संघका सचिव नेत्र प्रसाद आचार्य बताउँछन् ।

    जनताको साथ रहेमा आफ्नो अभियानले तस्करी, लागूऔषध ओसारपसार, सीमा अपराध जस्ता कुराहरुको न्यूनीकरणमा आफू कटिबद्ध भएर लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीको प्रतिबद्धता रहेको छ ।

    मर्निङ वाकले सीमा क्षेत्र आंतकित
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीको मर्निङ वाकले सीमा क्षेत्रमा आंतक फैलिएको छ । बिहानै एसपी ज्ञवाली सीमा क्षेत्रमा जगिङ गर्दै पुग्न थालेपछि तस्कर र सीमा प्रहरी चौकीहरु आतंकित हुने गरेका हुन् । दैनिकजसो एसपी ज्ञवालीको छोट्की पिपरहवा, मेउडिहवा, पक्लिहवा हुदै भैरहवा भन्सारसम्म मर्निङ वाकको रुट बनेको छ ।

    जुन क्षेत्र विगतमा व्यापकरुपमा तस्करी हुने नाकाहरु हुन् । कहिलेकाँही एसपी ज्ञवाली चनौली बगाहको सेमलपानी नाका सम्म पुग्ने गरेको सीमा क्षेत्रका बासिन्दाहरु बताउँछन् । उनी चौकीहरुमा समेत बिहानको समयमा पैदल पुग्ने गरेका छन् । मातहतमा प्रहरीहरुले संगठनले दिएको जिम्मेवार पुरा गरे नगरेको विषयमा समेत एसपी ज्ञवालीले जनतासँंग बाटो बाटोमा बुझ्ने गरेको स्थानीय बासिन्दा भोला यादवले बताए ।

    जिल्लालाई अपराधमुक्त, लागूऔषध न्यूनीकरण, तस्करी बन्द र रुपन्देही प्रहरी मिडियामैत्री हुने उद्घोष गरेका एसपी ज्ञवालीकोको अभियान कहाँ सम्म पुग्ने हो हेर्न बाँकी छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.