नरेश के.सी.
भैरहवा, असोज ३ । शहरबजारमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि कार्यक्रम आयोजकले अतिथिहरुलाई मायाको चिनो दिने परंपरा नै छ । कुनैपनि आयोजकले कार्यक्रम आयोजना गरेपछि प्रमुख अतिथि सहित केही अतिथिलाई मायाको चिनो स्वरुप महंगो समानहरु दिने गर्दछन् ।

यद्यपी रुपन्देहीमा विशेषगरी बुद्धको सानो मूर्ति, प्रकृति झल्किने फ्रेम, घडी, खुकुरीको प्रतिमा, कृत्रिम डिजाइन गरिएका बस्तु दिने प्रचलन व्यापक छ तर समय फेरिएसंँगै एक जना सामाजिक अभियन्ताले मायाको चिनोमा सजिवता प्रदान गर्न थालेका छन् ।
सधैं निर्जीव वस्तुहरु मात्रै दिइने मायाको चिनोको ठाउँमा फलजन्य विरुवाहरु दिन थालिएको छ । लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डेले यस्तो कार्यको शुरुवात गरेका हुन् । क्लबको अध्यक्षमा चुनिएसँंगै उनले भड्किलो र खर्चिलो हरेक कार्यक्रमलाई कटौती गर्दै लायन्सको मूल मर्म अनुसार काम गर्दै गएका छन् ।
करिब ३५ वर्ष अगाडि विश्वनाथ अग्रवाल, नन्दलाल गोयन्का, नारायण अग्रवाल, धुब्र कुमार श्रेष्ठहरु लगायतले स्थापना गरेको उक्त क्लबमा अहिले एक सयको हाराहारीमा सदस्यहरु छन् । यस क्षेत्रकै ठुलो क्लबको रुपमा स्थापित भएको उक्त क्लबमा गएको असारमा पाण्डे अध्यक्षमा चयन भएपछि मितव्ययीतलाई जोड दिएका छन् ।
विगतका अध्यक्षहरुले पदस्थापन गर्दा ठुला ठुला रिर्सोट र होटलहरुमा लाखौं रुपैयांँ खर्चेर बडो तामझामले गर्ने गरेकोमा उनले सामन्य चिया विस्कुटमा पदस्थापित भएका छन् । वाककला र व्यवसायिक चातुर्यतामा अब्बल पाण्डेले क्लबको नेतृत्व लिएसंँगै धेरै परिवर्तनका रेखाहरु कोरेका छन् ।
विगतका सकारात्मक कामलाई निरन्तरता दिँदै उनले शहरबजारमा बढ्दै गएको कार्बनडाइअक्साइड र त्यसको असरलाई सामान्यीकरण गर्ने अभियानमा सघाउने ध्येयले वृक्षारोपणलाई बढी जोड दिएका छन् ।

हरेक कार्यक्रममा महंँगा समानहरु अतिथिलाई दिँदा एकातिर आयोजकलाई व्ययभार बढ्ने त अर्कोतिर त्यसको उपयोगिता पनि दीर्घकालिन हुने नदेखेर त्यसको सट्टामा विरुवा दिन थालेको पाण्डेले बताए । पाण्डेले भने “मान्छेलाई अक्सीजनको अत्यन्तै आवश्यकता हुन्छ त्यसको साथसाथै फलको पनि । यसैले हामीले फलजन्य विरुवाहरु हरेक कार्यक्रममा मायाको चिनो स्वरुप दिन थालेका छौं । यो कामको थालनीले एक वर्षभित्र करिब २ सय विरुवा वितरण गरिने छ । बिरुवा वितरण मात्रै होइन रेखदेख पनि गरिनेछ । ”
पाण्डे अध्यक्ष रहेको क्लबले कार्यक्रम गर्दा अतिथि दिर्घाको छेउमा राखिएका साना विरुवाहरु देखेर धेरैले अनेकथरी अड्कल बाजी गर्छन् । अतिथीहरुलाई मायाको चिनो पनि सरप्राइज नै हुन्छ । यसले एकातिर विश्वव्यापी रुपमा बढ्दै गएको क्लाइमेट चेन्जको असरलाई न्यूनीकरण सघाउ पुराउछ भने अर्कोतिर क्लबको नाममा हुने फजुल खर्च नियन्त्रण गर्न पनि सहयोग गर्दछ ।
पुराना पत्रकार समेत रहेका पाण्डे लायन्स क्लबका अतिरिक्त विभिन्न संघसंस्था पनि नेतृत्वदायी भूमिकामा क्रियाशील छन् । उनी भैरहवाका सफल व्यवसायी पनि हुन् ।
प्रहरी कार्यलयमा मधुमेहको परिक्षण
मधुमेह रोगको बढदो प्रवाहलाई न्यूनिकरण गर्नाका लागि लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह परिक्षण अभियान सञ्चालन गरेको छ । लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह परिक्षण (डाइविटिज स्क्रीनिङ्ग) लाई मुख्य सामाजिक कार्यक्रम मानी यो अभियान शुरुवात गरेको हो ।

प्रहरी उपरिक्षक श्याम लाल ज्ञवाली, प्रहरी नायब उपरिक्षक डिल्ली पाण्डे, प्रहरी निरिक्षक जीव लाल चँुडाली लगायत प्रहरीहरुले मधुमेह परिक्षण गराएका थिए ।्
परिक्षण अघि एक समारोहमा प्रमुख अतिथि प्रहरी उपरिक्षकले प्रहरी र समुदायको समन्वयनले नै परिवर्तन गर्न सकिने बताए ।
क्लबका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष नन्द लाल गोयनकाले मधुमेह न्यूनिकरणका लागि समाजका हरेक व्यक्ति जागरुक हुनुपर्ने बताए । दिनचर्यालाई ध्यान दिए मात्र यसबाट बच्न सकिने बताउदै कार्यक्रम संयोजक लायन अजुर्न पौडेलले मधुमेह (डाइविटिज)को बारेमा चर्चा गरेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष परिक्षण कार्यक्रमका मुख्य सहयोगी कुल प्रसाद न्यौपानेले उद्यमि व्यवासयिले पनि मधुमेहको प्रभावलाई न्यूनिकरणका निम्ति पहल गर्ने बताए ।
सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाको प्राविधिक सहयोगमा १ सय १७ जनाको मधुमेह परिक्षण गरिएको थियो । २ जनामा मधुमेह देखिएको थियो । यस अघि लायन्स क्लब अफ सिद्धार्थनगरले लुम्बिनीमा २ सय जनाको मधुमेह परिक्षण गरिसकेको कार्यक्रमका संचालक क्लबका सचिव भिष्म न्यौपानेले बताए ।
उद्घाटन समारोहमा सहयोगी दाताहरु कुल प्रसाद न्यौपाने, नव राज न्यौपाने, गोविन्द ज्ञवालीलाई धन्यवाद् पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि लगायत अतिथिहरुलाई मायाको उपहार स्वरुप फलका विरुवाहरु प्रदान गरिएको थियो । क्लब पूर्व अध्यक्षहरु दिपक क्षेत्री न्यौपाने, धर्म राज श्रेष्ठ, विजय नारायण श्रेष्ठ,रुपमा हिराचन, नवराज न्यौपाने , क्लबका उपाध्यक्ष थिरेन्द्र श्रेष्ठ, रमेश घिमिरे ,नेत्र आर्चायले विरुवा उपहार हस्तान्तरण गरेका थिए । विरुवाहरु जिल्ला प्रहरी कार्यालयहाता भित्र वृक्षारोपण गरिएको थियो ।