
फाईल फोटो
प्रहरीको सेटिङमा नै हुन्छ तस्करी
लुम्बिनीखबर विशेष ब्यूरो
नवलपरासी, ४ असोज । विभिन्न कारणले रुपन्देहीमा रोकिएको तस्करीको रुट अहिले नवलपरासीतिर मोडिएको छ ।
नवलपरासीबाट तस्करी बढेसंगै यहाँका तस्करहरुले रुपन्देहीको बसाई समेत उतै सारेको लुम्बिनीखबरलाई विशेष स्रोतले जानकारी दिएको छ ।
तस्करहरुले प्रहरी सेटिङमै तस्करी बढाएपछि जनपथ प्रहरी र सशस्त्र प्रहरीका घुमुवाहरुको चलखेल समेत बढ्ने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।
जिल्लाका विभिन्न नाका विष्णुपुरा, भुजाह, त्रिवेणी, गूठी प्रशौनी र महेशपुर नाकाबाट दैनिक लाखौ मूल्यका अवैध समानहरु नेपाल भित्रिने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
भन्सार छलि गरी भारतबाट नेपालतर्फ ल्याउन अवैध समानहरु आउन थालेपछि स्थानीय बजार, बुटवल र भैरहवासम्म पुराउने गरिएको छ ।
विशेष गरेर कपडा, हार्डवेयर, किरानाका सामान, कुखुराको चल्ला, खाद्यान्न, इन्भटर, सिएफएल बल्ब, सुर्तीजन्य पर्दाथहरु अहिले भारतबाट अवैध रुपमा नेपाल आउने गरेका छन् ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा महेशपुर भन्सारका एक कर्मचारीले जानकारी दिएअनुसार भारतबाट तस्करहरुले दादागिरीका भरमा अवैध समानहरु नेपाल ल्याउने गरिएको छ । प्रहरीहरुले यसमा सहयोग गर्ने गरेका छन् ।
उनले भने, “भन्सारनाकाको छेउछाऊ कहिलेकाहीँ घुम्न गयो भने प्रहरी कभरमा तस्करी हुने गरेको देखिन्छ । हतियार बोकेको सुरक्षाकर्मी नै तस्करसंग साँठगाँठ गरेको ठाउँमा भन्सारले केही गर्न नसक्ने रहेछ । यसरी साना मालबाहक गाडीबाट समेत अवैध सामान नेपाल आउने गरेको छ ।”
खुलेयाम रुपमा तस्करको ट्रान्जिट हुदै गर्दा नवलपरासीका प्रहरी भने आर्थिक असुलीमा मस्त देखिन्छन
। प्रहरी नै असुलीमा लागेपछि राज्य नै नवलपरासीको सीमा क्षेत्रमा निरीह देखिन्छ ।
खुल्ला सीमानाको फाईदा उठाउँदै रातिको समयमा र दिउँसोमा पनि परिस्थिति हेरेर नेपाली बजारमा अत्यधिक माग भएका भारतीय सामानहरु नेपाल भित्राउने गरेका छन् । चाडवाडको बेला नेपाली बजारमा अत्यधिक माग भएका वस्तुहरु तस्करहरुले नेपाल ल्याउने गरेका छन् । बिना भन्सार ल्याउने सामानहरुमा नाफा पनि राम्रै हुने भएकाले तस्करहरुको यस्ता वस्तुहरु अहिले रोजाई हुने गरेको देखिन्छ ।
नवलपरासीबाट आउने अवैध समानहरु नजिकका बजारबाट नक्कली बिल प्रयोग गरी पाल्पा, गुल्मी, पोखरा, स्याङजा, बाग्लुङ र राजधानीसम्म पुग्ने गरेको पाईन्छ ।
तस्करहरुले नक्कली भ्याट र पान बिल प्रयोग गरी ट्रान्सपोर्टको माध्यमबाट सामानहरु ढुवानी गरी अन्य शहरहरुमा पठाउने गरेका छन् । बाटोमा चेकचाँज गर्ने प्रहरीलाई नक्कली बिल बिजकले झुक्काउन सकिने भएकाले पनि उनीहरुले यो बिल प्रयोग गर्ने गरेको पाईन्छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख मुकुन्दराज आर्चाय तस्करी नियन्त्रणमा प्रहरी परिचालन गरिएको बताउँदै सीमा क्षेत्रमा भएका केही कमजोरी सुधारेर अगाडि बढने बताए ।
तस्करी सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
नवलपरासीको विभिन्न नाकाबाट आउने भन्सार छलीका समानहरु भैरहवासम्म जाने गरेका छन् । रुपन्देही प्रहरीले सीमा क्षेत्रमा कसिलो सुरक्षा घेरा पारेपछि तस्करहरुले परासी क्षेत्र बाट भैरहवामा भन्सार छली सामानहरु पठाउने गरेका हुन् ।
यसरी पठाएका सामानहरु रुपन्देही प्रहरीले यो हप्ता मात्र मालवाहक ट्रक एक र जिप एक पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय बुटवललाई बुझाएको छ ।
रुपन्देही प्रहरीले भैरहवाको पशुपति क्यारियर नेपाल ट्रान्सपोर्टबाट ना २ ख ८०२७ नम्बरको ट्रक र लु१ज २२६३ नम्बरको जिप पक्राउ गरेको हो । पक्राउ परेका ट्रक र जिपमा लाखौं मूल्य बराबरमा विभिन्न किसिमका सामानहरु रहेका छन् ।
बुटवलमा समेत परासीबाट पुगेका भन्सार छली सामानहरु पक्राउ हुने क्रम बढेको छ ।
नवलपरासी प्रहरीले यसरी सीमाबाट हप्ता र मासिक असुली गरी तस्करलाई छुट दिनथालेपछि बैधानिक रुपमा व्यापार सञ्चालन गर्नेहरु भने टाट पल्टिने सम्भावना देखिन्छ ।
वाईसिएलको समेत कव्जा
नवलपरासीको प्रहरीले खुलेयाम तस्कर गराउन शुरु गरेपछि स्थानीयहरुले समेत बिरोध गरेका छन् । उनीहरुले विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिलाई यसको रोकथामका लागि पहल गर्न अनुरोध गरेका छन् ।
जनताको अनुरोध आएपछि माओवादी केन्द्र निकट वाईसिएल नेपाल नवलपरासीले समेत मंगलवार लाखौ मूल्य बरावरको सामान परासी बजार मै कव्जा गरी प्रहरीको रोहवरमा राजस्व कार्यालयलाई बुझाएको छ ।
वाईसियल नेपाल नवलपरासीका प्रमुख हरि भन्डारीले भन्सार छली तस्करीहरुको सेटिङमा भारतबाट आएको कपडाहरु आफूहरुले कव्जा गरी राजस्वलाई बुझाएको जानकारी दिए ।
उनले स्थानीय प्रशासनको मिलेमतोमा तस्करी मौलाईरहेको जनाउँदै यो नरोकिए जनता आन्दोलनमा जान बाध्य हुने बताए ।
सेटिङमा नामुद घुमुवाको प्रयोग
नवलपरासीमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी एसपी मुकुन्दराज आर्चायले सम्हालेसंगै बढेको तस्करीमा नामुद घुमुवाहरुलाई परिचालन गरिएको छ ।
एसपी आर्चायले असई गजेन्द्र शाह र प्रहरी जवान विरेन्द्र चौरासीयालाई परिचालन गरी असुलीलाई तीव्रता दिएका छन् । शाह नेपाल प्रहरीका नामुद घुमुवाको रुपमा परिचित छन् । उनले तस्करहरुसंग विभिन्न शीर्षकमा असुली गर्दछन् ।
प्रदेश प्रमुखको नाममा समेत असुली
घुमुवा असई शाहले प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामाको नाममा समेत तस्करसंग असुली गर्ने गरेका छन् ।
उनले एसपीको नाममा छुट्टै र प्रदेश प्रमुखको नाममा मासिक असुली गरेर तस्करहरुलाई छुट दिएका छन् । जसका कारण सीमाक्षेत्रमा डिउटीमा बस्ने प्रहरीहरु तस्करहरुले गर्ने अवैध धन्दालाई देखेको नदेखेझंै गरेर बस्ने गरेका छन् ।
तस्करहरुले मनलाग्दी गर्दा समेत तल्लो तहका प्रहरीहरु निरीह भएर चुपचाप बस्न बाध्य रहेको नाम उल्लेख नगर्ने सर्तमा सीमा प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान बताउछन् ।
हाकिमहरुसंग लाईन मिलेपछि यहाँका केही तस्करहरुले हामीलाई गन्र्दैनन्, उनले भने । उनीहरुसंग हामी बोले मात्र धम्की दिन्छन् ।
दर्जनौ तस्करहरु सक्रिय
नवलपरासीमा अहिले तस्करहरुको बिगबिगी हुन थालेपछि दर्जनौको संख्यामा तस्करी गर्नेहरुको संख्या बढेको छ ।
विभिन्न समूहमा रहेका तस्करहरुले आफुहरुले सकेसम्मको तस्कर गर्ने गरेका छन् । यसको अलावा गाडीका गाडी सामान नेपाल भित्राउने मुख्य तस्करहरु भने राजेन्द्र शर्मा,बव्लु, बेचु, सुदर्शन, राजु लगाएतका रहेको लुम्बिनीखवरलाई विशेष स्रोतले जानकारी दिएको छ ।