लुम्बिनीखबर
भैरहवा, असोज ५ । सिद्धार्थनगर भैरहवा शहरलाई बुद्धमय सहर बनाउनेगरी अभियान थालेको बिएमजी गु्रप भैरहवाले आफ्नो प्रतिबद्धता अनुसार अभियानलाई अझ तीव्र रुपमा अगाडि बढाउने जनाएको छ ।

BMG bhairahwa
गु्रपको पहलमा सिद्धार्थनगर नगरपालिकाको बैठकले सहरका सबै घरहरुमा बुद्धरुपी पहेँलो रङ लगाउने निर्णय समेत गरेको छ । सोही अनुसार बुद्ध झण्डामा अंकित विभिन्न रङहरुलाई घरमा प्रयोग गर्ने गरी रङरोगन गर्न बिएमजीका अध्यक्ष ओमकार गौचनले आग्रह गरेका छन् ।
एकै प्रकारको रङरोगन गर्दा देखिने सजावट तथा बुद्ध भूमिको झझल्को एवम् शान्तिद्वारको नमुना स्वरुप व्यवहारतः सो रङको प्रयोग गरिएको ग्रुपले जनाएको छ ।
सो गु्रपले भैरहवाका घरहरुमा बुद्ध अंकित झण्डा राख्न पनि आग्रह गरेको छ । गु्रपद्वारा बिहिबार भैरहवामा आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुले भैरहवा सहरलाई बुद्ध रङको सहरको रुपमा परिणत गर्न लाग्ने पनि जनाएका छन् ।
यसैबीच भैरहवा स्थित नागरिक अगुवाहरुको संस्था बिएमजी गु्रप भैरहवाले पनि चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत सम्पन्न गरेको छ ।
बिएमजीका अध्यक्ष ओमकार गौचनको अध्यक्षता, ब्रह्माकुमारी शान्ति सुवेदीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिनपाका उपमेयर उमा काफ्ले, नागरिक समाजका अगुवाहरु बालकृष्ण भट्टराई, बूँद राना, वनमाली निराकार, दीर्घराज काफ्ले, ज्ञानदेव हटुवाल, डिल्लीराज भट्टराई, गणेश क्षेत्री, विजय सागर, सिता पौडेल, शिलसागरमणि त्रिपाठी लगायतले मन्तव्य राख्दै पर्यटकीय सहर सिद्धार्थनगरलाई बुद्ध नगरी बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाएका थिए ।
कार्यक्रम संस्थाका सचिव राजुनारायण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो भने नगरका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।