नरेश के.सी.
भैरहवा, असोज ५ । सबैभन्दा बढी पैदल मार्ग हुँदै पर्यटक भित्रिने बेलहिया नाका प्रयोगकर्ता स्वदेशी वा विदेशी नागरिक होस् वा भैरहवाबाट पश्चिमको यात्रा गर्ने महानुभावको लागि दशैँ, तिहार तथा छठ एवम् नेपाल संवत्को उपलक्ष्यमा सिद्धार्थ यातायातले खुशीको सन्देश दिएको छ ।

भैरहवामा प्रधान कार्यालय रहेको सिद्धार्थ यातायातले घटस्थापनाको अवसर पारेर बेलहिया देखि दाङ घोराही, तुलसीपुरसम्म यातायात सेवा सञ्चालन गरेको छ ।
हरेक दिन बिहान ६ बजे बेलहियाबाट पहिलो र दिउँसो १ः३० बजे दोस्रो सुविधा सम्पन्न विङ्गर, हायस, सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष सञ्जिव रोक्काले जानकारी दिए ।
यसैगरी समितिले यात्रुहरुको सुविधालाई ध्यान दिँदै बेलहियाबाट हरेक दिन बिहान ४ बजे महेन्द्रनगरको लागि डिलक्स बस सेवा समेत सञ्चालनमा ल्याएको छ । त्यसैगरी हरेक दिन बिहान ६ः३० बजे बेलहियादेखि नेपालगञ्ज हुँदै गुलरियासम्म पनि बस सेवा सञ्चालनमा रहेको अध्यक्ष रोक्काले जानकारी दिए ।
सिद्धार्थ यातायातले देशव्यापी रुपमा निर्बाध ढंगले रुट विस्तार गर्ने योजना सहित दशकौँदेखि कार्यक्रम लिएको भएतापनि केही वर्षयता केही लामा रुटहरु अवरुद्ध हुन पुगेका थिए । यसैबीच समितिले चाडपर्व लक्षित अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थ यातायातलाई पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म निर्बाध ढंगले सञ्चालन गर्नका लागि आफूले आफ्नो क्षेत्रबाट अग्र भागमा रहेर सहयोग गर्ने जनाए । मेयर अधिकारीले भने “सिद्धार्थ यातायात सञ्चालनताका यस क्षेत्रमा यातायातमा सिन्डिकेट विरुद्ध आवाज उठाई सिद्धार्थ यातायात सञ्चालन गराउन खोज्दा मैले पनि लाठी खानु परेको थियो । त्यसैले यो समितिसँग मेरो संघर्षको नाता छ । सिद्धार्थ यातायात हामी सबैको हो, हामी सबै मिलेर अन्य समितिको मिचाहा प्रवृत्ति विरुद्ध जाइलाग्नु पर्दछ । ”
मेयर अधिकारी सिद्धार्थ यातायातका गाडीहरु विगतमा पश्चिम नेपालले रोक्दा त्यसको विरोध गर्दा मुग्लिन र नारायणगढमा लाठी प्रहारबाट घाइते भएका थिए ।
समितिका अध्यक्ष सञ्जिव रोक्काको अध्यक्षता, महासचिव मोहन भट्टराईको सञ्चालन एवम् वरिष्ठ उपाध्यक्ष सुनिल राज विष्टको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर, वडाध्यक्ष तथा बोर्डका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा सिनपा ३ का वडाध्यक्ष थानेश्वर पौडेल, ४ का अध्यक्ष मुक्तिनाथ यादव, ९ का अध्यक्ष शेषकान्त भण्डारी, व्यवसायीका तर्फबाट पुरनप्रसाद श्रेष्ठ, निधानचन्द्र श्रेष्ठ, भूपू अध्यक्ष जगदीश प्रसाद गुप्ता, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी. लगायतले मन्तव्य राख्दै सिद्धार्थ यातायात भैरहवाको गहना भएको हुँदा सबै किसिमका अवरोध छिचोल्दै देशव्यापी रुट विस्तार गर्न सहयोग गर्ने जनाएका थिए ।
सोही अवसरमा सिद्धार्थ यातायातले बिहिबारदेखि दाङ, महेन्द्रनगर र गुलरियामा नियमित बस सेवा सञ्चालन गरेको जानकारी समेत गराइएको थियो ।