मानिसहरु अमेरिका जाने भने पछि हुरुक्कै गर्छन्। संसारको समृद्ध देश अमेरिका बस्ने रहर कसलाई हुदैन र । तर भैरहवाका उद्यमी भोज बहादुर खत्री भोजेन्द्र भने आफ्नो अमेरिका बसाई त्यागेर आफुनै कर्मभूमि नेपाल फर्कैर भैरहवामा व्यवसाय सञ्चालन गरिरहेका छन्। विदेशमा भन्दा स्वदेशमै बसेर केही गरौँ भन्ने उद्देश्य लिएर अमेरिका बाट फर्केका खत्रीले भैरहवामा सिटी सेन्टर होटल संचालनमा ल्याएर होटल व्यवसायमा संलग्न भएका छन् । २०३६ साल फागुन १८ गते बुबा शेर बहादुर खत्री र आमा ईश्वरी खत्रीको कोखबाट गुल्मीको दरबार देवी स्थान चारपालामा जन्मिएका खत्री भैरहवाका आधा दर्जन भन्दा बढी संघ संस्थामा आबद्ध रहेर सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय छन् । होटल व्यवसाय लगायत अन्य विविध विषयमा लुम्बिनीखबरका समाचार संयोजक अरुण ज्ञवालीले गरेको कुराकानी ।

भोज बहादुर खत्री (भोजेन्द्र) होटल व्यवसायी
युवा व्यक्तित्व हुुनुहुन्छ । होटल व्यवसाय नै किन रोज्नुभयो ?
–सानैदेखि नै पर्यटन व्यवसायमा रुचि थियो । विदेशी पाहुनाहरुलाई देख्दा, यस क्षेत्रमा काम गर्ने व्यवसायहरुलाई हेर्दा सँधै घुम्न पाए हुन्थ्यो, फोटोसेसन गर्न पाए हुन्थ्यो साथै उहाँहरु जस्तै भ्रमण गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर काम गर्ने क्रममा करिब २ दशक भन्दा बढी पवित्र पेशा पुस्तक तथा स्टेशनरी व्यवसायीको रुपमा पनि काम गर्दै आएको थिएँ र समय क्रममा पछिल्लो समय पर्यटन व्यवसायी बन्न पुगेँ । पर्यटन क्षेत्रमा योगदान गर्ने हिसाबले राष्ट्र धान्ने महत्वपूर्ण श्रोेत यो व्यवसाय हो । तसर्थ बुद्धको जन्मथलो लुम्बिनी पर्यटन क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र भएकोले यहाँ घुम्न आउने पर्यटकहरुलाई राम्रो सेवा सुविधा दिने उद्देश्यले यस पेशामा संलग्न भएको छु ।
यस क्षेत्रमा होटल व्यवसायको अवस्था कस्तो छ ?
–पहिलेको तुलनामा समय अनुकूल यस ठाउँमा होटल व्यवसायीहरुको धेरै होटलहरु बजेट क्लास छन् । जसले चाँहि पर्यटकका आधारभूत आवश्यकतालाई केन्द्रित गरेका छन् र बजेट क्लासका होटलमा केही समय काम गर्न लामो समय सम्म टिक्न नसक्नु, विदेश पलायन हुनु लगायतका समस्याहरु धेरै भएको अवस्था छ । त्यसैगरी स्तरीय स्तरोन्नति एवं विलासिता स्तरका होटलहरु खुल्ने क्रममा छन् । करिब करिब मध्यम स्तरका पाहुनाहरुलाई सुहाउँदो किसिमको सेवा सुविधा यहाँ उपलब्ध छ । समय अनुकूल सुधारोन्मुख भएको अवस्था छ ।
पछिल्लो समय रुपन्देही आर्थिक हबको रुपमा विकास हुँदै गएको छ । पर्यटकहरुलाई कस्ता किसिमका होटलहरु आवश्यक पर्छ होला ?
–एकदमै सुविधा सम्पन्न होटलहरु र स्तरीय बजेट क्लास सबै प्रकारका होटलहरु चाहिने देखिन्छ । जस्तै निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, राष्ट्रिय स्तरको बसपार्क, औद्योगिक करिडोर र सेज लगायत धेरै सम्भावनाको धरहरा, गौतमबुद्धको जन्मस्थल भएको ठाउँ लुम्बिनी विविधताको लागि सम्पूर्ण तहका होटलहरु आवश्यक पर्छ ।
ठूलो लगानी गरेर होटल स्थापना गरिन्छ । राज्यस्तरबाट यहाँहरुले कस्तो सहयोग पाउनुभएको छ ?
–हामी होटल व्यवसायीले पर्यटनलाई उकास्न जति मेहनत गरेका छौँ, त्यति सहयोग राज्यस्तरबाट छैन । राज्यस्तरबाट शान्ति सुरक्षा अमनचयन काम गर्ने वातावरण हुनुप¥यो । बन्द, आन्दोलन, हड्ताल पूर्ण रुपमा बन्द हुनुप¥यो । नाकाबन्दी र नोटबन्दी भए । यस्ता अराजकता तथा सरकारको स्थायित्व नहुनु लगायतका समस्याहरुले गर्दा राज्यस्तरबाट सहयोग पाउनुपर्ने थियो त्यो सहयोग पाउन सकेनौँ, प्रोत्साहन पाउनुपर्ने थियो त्यो पनि पाउन सकेनौँ ।
युवा उद्यमी हुनुहुन्छ ? के कस्ता समस्याहरु झेल्नुभएको छ ?
–पर्यटन क्षेत्रको विकासमा व्यावसायिक रुपमा काम गर्दै जाने क्रममा धेरै समस्याहरु छन् । कर्मचारीहरुको ढिलासुस्तीपन, प्रशासनिक झमेला, पर्यटन विकासको लागि स्पष्ट राज्यस्तरबाट खाका नआउनु जस्ता समस्याहरु छन् । यसलाई हामी युवा उद्यमीले लगनशील, कर्तव्यनिष्ठ र इमान्दार भएर काम गरेर सुधार गर्नुपर्छ ।
यस क्षेत्रमा होटल तथा लजको संख्या २० प्रतिशतले बढ्दा पर्यटक संख्या ४ प्रतिशतले मात्र बढेको छ किन होला ?
–जुन अन्र्तराष्ट्रिय स्तरको विमानस्थल बन्ने हल्ला व्यापक तर काममा ढिलासुस्ती भएको छ । भ्रमण योग्य ठाउँको कमी रहनु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम राष्ट्रिय स्तरबाट भएको देखिँदैन । जसमा होटल व्यवसाय व्यापक रुपमा विस्तार भइरहेको अवस्था छ ।
भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकलाई पुग्ने होटल यस क्षेत्रमा छन् कि छैनन् ?
–यस क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको गौतमबुद्ध विमानस्थल संचालनमा आएपछि आउने पर्यटकको संख्या ह्वात्त्तै वृद्धि हुने देखिन्छ । त्यस्ता पर्यटकहरुलाई हामीले आधारभूत र सुविधा सम्पन्न होटलहरुको तह कम देखेका छौँ । यसका लागि स्तरीय होटलहरुको स्थापना हुन जरुरी छ र खुल्ने क्रम पनि जारी छ । यसका लागि राज्यस्तरबाट पहल हुनु आवश्यक छ भने हामी युवा उद्यमीले पनि यसमा पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
बेलहियाबाट आउने पर्यटकका लागि फ्रि भिसाले होटल व्यवसायलाई कस्तो असर पारेको छ ?
–फ्रि भिसाको असर सकारात्मक नै छ । यसले गर्दा त्यति नकारात्मक असर परेको छैन । किनकी यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरुलाई आकर्षित गरेको छ । फ्रि भिसा भनेपछि स्वतः रुपमा घुमफिरको लागि आउने गति तीव्र नै रहन्छ जस्तो मलाई लाग्छ ।
होटल सँगै आगामी दिनमा के कस्तो उद्योग संचालन गर्ने योजना बनाउनु भएको छ ?
–होटल व्यवसाय सँगै अन्य उद्योग संचालन गर्ने भन्दा पनि यही व्यवसायलाई सुधार विकास गर्दै मजबुत बनाउने, पर्यटकीय स्थलहरुको खोजी गर्दै पर्यटकीय सम्भावना छिचोल्दै घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्ने सकारात्मक कार्यमा सदैव लाग्नेछु ।
अन्तमा लुम्बिनीखबर मार्फत केही भन्नु छ की ?
–मलाई जुन अवसर दिनुभयो । त्यसको लागि लुम्बिनीखबरलाई धन्यवाद टक्राउन चाहन्छु । तपाईको यस लुम्बिनीखबर मार्फत यो व्यवसायलाई अगाडि बढाउन तथा सुधार गर्न सबैको सहयोग एवं सदुभाव आवश्यक छ । यसको लागि उद्यमी, व्यवसायी, पत्रकारहरु, सरकारी निकायहरु सचेत र जागरुक हुन जरुरी छ ।