logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सास्ती खेप्दै सुनौलीमा महँगो किनमेल


    १२ कार्तिक २०७४ , आइतबार

    सास्ती खेप्दै सुनौलीमा महँगो किनमेल

    नरेश के.सी.
    भैरहवा, कार्तिक ११ । नेपाल भारत सीमा क्षेत्र खुल्ला छ । कुनै छेकबार छैन । सीमावर्ती भारतीय बजार नेपाली ग्राहकको भरमा चलेको छ । दसगजापारीको सुनौली र नौतनवाको कपडा पसल, भाडा पसल, हार्डवेयर, ईलेक्ट्रीक पसल, कस्मेटिक, मोबाइल पसल मात्रै होइन दैनिक उपभोग्य सामग्रीका हरेक पसलहरुमा नेपालीहरुको भीड हुन्छ ।

     

     

    दैनिकजसो सयाँैं नेपालीहरु सस्तो सामान किन्ने होडमा अनेकाँैँ दुःख झन्झट व्यहोर्दै सुनौलीका पसल पसल चहारी रहेका देखिन्छन् ।

    विशेषतः नेपाली महिलाहरु सुनौलीका दोकानहरुमा खचाखच भरिएका हुन्छन् । घरायसी होस् वा व्यावसायिक सबै प्रकारका सामानहरु खरिद गर्न जाने नेपालीहरुको कारण दैनिक करोडाँैंं रुपैँया भारतीय बजारमा गइरहेको हुन्छ । सीमावर्ती भारतीय पत्रकार आलोक जोशीका अनुसार सुनौलीमा मात्रै दैनिक करिब ३ करोड भन्दा बढीको खुद्रा कारोबार हुने गर्दछ । पत्रकार जोशीले भने ‘सुनौलीको बजारका मुख्य ग्राहक नेपाली हुन् ।’

    सुनौलीवारीको बेलहिया र केही किलोमिटरको दुरीमा रहेका भैरहवा बजारका दोकान सन्चालकले बोहनी पनि गर्न नपाई हाई काढीरहँदा सीमावर्ती बजारको पसलमा बिहानैदेखि रातिसम्म भ्याइनभ्याई भएको देखिन्छ । सो सम्बन्धमा पत्रकार जोशी भन्छन् ‘सीमावर्ति नेपाली बजारका भैरहवा बुटवल जस्ता ठूला ठूला बजारमा भारतीय सामान महंगो पर्ने हुँदा नेपालीहरु केही किलोमिटरको यात्रा गरी सिधै सुनौली बजारमा सामान खरिद गर्न आएका हुन् ।‘

    पत्रकार जोशी अबदेखि सुनौलीमा नेपालीहरु नठगिने पनि तर्क गर्छन् । भारतमा जिएसटि (गुड सर्भिस टैक्स) अनिवार्य लागू भएपछि हरेक सामानमा उत्पादकले नै एमआरपी उल्लेख गरेको हुन्छ । एमआरपी उल्लेख भएसंँगै कोडिंग मूल्य हट्ने हुँदा ग्राहकहरु ठगिनबाट बच्ने पनि उनी बताउँछन् ।

    यद्यपी सुनौलीमा अहिले सम्म गुणस्तर र रकममा नेपालीहरु दैनिक ठगीने गरेको देखिन्छ । एक कपडा व्यापारी भन्छन् ‘नेपाली महिलाहरु दोकानमा कपडा रोज्छन् अनि मूल्य सोध्छन्, कहिलेकाँही यस्तो पर्छ उनीहरुले रोजेको कपडा सबै भन्दा सस्तो हुन्छ तर हामीले सस्तो भन्यौ भने उनीहरु त्यो किन्दैनन् । यसैले हामी किन्ने मान्छेको मुड हेरेर सस्तो सामानलाई महंगोमा पनि बेचिरहेका हुन्छौं । अर्को एक जना व्यापारी भन्छन् ‘ नेपाली महिलाहरु सामानको गुणस्तर भन्दा पनि महँगो सामान त्यसै राम्रो मान्ने हुँदा हामीले ग्राहक अनुसार फरक फरक मूल्य राख्ने गर्दछौँ ।’

    सुनौली बजारमा कपडा तर्फ सबैभन्दा धेरै साडी र कुर्ता, खाद्यान्नमा चिनी, दाल, चियापत्ति र मोबाइलको बढी बिक्री हुने गरेको देखिन्छ । किराना पसलले चिनी मात्र किन्न जाने ग्राहकलाई चिनी बेच्दैन । चिनी खरिद गर्नेले अन्य सामान पनि किन्नुपर्ने हुन्छ । किनकी चिनीको रेट सस्तो हुन्छ सो घाटा व्यापारीले अन्य सामानको बिक्रीबाट असुल्दछ । अर्कोतर्फ पसलहरुमा नेपाली ग्राहकलाई चिया, चिसो सहित प्रदान गरिने सम्मानमा पनि नेपाली ग्राहक लठ्ठीएका देखिन्छन् ।

    जाँदा नी सास्ती, आउँदा नी सास्ती
    नेपालीहरु सामान किन्न सुनौली जाँदै गर्दा दसगजामै हैरानी व्यहोर्नु पर्दछ । अन्तराष्ट्रिय कानुन विपरित भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दसगजा क्षेत्रमै राखेको एक्से रे मेसीनमा लाइनमा उभिएर गरिने चेकजाँच, भारतीय प्रहरीको अभद्र व्यवहार उनीहरुको पहिलो सास्ती हो ।

    समान खरिद गरिसकेर नेपाल फर्किदा भने भारतीय सुरक्षाकर्मीले केही पनि गर्दैनन् तर नेपाल तर्फ भन्सार गेटमा गरिने व्यवहार झनै उदेक लाग्दो देखिन्छ । भन्सारले सबै किसीमका समान खरिद गरि नेपाल तर्फ ल्याउँदा संक्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउनु पर्ने प्रावधान ल्याएको भएता पनि त्यो निष्प्रभावी जस्तै भएको छ ।

    भन्सार कटिसकेपछि गाडीवालाको लुछाचुडी, बाइपासमा नेपाल प्रहरीको चेकिंग, डण्डामा शसस्त्र प्रहरीको चेकिंग, बसपार्कमा नेपाल प्रहरीको चेकिंग, देवकोटा चौंकमा नेपाल प्रहरीको चेकिंग र अन्चलपुरमा पुनः नेपाल प्रहरीको चेकिंगको कारण एकाध पटक सुनौली बजार गर्न गएकाहरु प्रहरीकै चेकजाचको कारण असुरक्षित महसुस गर्न पुग्दछन् । तर पनि उनीहरु सस्तोको नाममा सुनौली धाउन भने छाड्दैनन् ।

    नक्कली सामानको मूल्य सस्तो
    बुटवल भैरहवा भन्दा सुनौली नौतनवा बजारमा पाइने सामानको मूल्य सस्तो भएता पनि तीनको गुणस्तर राम्रो नहुने गरेको नेपाली व्यवसायी दाबी गर्छन् ।

    वर्षौदेखी भैरहवाको बैंकरोडमा कपडा व्यवसाय गर्दै आएका ओमकार गौचनले सुनौली र भैरहवामा पाइने कपडाको फरक छुट्याउँदै भने ‘सुनौली नौतनवामा पाइने कपडा कमसल खालको हुन्छ, नेपालमा पाईने ब्रान्डेड हो ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका गौचनले कतिपय ग्राहकले सुनौलीमा साडी किनेर फल्स किन्न मेरोमा आउँदा सोही कपडा सस्तो र राम्रो पाएकोमा पछुताएको समेत बताए ।

    नेपालको भन्सारले एक हजार भन्दा बढी मूल्यको सामान ल्याउँदा संक्षिप्त प्रज्ञापनपत्र भरेर मात्रै ल्याउने व्यवस्था ्लाई कडाईका साथ लागु गरेमा एकातिर नेपालीहरु ठगीनबाट बच्ने छन् भने अर्कोतिर भन्सारको राजस्व पनि बढ्ने छ भन्दै सक्षिप्त प्रज्ञापत्र कडाइ नगर्दा नेपाली व्यवसायी समेत मारमा परेको गौचनले जनाए ।

    भैरहवामा इलोक्ट्रोनिक्स व्यवसाय गर्दै आएका उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नेपालमा वारेन्टी ग्यारेन्टी भएको समान नेपालीहरु बजारको ज्ञान नहुदां लहडमा भारतीय बजारमा समान किन्न जाने गरेको बताए ।

    भण्डारीले नेपालमा पाइने मोबाइल र भारतीय बजारमा पाइने मोबाइलको मूल्य एकै हुने समेत बताए । रेट एउटै छ तर नेपालीहरु सुनौलि नौतनवा जान्छन् । त्यहां नेपाली रुपैँया भुक्तान गर्दा बट्टा काटिन्छ, समानको वारेन्टी ग्यारेन्टी भनेता पनि पछि दिदैंन । नेपालमा २० रुपैयां नेपालीमा पाइने डिटोल साबुन भारतीय बजारमा २० रुपैया भारतीय रुपैयामा खरिद विक्री हुने गरेको समेत भण्डारीले उदाहरण दिए ।

    कपडा र इलोक्ट्रोनिक्स समानमा मात्रै नभई दैनिक उपभोग्य खाद्यान्नका सामग्रीमा पनि नेपालीहरु ठगीने गरेको पाइएको छ । गल्ला तथा खाद्यान्न व्यवसाय रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले सुनौली र नौतनवामा अखाद्य भनी प्रमाणीत गरेको बैल कोल्हु, फर्चुन नामक तेल सस्तो पाइने लोभमा नेपाली त्यहांँ पुग्ने गरेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव समेत रहेका आचार्यले भने ‘सैम्पु, हर्लिक्स, कोलगेट जस्ता नेपालमा उत्पादन भएका समान चोरीबाटोबाट पारी जान्छ अनि त्यही सामान नेपालीले भारतीय रुपैँया तिरेर किन्छन् ।‘

    भारतीय बजारमा चिनी बाहेक अरु केही पनि सस्तो नपाइने उनको दाबी छ । अहिलेको समयमा दालको रेट वारी र पारी एकै भएको आचर्यले बताए । सीमावर्ति नेपाली बजारमा गुणस्तरीय समान सहि मूल्यमा पाउँदा पाउँदै सस्तो पाउने लोभमा दैनिक सयौं नेपालीले करोडौं रुपैंया भारत पठाउँदा नेपालको आर्थिक कारोबारमा समेत प्रभाव पारेको उनले बताए ।
    स्रोतका अनुसार सुनौलि नौतनवामा विक्री गर्ने समान भारतीय कम्पनिले नेपाली ग्राहकलाई लक्षित गरी कमसल खालको उत्पादन गर्ने गरेको बुझिएको छ । ब्रान्डेड कम्पनीको नाममा कमसल खालको समान सस्तो मूल्यमा उत्पादन गरी सीमावर्ति भारतीय बजारमा कम्पनीले पठाउने गरेको एक प्रतिष्ठित गार्मेन्टका बजार प्रबन्धकले नाम नबताउने शर्तमा बताए ।

    उनका अनुसार सुनौली नौतनवा र बुटवल भैरहवामा पाइने सीयाराम, रेयमण्डको कपडाको गुणस्तरमा आकाश पताल फरक हुने बताए । कमसल खालको धेरै विक्री गर्ने होडमा सस्तो मूल्यमा समान यहां (सुनौली) मा कम्पनिले पठाउने गरेको उनी बताउंछन् ।

    स्मरण होस् सुनौली नौतनवामा एक सय भारुदेखी हजारौं मूल्य सम्म सर्ट, पाइन्ट त्यसैगरी २ सयदेखी माथी हजार मुल्य सम्म साडी, कुर्ती, सुट पाउने गर्दछ । सुनौली नौतनवाका व्यापारीका मुख्य ग्राहक नेपाली हुन् ।

    ग्राहक पिच्छे मूल्य फरक
    सुनौली नौतनवामा ग्राहक पिच्छे एउटै समानको मूल्य फरक फरक पाउने गरेको छ । एउटै समान अलग अलग दोकानमा फरक हुने गरेको छ । मूल्यमा फरकता किराना समानदेखी कपडा सम्म हुने गरेको छ । एकैदिन एकै समान फरक फरक मान्छेलाई फरक फरक मूल्यमा बेच्ने गरेको पाईएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.