लुम्बिनीखबर
भैरहवा, कार्तिक १६ । सीमावर्ति जिल्लाहरुमा फेरि तस्करहरु सलबलाउन थालेका छन् । नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट पुनः तस्करी हुन थालेको हो । केही महिना सम्म ठप्प भएको तस्करी फेरी हुन थालेपछि प्रहरीलाई समेत टाउको दुखाई हुन थालेको छ ।

राज्यको पुर्नसंरचनासंगै प्रहरी संगठनको पनि पुनसंरचना भयो । जसका कारण विगतमा पोखराबाट नियमन भइरहेको पश्चिम क्षेत्र प्रदेश संरचना अन्र्तगत दांगबाट नियमन भइरहेको छ । नेपाल प्रहरीको ५ नम्बर कमाण्डरमा एआइजी मिङमार लामा आएसंगै प्रहरीमा कानेखुसी शुरु भएको हो । लामा एसएसपी छदा लुम्बिनी अन्चल प्रहरी प्रमुख थिए ।
त्यतिबेला तिनाउको अबैध गिट्टी ढुंगा काण्डमा उनी मुछिएका थिए । उनलाई तत्कालिन रुपन्देहीका एसपी विक्रमसिंह थापाले काउन्टर दिएका थिए । तथापि विक्रम सिंहको तस्करी र अबैध ढुगा गिट्टी रोकथाममा लामाबीच अन्र्तद्धन्द्ध नै सृजना भएको थियो ।
अहिले लामा ५ नम्बर प्रदेशको कमाण्ड भएसंगै सीमावर्ती क्षेत्रमा ठप्प प्राय देखिएको तस्करी मौलाउन लागेको हो । लामा ५ नम्बर प्रदेशको कमाण्डर हुनु र तस्करी मौलाउनु संयोग हो वा सेटिंग हो यो केही दिनमै बाहिर आउने छ । सो सम्बन्धमा लुम्बिनीखबरले एआइजी लामालाई सीमावर्ति क्षेत्रमा तस्करी शुरु भएको छ , प्रहरीको घुमुवाले त्यसमा सघाइरहेका छन् नी भनि सोधेको जिज्ञासामा उनले भने “मैले कुनैपनि जिल्लामा घुमुवा नराख्नु भनेको छु । यदि त्यसो भएको भए तत्काल कारबाहि हुन्छ । ”
तस्करद्वारा प्रहरीमाथि आक्रमण
रुपन्देहीमा तस्करहरुले प्रहरीलाई नै हातपात गरेको विगत छ । शसस्त्र प्रहरीमा लामो समय घुमुवा काम गरेका जय नेपालीलाई केही वर्ष अगाडी लखनौतिया (भगवानपुर) मा तस्करहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उनी एक हप्ता सम्म युसीएमएस भैरहवामा उपचार पश्चात ठिक भएका थिए । शसस्त्र प्रहरीका हवल्दार तहका नेपालीले तस्करी गर्दै ल्याउदैं गरेको समान रोक्न खोज्दा तस्करहरुले लाठी प्रहार गरी उनलाई मरणासन्न अवस्थामा पुराई भारततर्फ भागेका थिए ।
केही दिन अगाडि मात्रै नेपाल प्रहरीको सूचना संकलन टोली माथि पनि रुपन्देहीको अमवा क्षेत्रमा तस्कहरुले आक्रमण गरेका छन् । सादा पोशाकमा गएका प्रहरीमाथि आक्रमण गरेपछि तस्करहरु दसगजापारी भागेका थिए । यसरी प्रहरी माथी नै अबैध कारोबारीले खुलेआम आक्रामण गर्दा प्रहरीको टोली पनि सीमावर्ती क्षेत्रमा जान हिचकिचाउने गरेको छ । जसको कारण तस्करहरुलाई तस्करी गर्न सजिलो भएको छ । सकेसम्म सेटिंग मिलाउने नभए डर त्रास देखाएर २ नम्बरी गर्ने योजनाका साथ अहिले सीमावर्ति क्षेत्रमा अबैध कारोबारी सलबलाइरहेका छन् ।
प्रहरीमा समन्वय अभाव
तस्करी नियन्त्रणकोलागी नेपाल प्रहरीले छुट्टै, शसस्त्र प्रहरीले छुट्टै संयन्त्र परिचालन गरेका छन् । यी दुइवटै सुरक्षा निकायले सीमावर्ति क्षेत्रमा सूचना संकलक टोली नै खटाएका छन् । दुबै निकायले खटाएको टोलीको काम सीमावर्ति क्षेत्रमा हुने अबैध कारोबार रोक्नु हो । तथापी यी दुबै निकायबीच नै हुनुपर्ने अधिकत्तम समझदारी नभएको देखिएको छ । जसका कारण एउटा टोलीले कडाई गर्दा अर्को निकायले तस्करसंग सूचना पु¥याइदिने गरेको बुझिएको छ ।
रुपन्देही, नवलपरासी लगायत अञ्चलको समेत कमाण्ड सम्हाल्ने अञ्चल प्रहरी कार्यलयले असइ अबधेस यादवलाई घुमुवा राखेको छ । उनको नेतृत्वमा अन्चलभरी घुमुवा खटाइएको छ । नवलपरासीमा असई गजेन्द्र शाह घुमुवाको रुपमा रहेका छन् । यता रुपन्देहीमा प्रहरी निरीक्षक उमेश जोसीले घुमुवा टोली खटनपटन गर्ने गर्दछन् । नेपाल प्रहरीले घुमुवा नराख्ने गरी देशैभरी सर्कुलर गरेको पनि हो तर स्थानिय प्रहरी कमाण्डरले सूचना संकलनकोलागी घुमुवा राख्नै पर्ने बताउछन् ।
घुमुवा प्रहरीको काम सूचना संकलन भन्दा बढी तस्करहरुसंग लाइन मिलाउनमा देखिन्छ । अन्चल प्रहरी कार्यलयका असई अवधेस यादव भैरहवा भन्सारमा केही महिना अगाडी कपडा भनेर मेशिनरी समान पास गर्दै गरेको ट्रक काण्डमा पनि मुछिएका थिए । भन्सारले सो काण्डमा मुछिएका अधिकृत सहितलाई कारबाहि गर्यो । सो समान लिलामी हाल्यो तर असई यादवलाई अन्चल प्रहरीले सामन्य स्पष्टीकरण मात्रै लिएर पुरानै काममा फर्काइदियो । अहिले पनि यादवले नवलपरासी, रुपन्देही र कपिलवस्तुमा सेटिंग मिलाउने काम गरिरहेका छन् ।
यता नवलपरासीमा घुमुवाका रुपमा रहेका असइ गजेन्द्र शाहले सेटिंग मिलाएर काम गराइरहेका छन् । कपिलवस्तु, रुपन्देही भन्दा नवलपरासीबाट पछिल्लो केहि महिना यता तस्करी बढी भइरहेको छ । जुन कुराको प्रमाण राजस्व अनुसन्धानले नवलपरासी नाका हुदैं अबैध रुपमा भित्रिएका लाखौं मूल्यका समान पक्रेर सार्वजनिक गरेबाट हुन्छ ।
रुपन्देहीमा एसपी श्याम ज्ञवालीले तस्करी नियन्त्रणमा संस्थागत अवरोध गरेपछि तस्करहरु नवलपरासी तिर हानिएका हुन् । यद्यपी रुपन्देहीमा पनि संस्थागत नभएता पनि छिटफुट रुपमा प्रहरी अधिकृत नै तस्करहरुसंग मिलेमतो गरेको बुझिएका छन् ।
अबैध कारोबार
रुपन्देहीमा भगवानपुर, अमवा र मझेरी नाकाबाट कमलेश मौर्यको कपडा कमल यादवले तस्करी गराइरहेका छन् । सुनिल जैसवालले रेवडी, पेठा, दालमोटको काम गरिरहेको छन् । यसैगरी सो क्षेत्रका पुराना तस्कर नागासिंह र राजकुमार सिंहले अहिले नेपालबाट अबैध रुपमा छुप्री र रक्सी (सोफी) भारत पठाउने र उताबाट काठ, खाध नेपाल भित्राउने गरेका छन् ।
भगवानपुरमा कपडाको पसल गरेका हरिशंकर पाण्डेले दसगजावारी नेपाल तर्फ रक्सीको धन्दा गरिरहेका छन् । उनले भारतबाट नेपाल कपडा र नेपालबाट भारत रक्सीको अबैध कारोबार गर्नेगर्दछन् । टिकरमा रक्सी पसल गरिरहेका जितेन्द्र यादवले अबैध रुपमा भारतबाट कुखुराहरु नेपाल भित्राइरहेका छन् ।
टिकरमा धानको गल्लाको अबैध कारोबार समेत हुने गरेको छ । दसगजापारी रहेको मझेरी औरलीमा रहेको गुलाब साहनीको दोकानमा भारतको विभन्न ठाउबाट पीकअपमा धानहरु ल्याएर गोदाम राख्ने गरिएको छ । सो धान साइकल र ट्रली मार्फत रातको समयमा नेपाल तर्फ अबैध रुपमा पठाउने गरिन्छ ।
गल्लाको अबैध कारोबारमा लखनौतिया र मझेरीमा काटा राखेका राजमन कोइरी, टिकर क्षेत्रमा भेल्ली यादव, भुवर तेली, महेन्द्र यादव, बनारसी भुज, राजन भुज, चन्द्रिका सिंह, बनई मधेसीया र रामचन्द्र मधेसीया संलग्न रहेका छन् । स्रोतका अनुसार उनीहरुलाइ भारतीय नागरिक राजु अग्रहरी, बैजनाथ अग्रहरी, बच्चा सिंह, भगौति अग्रहरी र गोविन्द अग्रहरीले धान पठाउने गर्दछन् ।
यता नवलपरासीको विष्णुपुरा, भुजाह, त्रिवेणी, गूठी प्रशौनी र महेशपुर नाकाबाट दैनिक लाखौ मूल्यका अवैध समानहरु नेपाल भित्रिने गरेको स्रोतले दाबी गरेको छ । भन्सार छलि गरी भारतबाट नेपालतर्फ ल्याउन अवैध समानहरु आउन थालेपछि स्थानीय बजार, बुटवल र भैरहवासम्म पुराउने गरिएको छ ।
विशेष गरेर कपडा, हार्डवेयर, किरानाका सामान, कुखुराको चल्ला, खाद्यान्न, इन्भटर, सिएफएल बल्ब, सुर्तीजन्य पर्दाथहरु अहिले भारतबाट अवैध रुपमा नेपाल आउने गरेका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा महेशपुर भन्सारका एक कर्मचारीले जानकारी दिएअनुसार भारतबाट तस्करहरुले दादागिरीका भरमा अवैध समानहरु नेपाल ल्याउने गरिएको छ । प्रहरीहरुले यसमा सहयोग गर्ने गरेका छन् ।
उनले भने, “भन्सारनाकाको छेउछाऊ कहिलेकाहीँ घुम्न गयो भने प्रहरी कभरमा तस्करी हुने गरेको देखिन्छ । हतियार बोकेको सुरक्षाकर्मी नै तस्करसंग साँठगाँठ गरेको ठाउँमा भन्सारले केही गर्न नसक्ने रहेछ । यसरी साना मालबाहक गाडीबाट समेत अवैध सामान नेपाल आउने गरेको छ ।” खुलेआम रुपमा तस्करको ट्रान्जिट हुदै गर्दा नवलपरासीका प्रहरी भने आर्थिक असुलीमा मस्त देखिन्छन् । प्रहरी नै असुलीमा लागेपछि राज्य नै नवलपरासीको सीमा क्षेत्रमा निरीह देखिन्छ ।
खुल्ला सीमानाको फाईदा उठाउँदै रातिको समयमा र दिउँसोमा पनि परिस्थिति हेरेर नेपाली बजारमा अत्यधिक माग भएका भारतीय सामानहरु नेपाल भित्राउने गरेका छन् ।
नवलपरासीबाट आउने अवैध समानहरु नजिकका बजारबाट नक्कली बिल प्रयोग गरी पाल्पा, गुल्मी, पोखरा, स्याङजा, बाग्लुङ र राजधानीसम्म पुग्ने गरेको पाईन्छ ।
तस्करहरुले नक्कली भ्याट र पान बिल प्रयोग गरी ट्रान्सपोर्टको माध्यमबाट सामानहरु ढुवानी गरी अन्य शहरहरुमा पठाउने गरेका छन् । बाटोमा चेकचाँज गर्ने प्रहरीलाई नक्कली बिल बिजकले झुक्काउन सकिने भएकाले पनि उनीहरुले यो बिल प्रयोग गर्ने गरेको पाईन्छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख मुकुन्दराज आर्चाय तस्करी नियन्त्रणमा प्रहरी परिचालन गरिएको बताउँदै सीमा क्षेत्रमा भएका केही कमजोरी सुधारेर अगाडि बढने बताए ।
केही हप्ता अगाडी रुपन्देही प्रहरीले भैरहवाको पशुपति क्यारियर नेपाल ट्रान्सपोर्टबाट ना २ ख ८०२७ नम्बरको ट्रक र लु१ज २२६३ नम्बरको जिप पक्राउ गरेको थियो सो समान नवलपरासीबाट नेपाल भित्रीएको थियो ।
नवलपरासीमा घुमुवाको रुपमा खटिएका असई गजेन्द्र शाहको कमाण्डमा सादा पोशाकका प्रहरी परिचालन छन् । उनीहरुले अबैध कारोबार नियन्त्रण गर्नुभन्दा असुलीमा व्यस्त देखिएका छन् । जिल्लामा राजेन्द्र शर्मा,बव्लु, बेचु, सुदर्शन, राजु लगायतका तस्कहरुले अबैध कारोबार गरिरहेको बुझिएको छ । असई शाहको दरबन्दी अरुणखोला हो । तर उनी नवलपरासी प्रहरीको घुमुवा छन् ।