अरुण ज्ञवाली
भैरहवा १९ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन सँगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार प्रसार सुरु गरेका छन् । रुपन्देहीमा एमाले माओवादी केन्द्रको बाम गठबन्धन, कांग्रेस राप्रपा प्रजातान्त्रिकको लोकतान्त्रिक गठबन्धन र मधेसवादी दल बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

पाँच वटा क्षेत्र रहेको रुपन्देहीका प्रतिनिधि सभाका लागि पाँच जना साँसद र प्रदेश सभाका लागी १० जना प्रदेश साँसद निर्वाचित हुनेछन् । उम्मेदवारी मनोनयन सँगै चुनाबी परिणामको जोड घटाउ समेत सुरु भएको छ ।
क्षेत्र न १ मा बाम गठबन्धन बाट प्रतिनिधि सभाका लागि एमाले पोलिटब्युरो सदस्य छबिलाल बिश्वकर्मा र लोक तान्त्रिक गठबन्धन बाट नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं खानेपानी तथा सरसपmाई मन्त्री अब्दुल रज्जाक तथा संघीय समाजवादी पmोरम बाट बिद्या प्रसाद यादवले उम्मेदवारी दिएका छन् ।
क्षेत्र न १ मा अब्दुल रज्जाक र छबिलाल बिश्वकर्मा बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । २०७० सालमा भएको संविधान सभा निर्वाचनमा रज्जाक र बिश्वकर्मा बीच नै कडा प्रतिस्पर्धा भएकोमा रज्जाकले २ सय ४ मत अन्तरले बिश्वकर्मालाई पराजित गरेका थिए । त्यस बेला माओवादी केन्द्र बाट देवेन्द्र पाण्डे सागरले करीब ८ हजार मत पाएका थिए । अहिले एमाले र माओवादी केन्द्र सयुक्त रुपमा तालमेल गरी चुनाबी गठबन्धनका साथ अघि आएका छन् । बाम गठबन्धनका कारण बिश्वकर्मा बलिया उम्मेदवार देखिएका छन् ।
अर्काे तर्फ लोकतान्त्रिक गठबन्धनमा राप्रपा प्रजातान्त्रिकबाट ताहिर अली प्रदेश सभामा उम्मेदवार भए पछि रज्जाक पनि बलियो प्रतिस्पर्धी भएका छन् । ताहिर अली गएको स्थानीय निकाय निर्वाचनमा गाउँपालिका अध्यक्षमा करीब ३ सय मत अन्तरले पराजित भएका थिए । उनको दक्षिणी क्षेत्रमा राम्रै प्रभाव रहेको छ । प्रदेश सभामा बाम गठबन्धनबाट डा. कृष्ण न्यौपाने र दधिराम न्यौपाने चुनावी मैदानमा छन् ।
रज्जाकलाई झट्का
नेपाली काँग्रेस क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि एवं पुराना काँग्रेस नेता कृष्ण प्रसाद पौडेलले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरी प्रदेश सभा ख मा बागी उम्मेदवारी दिए पछि रज्जाक र ताहिरलाई अप्ठेरो पर्ने देखिएको छ ।
नेता पौडेलले पार्टीले आफूलाई उम्मेदवार बनाउने आश्वासन दिएर अन्तिम समयमा २ करोड रुपैँयामा राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई टिकट बिक्री गरेको गम्भिर आरोप लगाएका छन् । पौडेल २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लागेर कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । पौडेल २०४६ सालको जनआन्दोलनमा प्रहरी हिरासतमा यातना भोग्दा उनले एउटा आँखा गुमाउनु परेको थियो ।
पहिलाको ३ अहिलेको २
यस अघिका चुनावमा बुटवल उपमहानगरपालिका सहित केही गाबिस रहेको रुपन्देहीको क्षेत्र नं २ यस अघि क्षेत्र नं ३ रहेको थियो । अहिले संरचना परिवर्तन भएपछि क्षेत्र नं २ भएको छ । यस क्षेत्र बाट बाम गठबन्धनबाट एमालेका उपमहासचिव प्रभावशाली नेता बिष्णु पौडेल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका पुराना नेता युवराज गिरी मैदानमा छन् ।
गएको स्थानीय निर्वाचनमा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनमुक्ति पार्टी बीच चुनावी तालमेल हँुदा समेत एमालेले मेयर उपमेयर सहित बहुमत वडा जितेको थियो । अहिले माओवादी केन्द्र एमाले सँग आएको छ । प्रदेश सभामा एमालेकै दुई प्रभावशाली नेता भोज प्रसाद श्रेष्ठ र लिला गिरी उम्मेदवार भए बाट पनि नेता पौडेल निकै अगाडि भएको एमाले नेता दाबी गर्छन् । काँग्रेसले प्रदेश सभामा युवा ब्यवसायी महेशमान सिँह र काजीमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
३ मा रोचक भिडन्त
रुपन्देहीको क्षेत्र नं ३ मा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । बाम गठबन्धन बाट एमालेका बैचारिक नेता उपमहासचिव घनश्याम भुषाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्य मन्त्री दिपक बोहरा चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा यी दुई बीच नै प्रतिस्पर्धा हुने भएको छ । गएको स्थानीय निर्वाचनको परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन अगाडि देखिएको छ । यस क्षेत्रमा एमालेका घनश्याम उम्मेदवार भएपछि पार्टीका कार्यकर्तामा निकै उत्साह देखिएको छ ।
दीपक बोहोरा पञ्चायतकाल पछि बहुदलीय व्यवस्थामा पनि लगातार सबै चुनाव रुपन्देहीबाट लडिरहेका छन् । तर, उनले ०४८ पछि लगाातार ४ वटा चुनाव हारेर पाँचौ पटक २०७० सालमा रुपन्देही २ बाट जित निकालेका थिए । यसपटक उनी छैठौं प्रतिस्पर्धामा छन् रुपन्देही ३ बाट ।
उता भुषाल २०५३ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारलाई पराजित गरी सांसद भएका थिए ।
यस क्षेत्रबाट प्रदेश सभामा वाम गठबन्धनबाट बिश्वास बराल अनुप र तुलसी चौधरी तथा लोक तान्त्रिक गठबन्धनबाट देवी प्रसाद चौधरी र हरिध्वज मल्ल चुनावी मैदानमा छन् । यस क्षेत्रमा संघीय समाजबादी फोरमबाट महेन्द्र यादव र प्रदेश सभा क मा सन्तोष पाण्डे र ख मा अशोक बर्माले उम्मेदवारी दिएका छन ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट सूर्य कुमार सारु मगरले यस पटक पनि चुनाबी मैदानमा रहेका छन ।
नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि
क्षेत्र नं ३ मा गरिएको टिकट वितरण प्रति कांग्रेसका पुराना तथा युवा नेताले तीव्र बिरोध गरेका छन् । नेपाली कांग्रेसको रुपन्देहीमा अस्तित्व नै मेटाउने गरी गरिएको तालमेल र टिकट वितरणको बिरोध गर्दै नेपाली कांगे्रस रुपन्देहीका जिल्ला सदस्य तथा युवा माझ लोकप्रिय युवा नेता ओम कुमार श्रेष्ठले प्रदेश सभामा देवी चौधरी बिरुद्ध बागी उम्मेदवारी दिए पछि नेता बोहरा अप्ठेरोमा परेका छन् ।
प्रदेश सभामा नेपाली कांगे्रसको तर्फ बाट देबी चौधरीलाई टिकट दिईएको भने पनि नेपाली कांग्रेसका कार्यकर्ता चौधरीलाई कांग्रेस नेता मान्न तयार छैनन् । उनीहरुले पदका लागि दर्जनौँ पार्टी फेर्ने चौधरी कहिले देखि कांग्रेस भए भन्ने प्रश्न गरेका छन् । चौधरी २०४८ साल देखि नै प्रत्येक निर्वाचनमा दल फेर्दै उम्मेदवारी दिए पनि अहिले सम्म बिजयी हुन सकेका छैनन । प्रत्येक पटकको निर्वाचनमा दल फेर्दै चुनाव लडे पनि जनताले नपत्याएका चौधरीलाई टिकट दिनु पार्टीको लागी दुर्भाग्य भएको काँग्रेस कार्यकर्ताले गुनासो गरेका छन् ।
यादव भर्सेस शुक्ला
रुपन्देहीको क्षेत्र न ४ मा पनि यस पटक रोचक चुनाबी प्रतिस्पर्धा हुने भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस बाट युवा व्यवसायी प्रमोद यादव र राष्ट्रिय जनता पार्टीका नेता सर्बैन्द्रनाथ शुक्ला बीच प्रतिस्पर्धा भए पनि संघीय समाजवादी फोरमका ओम प्रकाश यादव र भर्खर राजपाबाट एमाले प्रवे श गरेका ओम प्रकाश यादब गुल्जारी पनि चुनाबी मैदानमा छन् ।
तीन यादब र एक शुक्ला बीचको प्रतिस्पर्धामा कसले बाजी मार्नै हो चुनावको परिणाम नै पर्खनु पर्ने भएको छ । नेपाली काँग्रेस प्रवेश गरेर टिकट पाएका प्रमोद यादवको त्यस क्षेत्रमा राम्रै प्रभाव रहेको छ ।
यस क्षेत्रमा टिकट वितरणमा असन्तुष्टि जनाउदै नेपाली काँग्रेस ४ का क्षेत्रिय सभापति बिरेन्द्र जयसवालले प्रदेश सभामा भर्खर पmोरम बाट पार्टी प्रबेश गरेका वसीउद्धिन मुसलमान बिरुद्ध उम्मेदवारी दिएका छन । यस क्षेत्र बाट एमालेबाट प्रदेश सभामा पल्लबी शुक्ला र सहबुद्धिन देवानले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनता पार्टीका नेता शुक्लको पनि यो छैठौं प्रतिस्पर्धा हो । ०४८ मा राप्रपाबाट पराजित भएका शुक्ल ०५१ मा निर्वाचित भए । ०५६ मा सद्भावनाका यज्ञजित शाहसँग पराजित भएका थिए । शाह अहिले एमालेमा प्रबेश गरेका छन । शुक्ला ०६४ र ०७० मा तमलोपाबाट निर्वा्चित भए । यसपटक उनी राजपाबाट छैठौं पटक प्रतिस्पर्धामा छन् ।
५ मा के होला ?
रुपन्देहीको क्षेत्र न ५ मा लोकतान्त्रिक गठबन्धन बाट भरत कुमार शाह र बाम गठबन्धन बाट माओबादी केन्द्रका नेता डिलाराम आचार्यले उम्मेदवारी दिएका छन । यस क्षेत्रमा शाह र आचार्य बिचनै मुख्य प्रतिस्प्रर्धा हुने भएको छ । उत्तर भेगमा बाम गठबन्धनको प्रभाब रहेपनि दक्षिण क्षेत्रमा फोरम र राजपाको प्रभाब भएका कारण को बिजयी हुने हो भन्न मुश्किल हुने त्यस क्षेत्रका मतदाता बताउँछन् ।