logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    प्रक्रियागत ढाँचामा अगाडि बढ्दै सिद्धार्थनगर


    २३ कार्तिक २०७४ , बिहिबार

    प्रक्रियागत ढाँचामा अगाडि बढ्दै सिद्धार्थनगर

    कमल रायमाझी
    भैरहवा, २३ कार्तिक ।  नेपालको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिका अबको केही महिनामा प्रकृयागत ढाँचाबाट अगाडि बढ्ने भएको छ । नगरपालिकाले आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र भएका प्रगति तथा भावी कार्ययोजना बारे जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा नगरपालिकाले यो कुरा बताएको हो ।

     

     

    नगरपालिकाले सबै कार्यक्रमहरु प्रकृयागत रुपमा अगाडि बढ्ने भन्दै कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाहरुलाई समेत नगरको विकासका लागि प्रकृयागत ढाँचामा रहेर काम गर्न निर्देशन दिएको नगरपालिका कार्यालयले जानकारी दिएको छ । प्रकृयागत ढाँचामा अगाडि बढ्दा शहरको विकास र सुन्दरता हुनुका साथै नगरपालिकाले गर्नुपर्ने कामहरु सिस्टममा अगाडि बढ्ने समेत अपेक्षा गरिएको छ ।

    अहिले सम्मको कार्यमूल्याङ्कन प्रगति र भावी रणनीतिको विषयमा जानकारी दिँदै नगरपालिकाले आगामी दिनमा पर्यटन विकासका लागि बेलहियामा गेट निर्माण, डण्डाखोलामा बोटिङ्ग तथा नदी किनारमा जैविक संरक्षण कार्यक्रमका लागि बहुवर्षीय आयोजनाको रुपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

    एकीकृत शहरी विकास आयोजना कार्यक्रम अन्तर्गत संचालित निर्माण कार्य मध्ये ५३ मिटर सतह ढल, साढे १० किलोमिटर सडक निर्माण भैसकेको, ३२ करोड लागतमा ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण हुने अवस्थामा रहेकोे फोहरमैला प्रशोधन केन्द्रको काम सुचारु गर्न नगरपालिका प्रयासरत रहेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख हरि अधिकारीले जानकारी दिए ।

    दुई अरब ३८ करोडको लागतमा संचालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत खानेपानी, विद्युत, ग्रिनरी, फुटपाथ, पक्की नाला जस्ता पूर्वाधार विकास आयोजनाहरु अगाडि बढेको समेत नगर प्रमुख अधिकारीले बताए । नेपाल सरकारद्वारा तराईका सदरमुकामहरुमा भौतिक पूर्वाधार विकास निर्माणका लागि छुट्याइएको पहिलो फेजको ८३ करोड र दोस्रो फेजको ३३ करोड रुपैँयाबाट सडक, नाली, विद्युत लगायत दरखसवा गाउँ, महामाया पथ, म्यौडिहवा, प्रभात पथ, गोलीगढ, ज्ञान पथ र बुद्धपथमा स्तरीय सडक निर्माण कार्य सुरु गरिएको समेत नगरपालिकाले जानकारी दिएको छ ।

    नगरपालिकाको मध्य भागमा रहेको सिद्धार्थ बसपार्क बिस्तारको लागि १७ करोड ठेक्का बन्दोवस्त भई बसपार्क भित्र भवन निर्माण, पार्क निर्माण लगायतका कार्यहरु अगाडि बढेको समेत पत्रकार सम्मेलनमा नगरपालिकाका योजना प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।
    नगरपालिकाले स्थानीय बुद्धिजीवी तथा समाजसेवी, पत्रकार, राजनीतिज्ञहरुको आपसी छलफलबाट बीस वर्ष भित्र गर्ने कार्ययोजना तयार गर्दै दीर्घकालीन सोचका साथ अगाडि बढ्ने कार्यक्रम समेत अगाडि सारेको पत्रकार सम्मेलनमा योजना प्रमुख श्रेष्ठले बताए ।

    रुपन्देहीमा रहेका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुटवल उपमहानगरपालिकालाई एकीकृत मेघा सिटीको रुपमा विकास गर्ने लक्ष्यका साथ अध्ययन अनुसन्धान अगाडि बढेको जानकारी दिँदै नगरपालिकाले भावी पिँढीका लागि एउटा सुन्दर शहर हस्तान्तरण गर्ने लक्ष्य अगाडि सारेको पत्रकार सम्मेलनमा बताइएको छ ।

    नगरपालिकाले टोलटोलमा फोहोर मैला व्यवस्थापन समिति गठन तथा घरघरमा निस्कने फोहोरहरु जथाभावी नफाली सम्बन्धित स्थानमा फाल्नुपर्ने र नगरको सुन्दरताको लागि सबै नगरबासीलाई सचेत रहन समेत जनचेतना मूलक कार्यक्रमहरु अगाडि बढाउने जनाएको छ ।
    शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका, पशुविकास, जस्ता विषयगत कार्यालयहरुको संस्थागत विकासका लागि नगरपालिकाले योजनाबद्ध रुपमा नेपाल सरकारले तोकेको मापदण्डमा रहेर अगाडि बढेको नगरपालिकाका बरिष्ठ अधिकृत गणेश क्षेत्रीले जानकारी दिए ।

    नगरपालिकाले व्यवस्थित सामाजिक सुरक्षा वितरण, अग्नी नियन्त्रण व्यवस्थापन, सरसफाई कार्यक्रम लगायतका संस्थागत कामहरुलाई समेत अगाडि बढाएको वरिष्ठ अधिकृत क्षेत्रीले बताए । नगर क्षेत्रमा रोजगार बृद्धि तथा प्राविधिक शिक्षालयको स्थापना गर्नका लागि समेत नगरपालिका प्रयासरत रहेको र यहाँ स्थानीय स्रोत साधनहरुको सदुपयोग गरी नगरको बिकासमा एकताबद्ध रुपमा अगाडि बढाएको समेत नगरपालिकाले जनाएको छ ।

    निर्वाचित भएर आएका नगरप्रमुख, उपप्रमुख,वडाअध्यक्षहरु, सदस्यहरुले जनताका समस्याहरुलाई छलफल र सहकार्यमा अगाडि बढ्न नगरपालिका प्रतिबद्ध रहेको समेत जानकारी गराईएको छ ।

    महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तथा नेपालमा सवैभन्दा बढी पर्यटक आउने मार्ग बेलहियालाई सुन्दर शहरको रुपमा विकास गर्ने लक्ष्य समेत नगरपालिकाले राखेको छ ।६ लेन सडकको ग्रिनरी बेल्टलाई हरावरा बनाउनका लागी समेत संघसस्थाहरुलाई आग्रह गरको जानाकारी दिँदै नगरपालिकाले भैरहवा शहरको सुन्दरताका लागि सबै अभियान सुचारु गरिएको बताइएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.