कमल रायमाझी
भैरहवा, मंसिर । प्रदेश नम्बर ५ को राजधानीको रुपमा हेरिएको रुपन्देहीलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनले तताएको छ ।

प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १० उम्मेदवारले प्रतिनिधित्व गर्ने यो जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी दर्जनाँै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ । प्रदेश नम्बर ५ लाई नै नेतृत्व दिने प्रतिनिधिहरु उत्पादन गर्ने यो जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेका छन् । जसको मत बाट नयाँ प्रतिनिधिहरु चयन हुने छन् ।
विभिन्न कारणले चर्चामा रहने रुपन्देही अहिलेको निर्वाचन माहोलमा जिल्लाको सदरमुकाम भैरहवासंँगै रहेको ३ नम्बर क्षेत्रले चर्चामा ल्याएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा यो क्षेत्र बिशेस गरि केन्द्रमा पहुँच राख्ने दुई नेताको आपसी भिडन्तले चर्चामा ल्याएको हो ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्य मन्त्री दिपक बोहरा र वाम गठबन्धनका साझा उम्मेदवार एमालेका उपमहासचिव घनश्याम भुसालको आपसी भिडन्तले चर्चा बटुलेको छ ।
देशलाई नै आवश्यक यी दुई नेता जिल्लालाई त आवश्यक हुने नै भयो भन्दै स्थानीय मतदाताहरुले कसलाई मत हालेर विजय बनाउने भन्नेमा दोधार देखिन्छन् ।
दुवैजना एकै ठाउँबाट उठ्नुभयो यस क्षेत्रका जनतालाई दुवै जना उत्तिकै आवश्यक छ, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले भने, ‘सैद्धान्तिक राजनीतिमा भुसालको विचारको नेतृत्व र संसदीय राजनीतिमा बोहराको अनुभव रुपन्देहीले पाउनुपर्ने हो । जुन यस निर्वाचनले एकजनालाई बाध्यतावश पराजय र अर्कोलाई विजय बनाउँदा खल्लो हुने भयो ।’
भुसालको विचार एमालेले सिंगै बोकेर हिँडेको छ, उनको विचारसँंग संसार हल्लिने गर्दछ भन्दै रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बोहरा पनि भैरहवाको विकासमा महत्वपूर्ण पात्र रहेको बताए । संबिधान सभाको दोस्रो निर्वाचन २०७० मा राप्रपाबाट विजय भएका बोहरा र संसदीय निर्वाचन २०५३ को उपनिर्वाचनमा विजय भएका भुसाल यही क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका प्ररिक्षणयुक्त पात्र हुन् । दुवै रुपन्देहीका स्थानीयबासी पनि हुन् ।
पञ्चायती व्यवस्थामा यस जिल्लाबाट पटक पटक विजय हँुदै मन्त्री समेत हुने गरेका बोहरा बहुदल पछि भने २०७० को दोस्रो संविधान सभाको निर्वाचन बाहेकका निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट पराजय हुँदै आएका नेता हुन् । भुसाल पनि संसदीय उपनिर्वाचन २०५३ बाहेक अरु निर्वाचनमा पराजित हुँदै आएका छन् । भुसाल पनि मन्त्री भैसकेका नेता हुन् ।
क्षमता र नेतृत्वदायक भूमिका निभाउन सक्ने यी दुई नेताहरुको लडाईँले रुपन्देही अहिले तातेको छ । राजनीतिक वृत्तमा समेत भुसाल र बोहराको राजनीतिक लडार्इँलाई चासो पूर्वक हेरिएको पाईन्छ ।
त्रिभुवन विश्व विद्यालयका सह–प्रध्यापक राजनीति विशेषज्ञ उमेशचन्द्र रिजालले पाल्पा क्याम्पसमा आफुले पढाउँदा घनश्याम भुसाल त्यहाँको विद्यार्थी रहेको बताउँदै भुसाललाई एक इमान्दार कर्तव्यनिष्ट, जुझारु र सिद्धान्तवादी नेताका रुपमा आफूले चिनेको बताए । उनले भुसालको राजनीतिक अटलता र इमान्दारीपनको प्रशंसा पनि गरे ।
सह–प्रध्यापक रिजालले बोहरा पनि पटक पटक सत्तामा पुगेको र अनुभवी नेता भएकाले भैरहवाका लागि दुवै आवश्यक रहेको बताउँदै स्थानीय स्तरमा हुने मतदानले जसलाई छनोट गरेपनि एकले विजय र अर्कोले पराजय भोग्ने बताए ।
नयाँ संविधान जारी सँगै बदलिएको रुपन्देहीको पुरानो २ नम्बर क्षेत्र अहिले केही पहिलाका गाउँहरु छोडेर नयाँ गाउँपालिकाहरु र नगरपालिकाहरुलाई समेट्दै ३ नम्बर क्षेत्रमा रुपान्तरित भएको छ । जसको मतदाता सख्या १ लाख ९ हजार २ सय ७८ रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी, नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया, निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, सुरु हुन गइरहेको विशेष आर्थिक क्षेत्र सेज, बुटवल भैरहवा व्यापारिक मार्ग ६ लेन सडक, युद्धस्तरमा अगाडि बढेको भौतिक पूर्वाधारको विकासले आधुनिक शहरको रुपमा परिमार्जित हुँदै गरेको यस क्षेत्रको नेतृत्व गर्न सक्ने दुवै नेताहरु सक्षम रहेको मतदाताले बताएपनि एकलाई रोज्न बाध्यता रहेको क्षेत्र नम्बर ३ का जनताहरुको भनाई रहेको छ । मंसिर २१ गतेको निर्वाचन पछि कुन नेताले विजय प्राप्त गर्ने हो त्यो त हेर्न बाँकी छ । तर अहिले जनताले गरेको अड्कलबाजी दोधारमा परेको छ । स्थानीय निर्वाचनको मत अनुसार लोकतान्त्रिक गठबन्धनको भन्दा बाम गठबन्दनको मत बढी देखिएपनि संसदीय निर्वाचनमा व्यक्तिगत मत नेताहरुले तान्न सक्ने देखिन्छ ।
एमालेका उपमहासचिव भैसकेका नेता भुसाल महासचिव हँुदै पार्टीको अध्यक्षको लाईनमा रहेका लोकप्रिय र सम्भावना भएका नेता हुन भने, बोहरा राप्रपाका बरिष्ठ उपाध्यक्ष हुनुका साथै स्थानीय जनताको पीरमर्का बुझ्न सक्ने नेताको दर्जामा रहेका छन् । यी दुवै नेतामा कसलाई जनताले चुन्ने हुन्, त्यो त भविष्यले निर्णय गर्नेछ ।