कमल रायमाझी
भैरहवा, मंसिर १८ । रुपन्देही क्षेत्र नं ३ (क) का वामका साझा उम्मेदवार विश्वास बराल (अनुप)लाई यस क्षेत्रका मुस्लिम समुदायले समेत आफ्नो रोजाइमा पारेका छन् ।

माओवादी आन्दोलन र जनयुद्धका कारण मुस्लिम समुदायका हक अधिकार सुनिश्चित भएको बताउँदै उनीहरुले बराललाई मतदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यस क्षेत्रका मुस्लिम अगुवा हकिकुल्लाह खान, फैज अहमद खान, मकसुद अली जस्ता परिचित नेताहरुले मुस्लिम समुदाय समक्ष बरालको पक्षमा प्रचार प्रसारलाई तीव्रता दिएपछि मुस्लिम समुदायहरु गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न सहमत भएको बताउँछन् ।
भैरहवा क्षेत्रमा बाक्लो बसोबास रहेको मुस्लिम समुदायहरुले स्थानीय निकायको निर्वाचनमा समेत माओवादी केन्द्रलाई मतदान गरेको बताउँदै अबको निर्वाचनमा समेत वाम गठबन्धनलाई नै मतदान गर्ने विश्वास दिलाएको बताए ।
बराल विजयी भएमा मुस्लिमहरुको पक्षमा काम गर्न सक्ने भएकाले पनि मुस्लिमहरुको रोजाइमा परेको स्थानीय मुस्लिम अगुवाहरु बताउँछन् ।