logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवामा पुषको दोस्रो हप्ता,देशैभरीका युवा एक कठ्ठा


    २ पौस २०७४ , आइतबार

    भैरहवामा पुषको दोस्रो हप्ता,देशैभरीका युवा एक कठ्ठा

    लुम्बिनीखबर
    भैरहवा, पुस २। मंसिरको अन्त्य सम्म देशैभरका युवाहरु विभिन्न दल र उम्मेदवारको लागि विभक्त थिए । उनीहरु अलग अलग झण्डा, ब्यानर र एजेन्डा बोकेर हिँडिरहेका थिए । चुनाव सकिएर मत परिणाम पनि आइसकेको छ तथापी विभक्त बहुसंख्यक युवाहरुको मन अझै जोडिएको छैन । कैयौँ युवाहरु आफूले समर्थन गरेको उम्मेदवारको पीडामा रनभुल्ल छन् भने कैयौँ जितको खुसीयालीमा ।

    यसरी चुनावी माहौलका कारण फरक फरक नारा र योजना लिएर अगाडि बढेका युवाहरुलाई अब एकै धार र नारामा समाहित गर्ने गरी भैरहवामा कार्यक्रमको तयारी भइरहेको छ । यहि पुसको दोस्रो हप्ता शान्ति भूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा भेला हुने युवाहरुले विधिको शासनको चर्चा गर्दै देश विकासमा लाग्ने प्रतिबद्धता गर्दैछन् । नेपाल जेसीजको ४४ औं महाधिवेसनको सन्दर्भमा पुस ८, ९ र १० गते भैरहवामा देशैभरीका युवाहरु भेला हुने भएका हुन् ।

    देशैभरीबाट आउने युवाहरुलाई बसाल्नको लागि बेलहिया देखि भैरहवाको बर्मेलीटोल सम्मका २ हजार ५ सय भन्दा बढी होटलका बेड बुक भईसकेको महाधिवेसनको आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिएका छन् । ‘बेलहियामा मात्रै ५ सय ३२ जनालाई राख्दैछौँ । बाँकी भैरहवामा राख्छौं । हामीले २ हजार ५ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकलाई व्यवस्थित तरिकाले राख्दैछौ ।’

    ८ गते भैरहवाको महेन्द्रसभा गृहमा राष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेसनको उद्घाटन गर्ने गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पु¥याइएको महाधिवेशन निर्देशक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । निर्देशक श्रेष्ठले भने ‘महाधिवेशनको उद्घाटन ८ गते भव्य तरिकाले हुन्छ । ९ गते भैरहवामा शान्ति ¥याली हुन्छ । १० गते नयाँ नेतृत्वको लागि चुना हुन्छ । यो बीचमा विभिन्न तालिम तथा गोस्ठी पनि हुनेछन् । ’

    महाधिवेसनले सीमान्त क्षेत्रमा अल्लारीएर रहेका र लागु पदार्थको दुव्र्यसनमा फसेका बेरोजगार युवाहरुलाई सृजनात्मक क्षेत्रमा आबद्ध हुन प्रेरणा प्रदान गर्ने पनि आयोजकले दाबी गरेका छन् । महाधिवेसनमा लागु पदार्थको दुव्र्यसनको विरुद्ध विशेष कार्यक्रम गरिने भएको छ । लागु पदार्थ ओसार पसारको ट्रान्जिट प्वाइन्टको रुपमा विकास हुदैं गएको भैरहवामा त्यसको विरुद्धमा देशैभरीका युवाहरुको ठोस कदम चालिनु अत्यन्तै महत्वपुर्ण अपेक्षा गरिएको छ ।

    भैरहवामा हुने नेपाल जेसीजको महाधिवेसनमा आन्तरिक पर्यटन प्रबद्र्धन र लुम्बिनीको विशेष चर्चा परिचर्चा हुने भएको छ । सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको हो । यसलाइ सबै भैरहवाबासीले अवसरको रुपमा लिएर उपयोग गर्नुपर्ने महाधिवेसनका प्रमुख सल्लाहकार निधानचन्द्र श्रेष्ठले बताए ।

    नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादीत विभिन्न ३२ किसीमका स्टल राखिने भएको छ ।
    सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजना गर्ने महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने तथा नयां नयां सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणाप्रदान गर्ने अपेक्षा लिइएको छ ।

    सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । १८ वर्षदेखी ४० वर्ष उमेर समुहका युवाहरु संलग्न हुने जेसीजले विधीको शासन, मानवतावादी र विश्वबन्धुत्व भावनामा जोड दिन्छ ।

    नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको आयोजकले बताएका छन् ।

    सन् १९९१ मा भैरहवामा सम्पन्न महाधिवेसन पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेका थिए । सो महाधिवेसनबाट उत्तर चापागाई राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला जेसीआइ सिद्धार्थको अध्यक्ष स्वर्गिय विजयराज शर्मा थिए भने अहिलेका महाधिवेशन निर्देशक महेन्द्र श्रेष्ठ त्यतिबेला कोषाध्यक्ष थिए । त्यतिबेला १२ सय प्रतिनिधी पर्यवेक्षकलाइ स्वागत गरेको भैरहवाले यतिबेला ठीक त्यसको डबल भन्दा बढी २५ सय लाइ स्वागत गर्दैछ । यो आफैमा महत्वपुर्ण छ ।

    भैरहवामा आउने प्रतिनिधी र पर्यबेक्षककोलागी सबैभन्दा राम्रो आतिथ्यता गर्नेगरी तयारी अन्तिम चरणमा पुराएको आयोजकले जनाएका छन् ।

    नेपाल जेसीजको नयां नेतृत्वकोलागी रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलको चर्चा छ । बस्याल हालको बोर्डका कार्यकारी उपाध्यक्ष हुन् भने पौडेल सन् २०१६ का कार्यकारी उपाध्यक्ष हुन् । नेपाल जेसीजको हालको नेतृत्वमा प्रकाश अधिकारी छन् ।

    नेपाल जेसीजको बोर्डमा १९ जना रहने प्राबधान रहेको छ र सो पदमा पुग्न १८ वर्षदेखी ४० वर्ष भित्रको हुनुपर्ने छ । संसारभरका युवाहरुको संगठीत संस्था भएकोले जेसीजको नेतृत्वमा पुग्न युवाहरुबिच तछाडमछाड नै हुने गर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.