नेपाल जेसीजको महाधिवेशन खवर सुन्नासाथ पङ्क्तिकार खुशीले गद्गद् भएको छ । जेसीज अभियानमा सानै भएपनि केही संस्मरणीय रोचक अनुुभव छन् पङ्क्तिकारका । विशेष गरी जेसीजको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनुु र जेसिआई सिद्धार्थनगर शाखाको नेतृत्वमा पुुग्न अपुरो रहनुु ।
धरानमा सम्पन्न राष्ट्रिय महाधिवेशन सायद सन् २००० को थियो । वक्तृत्वकला प्रतियोगितामा भाग लिने अवसर मिल्यो । तयारी गरेर जानुुभएका जेसी मित्र प्रतियोगितामा सहभागी नहुने भएपछि एक्कासी यो पङ्क्तिकार विना तयारी सहभागी हुन मञ्चमा जानुप¥यो । वक्तृत्वकलाको विषय गरिबी मुक्तिका निम्ति आर्थिक क्रान्ति थियो । शाखाका पूर्व अध्यक्ष दिलीप धितालले हौसला दिनुुभयो । केही दबाब पनि । उहाँका कुरा काट्न मेरा लागि अप्ठ्यारो पनि । सहभागि भयाँै र प्रतियोगितामा प्रथम पनि । दिलीपको प्रोत्साहनले काम ग¥यो । निर्णायक मण्डलमा १ जना ओशो अनुयायी विकल शेरचन पनि हुनुुहुन्थ्यो ।

विजय पाण्डे
पङ्क्तिकारका लागि विकल शेरचन सधैं स्मरणीय हुनुुहुन्छ । अरू पनि । वक्तृत्वकलाका विद्यार्थीको लागि यो बिना तयारीको सफलता रोचक अनुुभव बन्नु स्वाभाविक थियो ।
जेसीज अभियानमा अर्काे रोचक प्रसङ्ग भविष्यवाणी थियो । पङ्क्तिकारका लागि त्यो प्रसङ्ग सधैं सम्झनायोग्य रहेको छ । शाखाको उपाध्यक्ष भइरहँदा शाखाकै पूर्व अध्यक्ष दाजुु दीपक बि.कले भन्नुु भयो ‘विजय, तिम्रो यात्रा उपाध्यक्षसम्म मात्र हुन्छ; यसपछि तिमीलाई गाह्रो छ ।’ यसको कारण बताउनुु भएन् वहाँले । पङ्क्तिकारले बुुझ्नुु पर्ने थियो । ज्योतिषीको झैँ भविष्यवाणी सत्य भयो । पङ्क्तिकारको जेसीज अभियानमा उपाध्यक्ष पछिको नेतृत्व अधुरो रह्यो । भविष्यवाणीका सन्दर्भमा बेला बेलामा दीपक दाजुुसँग चर्चा भई नै रहन्छ । जेसीजप्रतिको लगाव भने पङ्क्तिकारको नियमित छ । पर्यवेक्षककै रूपमा भए पनि । जेसीजको महत्वपूर्ण अभियानमा रुचि भने नियमित हो ।
भैरहवामा हुने राष्ट्रिय महाधिवेशनले थप हौसला मिलेको छ । पौष ८, ९ र १० भैरहवा जेसिजमय हुँदैछ । अर्थात् युवालय बन्दैछ । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । समारोह स्थल बेहुली भैmँ सिँगारिएको छ । देशभरिबाट आएका लगभग २ हजार ५ सय पाहुनाहरूलाई आतिथ्यमा कुनै कमी हुन नदिन आतिथ्य शाखा जेसीआई सिद्धार्थ, भैरहवाका जेसीहरू क्रियाशिल छन् ।
खाने, बस्ने, सरसफाई, सभास्थलमा शौचालय आदिको उच्च व्यवस्था भएको पदाधिकारीले बताएका छन्, देखिएको पनि छ । ४४ औँ महाधिवेशनको आकर्षक समुदघाटन विशाल मञ्चमा ४४ दीप प्रज्वलन गरी गरिएको छ । मौलिक र अनुशासित रुपमा शुभारम्भ भएको महाधिवेशनको प्रस्तुति परिपक्व र परिमार्जित भएको देखियो ।
मुख्य अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुतिको प्रसंशा समेत गर्नुभयो । समसामयिक र प्रेरणायुक्त विचार राख्दै युवाहरुको जिम्मेवारीबारे बोध गराउनुभयो । अन्य अतिथिहरु नेपाल सरकारका मन्त्रीहरु अब्दुल रज्जाक र दीपक बोहोराले समेत शुभकामना व्यक्त गर्नुभयो । मञ्चमै रहेका अर्का ३ नं क्षेत्रका नवनिर्वाचित सांसद राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चर्चित एवम् प्रभावकारी उत्प्रेरक वक्ता घनश्याम भुषाललाई सुन्न गएका उद्घाटन समारोहका श्रोता अतिथि भने निराश हुनुप¥यो । उनलाई मन्तव्य राख्ने अवसर जुरेन । शायद समयको पावन्दी होला । उद्घाटनपछि गोष्ठीमा भने उहाँको महत्वपूर्ण विचार प्रस्तुत गरियो । साथै अन्य महत्वपूर्ण विचारकहरुले पनि विचार राखेका थिए ।
एक शताब्दी पूरा गरेको अन्तर्राष्ट्रिय जेसीजले नेपालमा भने ४५ बसन्त पुरा गर्दैछ । नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशन भैरहवामा भएको छ । नेपाल जेसिजले भैरहवा रोजेको छ । नेपाल जेसिजप्रति भैरहवावासी आभारि छौंँ ।
नेपालमा जेसिजको स्थापना गर्ने संस्थापक अध्यक्ष योग्य क्षमतावान डा. भेष बहादुर थापाप्रति जेसिज गैरजेसी सम्पूर्ण ऋणी छौं । त्यस्तै सिद्धार्थ जेसिजका संस्थापक मोहनलाल शेरचनप्रति पनि ।
अन्तर्राष्ट्रिय जेसिजलाई जेसीआई अर्थात् जुनियर चेम्बर्स इन्टरनेशनल भनियो । जेसिजले व्यक्तिगत विकासमा ध्यान केन्द्रित गर्दछ । व्यवसाय सञ्चालनमा पनि प्रभावकारी भूमिका खेल्दछ । प्रत्येक जेसीआई सदस्यहरूले सकारात्मक परिवर्तन सिर्जना गर्नुु पर्दछ । प्रविधिको विकाससँगै छिटो छिटो परिवर्तनशील संसारमा युवाहरू नयाँ ढङ्गले प्रस्तुत हुन आवश्यक छ ।
वाधा अड्चनलाई अनि चुनौतीलाई अवसरका रूपमा हेर्नुुपर्दछ । जेसीआई सदस्यहरूमा यी विशेषता हुन्छन् र हुनुपर्छ नेतृत्व विकासका निम्ति ।
व्यक्तिमा रहेका अन्तर्निहित तत्वलाई प्रशिक्षणबाट निखार्ने, युवा व्यक्तिहरूको क्षमता प्रस्फुटन गराउने र सामाजिक कार्यप्रति अभिप्रेरित बनाउने अनि समाजप्रति युवाहरुको दायित्व बोध गराउने जेसिजको उद्देश्य मान्न सकिन्छ ।
बैठक, सभा समारोह सञ्चालन विधि, भाषणकला, प्रतिवेदन तयारी, व्यवस्थापन कला, द्वन्द्व व्यवस्थापन, सकारात्मक सोच जस्तो प्रशिक्षणसँग आर्थिक समृद्धि र मानविय विकासका सन्दर्भमा बहस गर्नुुपर्ने देखिन्छ, अब । नेपालको परिप्रेक्ष्यमा अबको बाटो तय गर्दा समृद्ध नेपाल हुुनुुपर्दछ भन्ने सामाजिक अगुवाहरूको धारणा पनि पाइन्छ । अहिले युवाहरूमा राजनीतिमा चासो बढ्दै गएकाले असल राजनीतिज्ञको सृजनामा पनि जेसिसको भूमिका हुनुु पर्दछ ।
यस महाधिवेशन सभा स्थलमा उद्यमी एवं व्यावसायिक प्रदर्शनीले जेसीआई आर्थिक अभियानमा जिम्मेवार छ भन्ने पुष्टि गर्दछ । अधिकांश यस्ता समारोहमा सहभागिहरूको विचारप्रमुख कार्यक्रममा सहभागिता न्यून पाइन्छ । निर्वाचन प्रक्रियामा रमाउनेको सङ्ख्या ठूलो हुन्छ । त्यस्तै पर्यटकको रूपमा पनि । जेसिजको हरेक महाधिवेशनमा समुद्घाटन समारोहमा महत्वपूर्ण वक्ताहरूको विचार प्रस्तुति प्रभावकारी पाइन्छ । प्रकरण गोष्ठी र वक्तृत्वकला प्रतियोगितामा प्रस्तुत विषय वस्तुलाई व्यवहारमा उतार्न प्रयासरत हुन सके जेसिजको उद्देश्य उन्मुख हुन सक्ने कुरामा दुई मत नरहला भन्छन् अनुभवी जेसी अग्रजहरु ।

व्यक्तित्व विकास तथा तालिमको प्रस्फुटन गराउने सकारात्मक सोच व्यवहारमा उतार्नुु उत्तिकै महत्वपूर्ण मानिन्छ । १७ वर्ष अघि जेसिजले उठाएको विषय गरिबी मुक्तिका लागि आर्थिक क्रान्ति अहिले पनि जहाँको त्यहीँ रहनुु नेपालीहरूका लागि सुखद मान्न सकिँदैन । तसर्थ जिम्मेवार नागरिक, सामाजिक अगुवा अनि राज्य नेतृत्वको दायित्वबोध हुने प्रशिक्षण आवश्यकता महसुस भएको छ । व्यक्ति तथा नेतृत्व विकास तालिममा प्रशिक्षण दिइने सकारात्मक सोचलाई व्यवहारमा उतार्न त्यत्तिकै जरुरी भने देखिन्छ ।
वर्तमान समयमा हाम्रोलाई राम्रो भन्दा राम्रोलाई हाम्रो भनिरहँदा जेसीज वा अन्य कहीँ कतै योग्य कसैको पनि नेतृत्व लिने यात्रा भने अधुरो हुन पाउँदैन ।
अनि, सुन्दर समाज र विश्वको परिकल्पना गर्न सकिन्छ । शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ भन्ने जेसिजको मूल मान्यता सार्थक हुन्छ । साथै, विश्व चम्काउन सकिन्छ र भन्न सक्छौं – हामी चम्कन्छौंँ । समाजले जेसीजसँग यस्तै अपेक्षा गरेको छ । अनि युवाले विश्वास पनि ।