अरुण ज्ञवाली
भैरहवा १२ पुस । अबैध रुपमा बालगृह सञ्चालन गरी बालबालिकालाई शोषण गर्ने बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालित ‘साहाराको घर’का संचालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालकहरुलाई विभिन्न प्रलोभन देखाई शोषण तथा बिक्रि बितरण गर्ने उद्देश्यले ल्याएको भन्ने उजुरीको आधारमा महिला तथा बालबालीका कार्यालय, जिल्ला बाल कल्याण समिति र प्रहरीको सहयोग साहाराको घर संचालक देबदह ६का शंकर प्यासीलाई पक्राउ गरेको हो ।
उनीसँगै भारत मुम्बई घर भएकी वर्ष ३६ की बन्दना प्यासी र मुगुको खत्याड गाउँपालिका १ का २४ वर्षीया गीता बुढालाई बुटवल प्रहरीले पक्राउ गरेको हो । मुगुबाट साहाराको घरमा ल्याइएका ५ बालकमााथि शोषण र कुटपिट भएको भन्दै आश्रमबाट रातको समयमा भागेर बाहिर आएपछि घटनाबारे सूचना प्रहरी कहाँ पुगेको थियो ।
पक्राउ परको तीनै जनाले मुगु लगायतका विकट जिल्लाबाट अभिवावक लाई ललाई पmकाई निजी बिद्यालयमा राम्रोसँग अध्यन गराईदिने भन्दै १० देखि २० हजार रुपैँया समेत लिई उक्त बालगृहमा राख्ने गरेको महिला तथा बालबालिका कार्यालय रुपन्देहीकी प्रमुख शारदा बश्यालले जानकारी दिईन् । उनले बुबा आमा नभएका र जोखिममा परेका बालबालिका लाई बालगृहमा राखिने भए पनि उक्त साहाराको घर नाम गरेको बालगृहले अभिवावक भएका बालबालिकालाई रकम असुल्नकै लागी बालगृह सञ्चालन गरेको पाईएको बताईन् ।
उक्त बालगृहमा रहेका ३६ जना बालबालिका लाई समेत उद्धार गरिएको छ । उद्धार गरिएका ३६ मध्ये एक जनाको मात्र अभिवावक नभएको र अरु सबै ३५ जनाको अभिवावक रहेको पाईएको छ । अनुगमन पछि महिला तथा बालबालिकाको कार्यालय रुपन्देहीले उद्धार गरिएका बालबालिका मध्ये २५ जना लाई केन्दी्रय बालकल्याण समितिले काठमाण्डौ लगेको छ ।
आश्रममा रहेका मध्य ५ जना बालबालीका पुस ९ गते सञ्चालकले कुटपिट गरे पछि आश्रमबाट राती भागेका थिए । राती भागेका उनीहरुलाई गस्तीमा रहेको प्रहरीले उद्धार गरेको थियो । प्रमुख बश्यालले बालबालिका ऐन ०४९ र नियमावली ०५१ अनुसार आश्रम सञ्चालन भएको बताईन् ।
उनले बालगृहले सामान्य मापदण्ड समेत पुरा नगरेको बताउँदै चितवनमा दर्ता भएको भनिएको उक्त बालगृहले रुपन्देहीका कुनै पनि सरकारी तथा अन्य सँघ सस्थासँग सम्पर्क समेत नगरको जानकारी दिईन् ।
बालगृह सञ्चालकले बालबालिकाहरुलाई घरमा कोही छैन भनि बोल्न बाध्य पार्ने र त्यसो नगरेमा कुटपिट समेत गर्ने गरेको उद्धार गरिएका बालबालिकाले बताए । मुगु लगायतका स्थानबाट बालबालिका ल्याईने गरेको भए पनि उनीहरु सबैलाई चितवनबाट आएको भन्न बाध्य परिने र पक्राउ परेका सञ्चालक प्यासीले सुनवल धनगढीमा समेत शाखा राखेर अबैध बालगृह सञ्चालन गरेको समेत खुल्न आएको प्रमुख बश्यालले बताईन ।
बालगृहमा रहेका सबै बालबालिकालाई बुबाको नाम शकर प्यासी र आमाको नाम बन्दना प्यासी भन्न बाध्य पारिने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराइले बताए ।
बालबालिका माथी कहिले सम्म शोषण
नेपालमा वालगृह र आश्रम सञ्चालन गर्नेहरुले वालगृहको नाममा वालवालिकाहरुलाई बन्दी बनाएको, कतिपय विदेशीहरुले सहयोग गर्ने मनसाय हुँदा हुँदै पनि मानव तस्करी सम्मका कार्यलाई बढावा दिइरहेको बिभिन्न अध्यन अनुसन्धानले देखाएको छ ।
अधिकाँश वालगृह सञ्चालकले वालवालिकालाई कमाइखाने भाँडो बनाएको र कतिपय विदेशीहरुले यो कुरा नबुझेर उनीहरुलाई थप धनी बनाइरहेको विज्ञ र सरोकारवालाले समेत बताई रहदा राज्यले यस बिरुद्ध कडा कदम चाल्न सकेको छैन ।
वालवालिकालाई वालगृहमा राखेपछि आफन्त भेट्न पनि नदिइने गरेको र कतिपय वालवालिकाका आमा बाबु भएपनि उनीहरुलाई पैसा दिएर समेत विदेशीलाई देखाउन कै लागि बालबालिकालाई बालगृहमा राख्ने गरिएको समेत बिभिन्न रिपोर्टले स्पष्ट पारेको छ ।
पर्यटक र विदेशीहरुलाई झुक्याउन विदेशीहरु बढी उपलब्ध हुने रुपन्देही, काठमाण्डौ, पोखरा र चितवनमा यस्ता वालगृह तथा अनाथ आश्रम ठूलो संख्यामा स्थापना गरिएको बताईन्छ ।
आश्रममा रहेका मध्ये ८५ प्रतिशत वालवालिकाका बाबु वा आमा मध्ये एक जना रहेको भएपनि उनीहरुलाई विभिन्न तरिकाले आश्रममा राखिएको र आमा बाबुलाई भेट्न समेत नदिइने गरेको बुटबलको साहारा घरको सँचालक पक्राउ परेपछि स्पष्ट हुन्छ ।
विपन्नहरुको बाहुल्यता भएका नेपालको दुर्गम क्षेत्रबाट यस्ता वालवालिका जम्मा गर्ने र वालगृहमा बन्दी जस्तै जीवन जिउन बाध्य पार्ने गरिएको तथ्य समेत बाहिर आएको छ । वालवालिका जसरी पनि जम्मा गर्ने र जम्मा भैसकेपछि आश्रम मालिकहरुले उनीहरुलाई आफ्नो पैसा कमाउने सम्पतिकोरुपमा प्रयोग गर्ने गरेको महिला तथा बालबालिका कार्यालय रुपन्देहीकी प्रमुख शारदा बश्यालको निष्कर्ष छ ।
त्यतिमात्र होइन कतिपय आश्रममा वालिकाहरुमाथि यौन शोषण हुने गरेको र यस्तो क्रियाकलाप नाम चलेका वालगृहहरुमा समेत हुने गरेको प्रमुख बश्याल बताउँछिन् ।