लुम्बिनीखबर
भैरहवा, पौष १६ । रुपन्देहीमा भ्याट बिलमा कम परिमाणको माल देखाई ट्राफिक प्रहरीको ओभरलोड जरिवानाबाट जोगिन खोजेको नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिलाई क्षेत्रिय राजश्व अनुशन्धान कार्यालय बुटवलले राजश्व छलेको आरोपमा १ लाख ८५ हजार रुपैया धरौटी माग गरेको छ ।

भ्याट बिलमा कम परिमाणको माल देखाई ट्राफिक प्रहरीको ओभरलोड जरिवानाबाट जोगिन खोजेको उक्त उद्योगको पछिल्लो यस घटनाले महिनौंदेखि ओभरलोड ढुवानी गर्ने र जरिवानाबाट जोगिँदै आउने गरेको रहस्यलाई पनि उजागर गरेको छ ।
उक्त उद्योगबाट भ्याट विल जारी गरि रुपन्देहीको लुम्बिनी करिडोरमा रहेको जगदम्बा सिमेन्ट उद्योगको नाममा छ वटा ट्रकबाट पठाएको कच्चा पदार्थ क्लिङ्करको परिमाण, बिलमा उल्लेख गरिएभन्दा दोब्बर पाईएपछि कारवाहीकालागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले क्षेत्रीय राजश्व अनुशन्धान कार्यालय बुटवलमा ट्रक सहित पठाएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दक्ष बस्नेतले उक्त उद्योगले ओभरलोड गरी माल पठाउने गरेको सूचना पाएपछि भैरहवा–परासी हुलाकी सडकमा आकस्मिक चेकजा“च गरी धर्मका“टामा तौल गराउँदा उद्योगबाट जारी गरिएको बिलमा भन्दा दोब्बर परिमाणमा माल ढुवानी गरेको पाईएपछि कारबाही प्रक्रिया अघि बढाईएको बताए ।
उनका अनुसार छ वटै ट्रकको बीलमा उल्लेखित परिमाण १ लाख २२ हजार ८ सय ४० किलो थियो । ट्राफिक प्रहरीले पुन तौल गराउदा २ लाख ३ हजार १ सय ४० किलो पाईएको थियो । भ्याट बिलमा उल्लेख गरिएको कुल परिमाणको मुल्य १० लाख ८७ हजार १ सय ३४ रुपैया रहेको र छलेको परिमाणको समेत मुल्य जोड्दा १७ लाख ९७ हजार ७ सय ८९ रुपैया पुगेको थियो ।
यसबाट भ्याटको मात्रै राजश्व छलि ९२ हजार ३ सय ८५ रुपैया देखिएकोले कारवाहीकालागि राजश्व अनुशन्धानमा पठाएको बस्नेतले बताए ।
क्षेत्रिय राजश्व अनुशन्धान कार्यालय बुटवलका प्रमुख नरेन्द्र पाण्डेले मुद्धाको टुंगो नलाग्दासम्म १ लाख ८५ हजार रुपैँया धरौटी जरिवानामा छ वटा ट्रक मंगलबार छाडिएको बताए । उनका अनुसार, सबै ट्रकमा ढुवानी गरिएको मालको टुक्राएर बनाईएको दुई–दुईवटा ध्याट बिल कार्यालयमा पेश गरिएको थियो । जस अनुसार, राजश्व छलेको नभई ट्राफिकको ओभरलोड जरिवाना छल्नकालागि कम तौल परिमाण भएको बीलमात्र देखाईएको हो ।
ट्राफिक नियम अनुरुप मापदण्ड भन्दा बढि ढुवानी गर्नेलाई अधिकतम १ हजार ५ सय रुपैया जरिवाना र बढी भएको माल अर्को गाडीमा पल्टी गराउने प्रावधान छ ।
सर्वोत्तम सिमेन्ट उद्योगका व्यवस्थापक नेत्र घिमीरेले केही दिनदेखि प्रहरीले ओभरलोड ढुवानीमा कडाई गरेपछि यो समस्या आएको र ट्रकवालाले कम परिमाणमा माल बोक्दा आफुलाई पोसाउँदैन भनेपछि त्यही अनूरुप बिल टुक्राएर बील बनाईएको बताए ।
सिमेन्टको तौल, गुणस्तरमा बारम्बार गुनासो बढ्दै गएको बेला सिमेन्ट उद्योगहरुले नयाँ ठगीको धन्दा शुरुवात गरेको देखिएको छ । यो धन्दामा ढुवानी व्यवसायीको समेत प्रत्यक्ष संलग्नता देखिन्छ । अर्कोतर्फ सिमेन्ट व्यवसायीको कच्चा पदार्थ बोक्ने टिप्परको कारण रुपन्देहीमा दैनिक मान्छेले अनाहकमा ज्यान गुमाइरहेका छन् ।
ट्रिपर चालकलाई ट्रिप पीच्छे दिईने भत्ताका कारण चालकहरुले ब्रेक नै नलगाई राजमार्ग तथा भित्री सडकमा ओभरस्पिीडमा गाडी चलाउँदा दैनिकजसो मान्छेको ज्यान गईरहेको छ । टिप्पर चालकको कारण सर्वसाधरणको ज्यान जोखिममा परेको भन्दै विद्यार्थि संगठनहरुले प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन् । जगदम्बा ग्रुप र न्यौपाने ग्रुप जस्तो नाम चलेको व्यवसायीक प्रतिष्ठानले राज्यलाई ठग्ने ध्येयले नै बिलबिजक फरक फारेर कारोबार गर्नु विडम्बना भएको भन्दै रुपन्देहीका व्यवसायीबीच चर्चा चलेको छ ।
उद्योग व्यवसाय खोल्नु भनेको नाफा कमाउन नै हो । त्यसैले आलोचनात्मक अर्थशास्त्रीले उद्योगी व्यवसायीलाई नाफाखोर भनेर भन्ने गर्दछन् । घरजग्गा धितो राखेर उद्योग व्यवसाय चलाएका हुन् वा मेहनत र परिश्रमको कमाइबाट उद्योग खोलेका हुन् सबैले नाफा कमाउन पाउनुपर्दछ तर नाफा कमाउनकोलागी राज्य लाई ठग्ने प्रवृति बढ्यो भने त्यो भने खतारनाक हुन जान्छ । तर हाम्रो देशमा राजनीतिक संक्रमणकालिन परिस्थीतिको फाइदा उठाउदैं केही उद्योगी व्यवसायीले खुलेआम राज्यलाई ठग्ने गरेका छन् ।
कहिले बिल बिजक जारी नगरेर त कहिले राज्यलाई देखाउने मूल्य र सर्वसाधरण उपभोक्तालाई बेच्ने मूल्य फरक पारेर उद्योगीले ठग्ने गरेको उदाहरण बग्रेल्ती छन् ।
राजस्व ठगी गरेर अकुत सम्पति आर्जन गर्ने अनि केही रकम सामाजिक क्षेत्रमा खर्चेर नाम र दाम कमाउन पल्केकाहरुकै कारण देशको अर्थतन्त्र धरासायीमा परेको अर्थबीदहरु बताउंछन् । केही उद्योगी व्यसायी नै राजस्व ठगीको अग्रभागमा देखिएका छन् । एनसेल प्रकरण, अजय सुमार्गी प्रकरण, खेतान प्रकरण, डाबर नेपाल प्रकरण, यस्ता उदाहरण हुन जसको कारण इमान्दार र असल उद्योगीहरु सधैं मर्कामा पर्ने गरेका छन् ।
यस्ता ठग उद्योगी व्यवसायीले शासन र सत्ताका चालकहरुलाई पैसाको प्रभावमा पारेका हुन्छन् । त्यसैले ठगको सूचिमा हुनुपर्नेहरु छाती फुल्लाएर सामाजिक व्यक्तित्व, बरिष्ठ उद्योगी व्यवसायी भनेर परिचतीत भईरहन्छन् ।