कमल रायमाझी
भैरहवा, पुस २८। लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले रुपन्देहीले सार्वजनिक खरिद ऐन विपरीत निर्माण सामाग्रीमा गरिएको मूल्य वृद्धि प्रति आपत्ति जनाएको छ ।

संघले मूल्य वृद्धिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई ज्ञापनपत्र समेत बुझाएको छ । अहिले छड र सिमेन्टमा गरिएको मुल्यबृद्धि उपभोक्ता ठगी गर्ने उद्देश्यले भएको भन्दै कानुनमा उल्लेख गरिएको मूल्य समायोजन व्यवस्था अनुसार हुनुपर्ने समेत लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले माग गरेको छ ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव त्रिभुवनदत्त मिश्रले निर्माण क्षेत्रमा साउनमा गरिने मूल्याङक अनुसार भएका ठेक्काहरु अहिलेको मूल्य वृद्धिले गर्दा घाटा जाने र निर्माण व्यवसायीहरुलाई काम गर्न समस्या निम्तिने समेत बताएका छन् ।
देशमा सुरुभएको विकासका कामहरुमा मूल्य वृद्धिसँगै सेलाएको जानाकारी दिदै लुम्बिनी निर्बाण व्यवसायी संघका महासचिव मिश्रले सरोकारवाला निकायले समयमा नै मूल्य समायोजन प्रति ध्यान दिन आग्रह गरेका छन् ।
सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ रुपन्देहीले समेत मूल्यबृद्धिको विरोध गर्दै जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ ।
उद्योगीहरुले विनाकारण मूल्य वृद्धि गरिएको भन्दै व्यवसायी संघले मूल्य वृद्धि फिर्ता गरेर आमनागरिकको पक्षमा काम गर्न उद्योगीहरुलाई समेत अनुरोध गरेका छन् । नेपालमा नै क्लिङकर उत्पादन भएको छ भन्दै व्यवसायीहरुले बिद्युत लोडसेडिङ घटेको, राजनीतिक स्थिरता कायम भएको अवस्थामा विभिन्न विषयहरु उठाएर गरिएको मूल्य वृद्धिले आम उपभोक्ताहरु ठगिएको बताएका छन् ।
स्थानिय क्षेत्रमा नै मुल्यबृद्धिको विषयमा विरोध भएपनि सरोकारवाला निकाय भने मौन जस्तै देखिन्छ । राज्यले मूल्य वृद्धिको विषयमा अनुगमन तथा छानबिन, मुल्य नियन्त्रण गर्ने तर्फ कुनै चासो नदेखाएको स्थानीय व्यवसायीहरुले बताउने गरेका छन् ।
नेपालमा अहिले उत्पादन हुने पिपिसी सिमेन्ट र ओपिसी सिमेन्टमा पुस महिना भित्र लगभग प्रति बोरा एकसय रुपैया भन्दा बढी मूल्य बढेको छ । फलामे छडमा समेत प्रतिकिलो १० रुपैया भन्दा बढि मूल्य वृद्धि भएको देखिन्छ । मूल्यबृद्धिका कारण निर्माणक्षेत्र र भुकम्प पिडितहरु समेत निर्माण भैरहेका संरचनाहरु विचैमा रोक्न बाध्य भएको पाईन्छ । मुल्य समायोजनको क्षेत्रमा भने कसैले ध्यान दिएको देखिदैन ।
निर्माण व्यवसायी तथा उपभोक्ता मूल्य वृद्धिको विरुद्धमा रहेका छन् भने सिमेन्ट उत्पादक संघ भने मूल्य अनुसार मूल्य वृद्धि हुनु जायज भएको बताएका छन् । पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेष अग्रवालले कच्चा पर्दाथ क्लिङकर, जिप्सन, फ्लायर्स, कोइलामा भएको मूल्य वृद्धिका कारण सिमेन्टमा मुल्य बढेको बताए । उनले नेपालमा समेत डिजेल, ढुवानी र विद्युतमा बढेको मुल्यले समेत उत्पादन लागत बढेकाले सिमेन्टमा मुल्यबृद्धि गरिएको बताएका छन् । आफ्नै क्लिङकर उत्पादन भएको नेपालको ठुला सिमेन्ट उद्योग मध्य एक रहेको अर्घाखाची सिमेन्टका महाप्रवन्धक उद्धब कार्कीले समेत मूल्य वृद्धि समय अनुकुल रहेको तर्क दिएका छन् ।
महाप्रबन्धक कार्कीले भारतवाट नेपाल आउने कच्चा पर्दार्थको मूल्य बढ्नुका साथै डिस्टेन्सन चार्ज बढेको, ओभरलोड निषेध र नेपाल आउने कच्चा पदार्थ सहजरुपमा आउनका निधेष रहेको बताए । सिमेन्टको मूल्य बढेसँगै छडमा समेत मूल्य वृद्धि गरिएको छ । अहिले प्रतिकिलो छडमा १० रुपैँया बढेको देखिन्छ भने अन्य निर्माण सामाग्रीहरुले समेत मूल्य बढाएका छन् । निर्माण सामाग्री अन्तर्गत पर्ने बालुवा, गिट्टि,ढुङ्गामा समेत बिचौलियाहरुले मुल्य बढाएका छन् ।
यसरी मुल्यबृद्धिका विषयमा अनुसन्धान र अनुगमन कसले कहाँ गर्ने भन्ने विषय अड्किएको छ । उपभोक्ताहरुले सिमेन्ट र छडको मुल्यबृद्धिमा बैज्ञानिक दररेट खोेजेका छन् भने सरकारी निकाय निष्कृय जस्तै देखिएको छ । विगतमा भारतिय बजारबाट आउने छड सिमेन्ट अहिले भने विभिन्न कारण देखाएर नेपालमा आउन प्रतिबन्ध जस्तै रहेको छ । जसका कारण उपभोक्ताले नेपालमा उत्पादन भएका छड सिमेन्ट बाध्यताले किन्नु परेको छ ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्र दुईदर्जन सिमेन्ट उद्योग र दर्जनको सख्यामा छड फ्याक्ट्री रहेका छन् ।