logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    राज्यले खेलाडीको दायित्व पुरा गर्न सकेको छैन


    १९ माघ २०७४ , शुक्रबार

    राज्यले खेलाडीको दायित्व पुरा गर्न सकेको छैन

    २०३१ साल स्याडजाको बिरुवा गाँउपालिका २ अर्चलेमा बुबा रुद्र बहादुर थापा र आमा लुद्री थापाको कोखबाट जन्मिएका उमेश थापा ‘लाटोमगर’ को उपनामले पनि सबैमा चिनिन्छन् । विद्यार्थीकाल देखि राजनीतिमा लागेका थापा भैरहवा बहुमुखी क्यापस स्ववियु उपसभापति समेत भएका थिए । थापा खेलकुद, साहित्य,राजनीति, व्यवसाय, समाजसेवालाई सँगै लिएर हिडेका छन । गएको स्थानिय निर्वाचनमा सिद्धार्थनगर–८ बाट अत्यधिक मत ल्याएर वडा सदस्यमा समेत निर्वाचित भएका थिए । खेलकुद बाट नै राष्ट्रको पहिचान गराउन सकिन्छ भन्ने मान्यता राख्ने थापा हाल जापान गोजुरियो कराते मिसन डो रुपन्देहीका अध्यक्ष समेत हुन् । थापासँग खेलकुद लगायतका सेरोफेरोमा रहेर अरुण ज्ञवालीले गरेको कुराकानी ः

    उमेश थापा “लाटोमगर’                                                                                                                                                                               अध्यक्ष (जापान गोजुरियो कराते मिसन डो रुपन्देही)

    आरामै हुनुहुन्छ ?
    – आरामै छु । मानिस बिहान निद्राबाट ब्यूँझदा, उठ्दा जिउँदो रहनु नै बाँच्नु रहेछ क्यारे, त्यसैले आरामै बाँचिरहेको छु भन्नुप¥यो ।

    हिजो आज केमा व्यस्त हुनुहुन्छ ?
    –खासै व्यस्तता छैन, दैनिक दिनचर्या एकातिर अवश्य छन् र पनि स्थानीय स्तरमा एउटा सचेत नागरिकको हैसियतले राजनीति, समाजसेवा जीवनको अर्को पर्याय बनिरहेको छ । जनजीवनका सामाजिक उत्तरदायित्व, सिलसिला र एउटा पृथक पहिचान बनाउने निरन्तरताको यात्रामा अगाडि बढ्दैछु ।

    स्थानीय नेता व्यवसायी हुँदै खेलकुद क्षेत्रतिर कसरी आकर्षित हुनुभयो ?
    –एउटा कर्मठ नागरिकको हैसियतले समाज, राष्ट्रप्रतिको हाम्रो भूमिका अहम् छ । जीवनको सम्भाव्यता खोज्ने यात्रामा एउटा व्यक्ति व्यवसायी समाजसेवी र राजनीतिज्ञ हुनु स्वाभाविक छ । त्यसैले यी आयामहरुमा खेलकुद पनि एउटा अक्षुण पक्ष हो । खेलकुद क्षेत्रतिरको आकर्षण पनि एउटा जिम्मेवारी हो, सामाजिक उत्तरदायित्व पनि हो । त्यसैले म खेलकुद तर्फ आकर्षित हुनु स्वाभाविक हो ।

    हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न दक्षिण एशियाली कराँते तथा किक बक्सिङमा नेपालले पाएको सफलतालाई कसरी लिनुभएको छ ?
    –विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हाम्रो टिमले अपेक्षाकृत शत प्रतिशत सफलता हात पार्न सफल भयो ।
    राष्ट्रको स्वाभिमान, खेलाडी हुनुको आत्मसम्मान र गौरव अक्षुण राख्न हाम्रो टिमका सबै सहभागी खेलाडीहरुले सर्वोत्कृष्ट लगनशीलता प्रदर्शन गरे । विदेशी भूमिमा नेपालको राष्ट्रिय ध्वजा (झण्डा) राष्ट्रिय गान (धुन) सहितको सभ्य र भव्य समारोहमा नेपाली हुनुको गौरव सहितको मार्च पास हाम्रो लागि पक्कै पनि अविस्मरणीय आत्मसन्तुष्टि मिलेको थियो । त्यसैले सो प्रतियोगितामा नेपालले पाएको सफलताले राष्ट्र, राष्ट्रियता र स्वाभिमानको शिर उँचो बनाउने एउटा आयाम थियो भन्ने हिसाबले लिएको छु ।

    तपाइको नेतृत्वमा गएको टोलीले ठूलो सफलता पाउँदा कस्तो महशुस गर्नुभएको छ ?
    –यो सफलता स्वाभाविक थियो । माथि पनि भनिसके कि विगतदेखि नै हामीले भारतीय भूमिमा भएका यस्ता प्रतियोगितामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छौँ, आज पनि यो सम्भव भयो । यतिले मात्र हामी दङ्ग र फुरुङ्ग पक्कै छैनौँ । यसलाई आगामी दिनमा पनि अझ उत्कृष्टताको शिखरमा पु¥याउने थप जिम्मेवारी र दायित्वको रुपमा लिएको छु ।

    अन्य मुलुकमा राज्यले खेलकुदलाई निकै प्राथमिकता राख्दछन् । नेपालमा राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
    –राष्ट्रलाई विश्वका राष्ट्रहरु माझ पहिचान गराउने माध्यम मध्ये खेलकुद पनि एक हो । त्यसैले खेलकुदलाई सबै राष्ट्रहरुले आफ्नो आफ्नो हैसियत र तहसम्म प्राथमिकता राख्ने गरेको पाइन्छ । र नेपालमा पनि यसको आफ्नै निकाय छ । ती निकाय मार्फत राज्यले खेलप्रति सक्दो प्राथमिकतामा राखेको पाइन्छ तर पनि त्यस्ता प्राथमिकता पर्याप्त भने पक्कै छैनन् । “अधिकार सबैले खोज्ने त्यो अधिकार आफू सम्म आइपुगोस् तर तल्लो तहमा नपुगोस्” भन्ने प्रवृत्तिले हाम्रो मोफसलका खेल जगत सँधै पिल्सिनुपर्ने अवस्था छ ।

    तपाई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । यस क्षेत्रको खेलकुदको विकासमा यहाँको भूमिका कस्तो रहनेछ ?
    –हो, म स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधि हुँ । मैले आफ्नो पदीय हैसियत अनुसार के कति खेलकुदमा योगदान गर्न सक्छु । त्यो तपशिलको विषयहरु हुन् । मेरो पदीय हैसियत भन्दा पनि मैले म आफू को हुँ र के गर्नुपर्छ भन्ने कुरा बुझेको छु । एउटा उर्जाशील सचेत नागरिकको हैसियतले पनि या खेलकुद प्रति स्थानीय÷राष्ट्रिय स्तरका सरकारी निकायको भूमिका तुलनात्मक रुपमा समान हुन सकेको छैन । खेलकुदको स्तर हैसियत अनुसार ती निकायको स्पष्ट नीति दृष्टिकोण हुनुपर्छ । म यी यस्ता नीतिगत अस्पष्टतालाई खेल र खेलाडी मैत्री नीति निर्माणको पक्षमा अहोरात्र क्रियाशील रहनेछु ।

    यस क्षेत्रमा कराँते र किक बक्सिङ्गको अवस्था कस्तो छ ?
    –मार्सल आर्ट अर्थात कराँते र तेक्वान्दो खेल र खेलाडीले नै नेपालको खेल क्षेत्रको नाम उँचो राखेको छ भन्दा अतियुक्ति होला किनकी नेपालमा बढी खेलिने खेल र खेलाडीहरु मार्सल आर्ट नै हो । तपाई हेर्नुस्, अन्तर्राष्ट्रिय स्तरमा खेलिने मार्सल आर्ट प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गरी धेरै भन्दा धेरै गोल्ड मेडल जित्न सफल खेलाडीहरु यही कराँतेमा छन् । यसर्थ कराँते र किक बक्सिङ्गको अवस्था राम्रो मात्र नभई उज्जवल छ ।

    खेलकुदमा भविष्य नदेखेर खेलाडीहरु विदेश पलायन भइरहेका छन् नी ?
    –हो, खेलकुदमा आबद्ध खेलाडीले आफ्नो भविष्य सुरक्षित गर्न सक्ने अवस्था नेपालमा छैन । भोको पेटले आफ्नो स्वर्णिम इतिहास रचेको खेलकुद क्षेत्रमा कहाँ होला र ? तर पनि खेलाडी प्रति राज्यले गर्नुपर्ने न्यूनतम दायित्व पनि पूरा गर्न सकेको छैन । त्यसैले केही खेलाडीहरु विदेश पलायन भइरहेका पनि छन् । या एउटा सोचनीय विषय हो । तरपनि खेलाडीहरुले सँधै अभाव हीनताबोधको लघुताभासमा पिल्सिएर खेलकुदमा लागेर केही हुँदैन भनी विदेश पलायन हुनु भनेको आफ्नो जिम्मेवारी, उत्तरदायित्वबाट भाग्नु हो, लाचारीपन हो । सबभन्दा ठूलो हुनु र नहुनु बीचको व्यवस्थापन गर्दै जङ्घार तर्ने मनोविज्ञान खेलाडीहरुमा जागृत गराउन सक्नुपर्छ र नेपालमै खेल क्षेत्रमा उनीहरुलाई आफ्नो पसिना सिँचेर रमाउन सक्ने उचित वातावरण बनाउन प्रोत्साहित गर्नुपर्छ र यो तपाई हामी जस्ता सचेत नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनु जरुरी छ ।

    अन्त्यमा, लुम्बिनीखबर मार्फत केही भन्नु छ कि ?
    –अन्त्यमा, लुम्बिनीखबरल खेलकुद क्षेत्रलाई पनि स्थान दिने गरेकोमा धन्यवाद दिन चाहन्छु साथै भविष्यमा पनि यसरी न खेल र खेलाडीहरुको विविध विषयमा कलम चलाओस् र खेल र खेलाडीहरुको मनोवृद्धि गरोस् भन्न चाहन्छु । मार्सल आर्ट मानिसलाई अनिवार्य रुपमा चाहिने खेल हो, यो खेलमा सबैलाई आबद्ध हुन आह्वान गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.