logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कसले नियन्त्रण गर्ने “टिप्पर आतंक” ?


    २२ माघ २०७४ , सोमबार

    कसले नियन्त्रण गर्ने “टिप्पर आतंक” ?

    लुम्बिनीखबर
    भैरहवा, माघ २२ । ‘टिप्पर पछाडि देख्यो कि सातो नै जाने । लौन कसले हो नियन्त्रण गर्ने ? योगीकुटीबाट छुटेको अर्को साधन जानकीनगर नपुग्दै ऊ भने ड्राइभरटोल क्रस गरिसक्छ ।’ पत्रकार भगवती पाण्डेले सामाजिक सन्जालको चल्तीको माध्यम फेसबुकमा स्टाटस् लेखिन् । त्यसको केही घन्टा पछाडि बुटवलका युवा राजनीतिकर्मी विकास जंग बस्नेतले टिप्परबाट आतंकित भएको भन्दै अर्को फेसबुके स्टाटस लेखे, ‘अब बाइक, कारको काम छैन । टिप्परहरुसँग बच्न डोजर वा क्रेन लिएर हिँड्नुपर्ने भो ।’

    बितेको ७२ घन्टाभित्र फेसबुकमा अपडेट गरिएका यी प्रतिनिधिमूलक २ प्रतिक्रियाले रुपन्देहीका सडकमा चल्ने टिप्परले सबैलाई त्रसित बनाएको स्पष्ट हुन्छ । बुटवल भैरहवाको व्यस्त सिद्धार्थ राजमार्गमा अहिले दैनिक अढाई सय भन्दा बढी टिप्पर चल्ने गर्दछन् । चुनढुंगा, माटो, बालुवा, गिट्टीले ओसारपसार गर्ने टिप्परको गति अत्यन्तै बढी हुने गर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दक्ष कुमार बस्नेतले टिप्परको अत्यधिक गतिले प्रहरी चेकिङमा समेत खतरा सृजना गरिरहेको बताए । उनले भने ‘स्पिड अत्यधिक हुन्छ , प्रहरीले चेकिङ गर्दा पनि जोखिम मोलेर गरिरहेको छ । ’

    प्रहरी निरीक्षक बस्नेतले ट्राफिकको रेकर्डमा सडकमा ट्राफिक नियम उल्लङ्घन बढी गर्नेमा पनि टिप्पर नै भएको बताउँदै कारबाही पनि गरिरहेको बताए ।

    भैरहवा बुटवल सडकखण्डमा मंसिर २३ गते लु २ ख ८०७ नम्बरको टिप्परले ठक्कर दिँदा कटैया चोकमा २७ वर्षीय रमेश चाईको मृत्यु भयो । पौष २ गते बुटवलको अस्पताल लाइन अगाडि टिप्परले ठक्कर दिदा बुटवल बहुमुखी क्याम्पसका पूर्व स्ववियु उपसभापति तथा सन्चारकर्मी दल बहादुर भण्डारीको मृत्यु भयो । यही माघ ११ गते ड्राइभरटोलमा लु १ ख ९८३८ नम्बरको टिप्परले ठक्कर दिँदा ८० वर्षीय विष्णु भट्टराईको मृत्यु भयो ।

    यसरी हरेक महिना टिप्परकै कारण अनाहकमा मान्छेहरुले ज्यान गुमाउँदै गएका छन् । तर फितलो कानुनको कारण मान्छे मार्ने टिप्पर चालकहरु सहजै उम्किरहेका छन् ।

    भैरहवा बुटवलका सडकमा चल्ने चुनढुंगा बोकेका अधिकांश टिप्परको स्पिड नियन्त्रण नहुनु नै दुर्घटनाको मुख्य कारण हो । भैरहवा लुम्बिनी औद्योगिक करिडोरमा रहेका सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुंगा ओसार पसार गर्ने टिप्पर होऊन् वा विभिन्न निर्माणको काममा प्रयोग हुने तथा क्रसर जन्य पदार्थ बोकेका एवं खाली टिप्पर सबैको गति अत्यधिक हुने गर्दछ ।

    ‘टिप्परहरुले ब्रेक नै हान्दैनन्, खाली हर्न बजाउँदै दौडाउँछन् । सडक वारपार गर्दा पनि ज्यानै जाला भन्ने डर’ नयाँसडकमा होटल व्यवसाय गर्दै आएका माधव पौडेलको जस्तै धेरै मान्छेहरुको डरत्रासको भनाई यस्तै छ ।

    एक जना टिप्पर चालकले नाम नबताउने शर्तमा भने ‘जति धेरै ट्रिप हान्यो उति धेरै भत्ता पाइन्छ, त्यसैले दौडाउनै पर्दछ । नत्र पर्ता नै पर्दैन ।’
    स्रोतका अनुसार केही टिप्पर चालकहरुको सवारीचालक अनुमति पत्र समेत छैन । भैरहवा बुटवल सडकमा चल्ने कयौँ टिप्परको कागजपत्र पनि दूरुस्त नभएको बुझिएको छ । स्पिड, काजगपत्र फेल र अन्य गल्ती कमजोरीलाई छल्न टिप्पर व्यवसायीले मासिक रुपमा टिप्पर नियमक निकायलाई सहयोग गर्ने गरेको बुझिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.