logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    खाना पकाउने ग्यासमा कालोबजारी


    २० फाल्गुन २०७४ , आइतबार

    खाना पकाउने ग्यासमा कालोबजारी

    भैरहवा, २० फागुन । खाना पकाउने ग्यासमा सरकारले तोकेको मूल्य भन्दा बढीमा बिक्री गर्दै व्यापारीहरुले कालोबजारी गरेका छन् ।

    विगत समयदेखि रुपन्देहीका ग्यास विक्रेताहरुले सरकारले तोकेको मूल्य भन्दा बढीमा खाना पकाउने ग्यास विक्री गरिरहेको उपभोक्ताहरुको गुनासो रहेको छ । जसको अनुगमन र कारबाही नहुँदा उपभोक्ताहरु मारमा परेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

    सरकारले रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १३ सय ५५ तोकेपनि व्यापारीहरुले १३ सय ७५ देखि १४ सय १० सम्म लिने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

    ग्यास डिलरहरुले सरकारले तोकेको मूल्यमा नै उपभोक्तालाई विक्री वितरण गर्नु पर्ने बाध्यता भएपनि यहाँका व्यापारीहरुले २० रुपँैया देखि ५५ रुपैया सम्म बढी नाफा खाएर ग्यास विक्री गर्दा पनि स्थानीय प्रशासन भने मौन देखिन्छ । राज्यले तोकेको नियम विपरीत व्यापारीहरुले मनोमानी ढंगले ग्यासमा कृत्रिम मूल्य राखेर बेच्नु गलत भएको उपभोक्तावादीहरु बताउँछन् ।

    व्यापारीहरुले जे गरेपनि छुट दिनु कानुनी राज्यको खिल्ली उडाउनु हो, प्रशासनले अनुगमन र कारबाही नगर्दा समस्या निम्तिएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही बताएको छ ।
    रुपन्देहीमा दैनिक २० हजार ग्यास सिलिन्डरको खपत रहेको छ । यहाँ स्वस्तिक ग्यास, सिद्धार्थ ग्यास, त्रिशुल ग्यास र बुटवल ग्यास उद्योग रहेका छन् । उद्योगहरुले सबै क्षेत्रमा आ– आफ्ना डिलर राखेका छन् ।

    उद्योगले उत्पादन गरेको ग्यास डिलरहरुले सरकारले तोकेको मूल्यमा विक्री गर्नुपर्ने बाध्यकारी नियम भएपनि यसको पालना भने कसैले गरेका छैनन् । नेपालको कानुनमा सरकारले मोल निर्धारण गरिदिएको वस्तु व्यापारीले बढी मूल्य लिई कसैलाई विक्री गरेमा सो बस्तुको बढी मुल्य फिर्ता गराई वस्तु जफत गरी निजलाई १० वर्ष सम्म कैद तथा जरिवाना हुने व्यवस्था गरेको छ । जसमा कालोबजारी ऐन आकर्षित हुने गर्दछ ।

    नेपालको संविधान २०७२ को धारा ४४ ले उपभोक्ता हक सम्बन्धी व्यवस्था समेत गरेको छ । जसमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धात्मक व्यापारको परिकल्पना देखिन्छ ।
    राज्यको कानुन विपरीत गर्नेहरुलाई कारबाही गर्ने निकायहरु जिल्लामा रहेपनि यसरी कालोबजारी र बढी नाफाखोरहरुलाई स्वतन्त्र छोड्दा आम उपभोक्ताहरु मारमा परेका छन् ।

    सरकारले तोकेको मूल्यमा कसैले ग्यास मागेमा व्यापारीहरुले ग्यास नभएको भन्दै फर्काउने गरेका छन् । व्यापारीले तोकेको मूल्यमा ग्यास मागेमा भने सहजै पाईने गरेको आम उपभोक्ताहरुको गुनासो रहेको छ ।

    अहिले रुपन्देहीमा ग्यास डिलरहरुले संस्थागत मुल्य १३ सय ७५ राखेका छन् भने भाडा तथा ढुवानी चार्ज भनेर थप २५ देखि ३० रुपैँया लिने गरेका छन् ।

    यस विषयमा बजार अनुगमन समितिका जिल्ला प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले अनुगमनलाई तीव्रता दिने र बढी मूल्य लिने व्यापारीलाई कडाईका साथ कारबाही गर्ने बताएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.