कमल रायमाझी
भैरहवा, २४ फागुन । नेपालमा कानुनले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन गर्नेहरुको संख्यामा वृद्धि भएको छ । गर्भपतन गर्नेहरु प्राय १५ वर्ष देखि ४० वर्ष उमेर समूहका महिलाहरु रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

सुरक्षित गर्भपतनका लागि कानुनले तोकेको अवस्था र गर्भवती महिलाको मञ्जुरीमा गर्न पाईने व्यवस्था रहेको छ । गर्भवती महिलाको इच्छाले १२ हप्ता सम्मको गर्भपतन गर्न पाईन्छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भवती महिलाको ज्यान खतरा भए, शारीरिक, मानसिक स्वस्थ्यमा असर भएमा, विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा चिकित्सकको सल्लाहले जुनसुकै अवस्थामा पनि गर्भपतन गर्न सक्ने नेपालको कानुनी व्यवस्था रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
सरकारले तोकेका स्वास्थ्य संस्थाहरुले गर्भपतन गराउँदा मेडिकल एबोर्सन र सर्जिकल एबोर्सनको विधिबाट गर्ने गरेको जिल्ला जनस्वास्थ्य रुपन्देहीकी सुरक्षित मातृत्व फाँट प्रमुख निरमाया के.सी.ले जानकारी दिइन् ।
के.सी. का अनुसार – सामान्य र कम समयको गर्भलाई मेडिकल एर्बोसन या औषधी खुवाएर गरिन्छ भने जटिलले र १२ हप्ता नजिक पुगेको गर्भलाई सर्जिकल एर्बोसन या अप्रेसन प्रकृयाबाट गर्ने गरिएको छ । रुपन्देहीमा गर्भपतन गराउने २२ वटा वैैधानिक स्वास्थ्य संस्थाहरु रहेका छन् । जुन जिल्लाका प्रायः स्थानीय निकायहरुमा छन् । अवैधानिक रुपमा स्थानीय क्लिनिकहरुमा समेत गर्भपतन गराउने गरिएको छ ।
गर्भपतन गराउनका लागि महिलाले आफू विवाहित या अविवाहित भन्ने कुरा सोध्न या भन्न नपर्ने भएकाले पनि स्थानीय स्वास्थ्य संस्थाहरुमा धेरै महिलाहरु गर्भपतनका लागि आउने गरेका छन् ।
रुपन्देहीमा आर्थिक वर्ष २०७३÷०७४ मा ११ सय ५ जना गर्भवती महिलाले गर्भपतन गराएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो आर्थिक वर्ष २०७४÷०७५ माघ सम्ममा लगभग ६ सय जनाले गर्भपतन गराएका छन् ।
गर्भपतन गराउने नीजि क्लिनिकको संख्या र औषधी सेवन गरी गर्भपतन गराउने महिलाहरुको संख्या पनि निकै धेरै हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । १५ देखी २० बर्ष उमेरका युवतीहरुको सख्या समेत गर्भपतन गराउनेमा बढदो देखिन्छ । प्लस टु पढ्ने किशोरीहरु समेत गर्भपतन गराउने औषधी सेवन गर्ने र मिठाई खाए जस्तै ७२ घण्टे पिल्स सेवन गर्ने गरेको भैरहवामा रहेका एक नीजि क्लिनिकका सञ्चालन बताउँछन् ।
युवतीहरुले धेरै पटक ७२ घण्टे पिल्स सेवन गर्दा र गर्भपतन गराउदा भविष्यमा बासोपन आउन सक्ने तथा पाठेघरमा प्याल पर्न सक्ने सम्भावना रहेको प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. ज्याला थापाले जानकारी दिईन् ।
जिल्लाको भीम अस्पतालमा कार्यरत डा. थापाले कम उमेरमा गर्भपतन र ७२ घण्टे पिल्स सेवनले युवतीहरुलाई विभिन्न प्रकारका प्रजनन सम्बन्धी रोग लाग्न सक्ने र हर्मोनको गडबढीले भविष्यमा समस्या निम्ताउन सक्ने बताईन् ।
त्रिभुवन विश्व विद्यालयका सहप्रध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले बढ्दो गर्भपतन समाजका लागि घातक रहेको औल्याउँदै विकृति निम्त्याएको बताउँछन् । उनले स्वच्छ नागरिकले स्वच्छ समाज निर्माण गर्न सक्ने भन्दै नयाँ पुस्तामा यौन शिक्षाको आवश्यकता रहेको बताए । समाज परिवर्तनसँगै मानिसमा देखिएको खुल्ला यौनले अहिले समस्यामा पारेको छ ।