लुम्बिनीखबर
भैरहवा, चैत १५ । उद्योग व्यापार संगठन रुपन्देहीको नयाँ नेतृत्वमा नारायण भण्डारी दोहोरिने सम्भावना देखिएको छ । संगठनको ११ आँै साधारण सभा तथा ६ औ अधिबेशनले बर्तमान अध्यक्ष भण्डारीलाई सर्र्वसम्वत रुपमा नेतृत्वमा पुनः निर्वाचित गर्ने निर्णय भएको उद्योग व्यापार संगठनको सचिवालयले जनाएको छ ।

यही चैत १७ गते हुने साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम भएपनि भण्डारीलाई पुनः एक कार्यकालका लागि अध्यक्षमा पठाउने गोप्य सम्झौता गरिएको उद्योग व्यापार संगठनको आन्तरिक स्रोतले जानकारी दिएको छ । संगठनका उपाध्यक्ष तथा संस्थापक गिरिश त्रिपाठीले अध्यक्षमा दाबी गरेपनि भण्डारीले थप एक कार्यकाल लागि नेतृत्व लिन खोजेपछि सहमति जुटेको हो ।
भण्डारीले अगाडि सारेका नयाँ योजना पुरा गर्नका लागि पनि अध्यक्ष बनाउनुपर्ने बाध्यता संगठनको रहेको छ ।
भण्डारीले आगामी कार्यकालका लागि अध्यक्ष भएमा संगठनलाई एक कठ्ठा जग्गा सहितको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ आर्थिक विकासमा व्यवसायीहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उद्योग व्यापार संगठनका एक सदस्यले बताए ।
उनका योजनाहरु संस्था र व्यवसायीहरुको हितमा हुने भएकाले थप कार्यकालका लागि नेतृत्व दिने आन्तरिक सहमति भएको भन्दै उद्योग व्यापार संगठनको सचिवालयले भण्डारी अध्यक्ष भएमा संस्थाको आर्थिक सबलता, भवन निर्माण , सदस्य संख्यामा वृृद्धि र संगठन बलियो बन्ने विश्वास लिएको जनाएको छ ।
अध्यक्षमा भण्डारी सहित वरिष्ठ उपाध्यक्षमा गिरिश त्रिपाठी, वाणिज्य उपाध्यक्षमा दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामचन्द्र रेग्मी, महासचिवमा अनिल ज्ञवाली, सचिवमा सचिन रोक्का, सह–सचिवमा राममिलन यादव र कोषाध्यक्षमा टिकाराम भट्टराईलाई सर्र्वसम्मत चयन गर्ने गोप्य सम्झौता समेत भएको स्रोतले जानकारी दिएको छ ।
कार्यसमिति सदस्यहरुमा भने सर्वसम्मतको प्रयास जारी रहेपनि सहमति जुट्न नसकेकाले निर्वाचन हुने देखिएको छ । सर्वसम्मतको सहमति अनुसार १५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने समय भएकाले गोप्य सम्झौता अनुसार पदाधिकारीहरुले उम्मेदवारीको मनोनयन दर्ता गर्ने छन् ।
गोप्य सहमति भंग भएमा भने गिरिश त्रिपाठी र नारायण भण्डारीको फरक फरक नेतृत्वमा छुट्टा छुट्टै प्यानलले उम्मेदवारी दर्ता गर्ने देखिएको छ । यस बिषयमा बुझन संगठनका अध्यक्ष भण्डारीको सम्पर्क नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उहाँले फोन उठाउन सक्नुभएन ।
संगठनका उपाध्यक्ष त्रिपाठी भने निर्वाचन र प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्दा विभाजनको मानसिकतामा पुगिने भएकाले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास रहेको बताउँछन् । उनले सहमति सहकार्यमा उद्योग व्यापार संगठन अगाडि बढेको बताउँदै आगामी दिनमा पनि यसले उद्योगी व्यापारीहरुको पक्षमा काम गर्न एकता महशुष गरेको बताए ।
संगठनका महासचिव अनिल ज्ञवाली पनि संगठन बलियो बनाउन र उद्योगी व्यापारीहरुको पक्षमा काम गर्ने बलियो र सशक्त संस्था उद्योग व्यापार संगठन भएकाले आगामी अधिवेशनले यसलाई अझ मजबुत पार्ने बताए ।
विक्रम सम्वत २०६३ सालमा मनिष जोशीको नेतृत्वमा स्थापना भएको यो संस्थाले हाल सम्म यस क्षेत्रमा रहेका उद्योगी व्यापारी तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । व्यापार प्रवर्धन तथा बजारीकरणका लागि उल्लेखनीय काम गर्दै आईरहेको संगठनमा नयाँ नेतृत्वसँगै थप जागरुकता थप्ने आशा समेत राखिएको छ ।
एमाओवादी केन्द्र निकट रहेर अगाडि बढेको यो संगठन विस्तारै स्वतन्त्र र सबैको स्वीकार्य संस्थाको रुपमा हाल रहेको छ । स्वतन्त्र संस्थाका रुपमा विभिन्न गोष्ठी सेमिनार तथा अन्तत्र्रिmया गराउँदै आएको संगठनले पर्यटन, कृषि तथा औद्योगीकरणलाई प्राथमिकतामा राखेर काम गरेको देखिन्छ ।