logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    संगठित अपराधमा दलका नेता कार्यकर्ता


    ६ बैशाख २०७५ , बिहिबार

    संगठित अपराधमा दलका नेता कार्यकर्ता

    अरुण ज्ञवाली
    भैरहवा, ६ वैैशाख । रुपन्देहीको देबदहका दुर्गा तिवारी हत्या काण्डमा सत्ता साझेदार दुई दल नेकपा एमाले र माओबादीको नेता कार्यकतार्नै समलग्न भएको पुष्टी भएपछि सत्ता साझेदार दल भित्रै हलचल मच्चिएको छ ।

    रुपन्देही प्रहरीले तिवारी हत्या काण्डमा संलग्न जो कोही भए पनि नछाडिने बताए पछि राजनैतिक दल र कार्यकर्तामा तरङ्ग पैदा भएको छ । एमाले नेता तथा कार्यकर्ता उत्तम आचार्य र माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पक्राउ परेपछि राजनैतिक तरङ्ग पैदा भएको हो ।

    आपराधिक घटना नियन्त्रणमा ‘ब्रेक थ्रु’ गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुण्डा नाइके मनोज पुनका मुख्य सहयोगीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

    मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउँदै आएका मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुल्सीराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।

    प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए । राजनैतिक दलका नेता कार्याकर्ता नै हत्या र रकम असुलीमा लाग्ने गरेको आवाज उठने गरे पनि प्रमाणित हुन सकको थिएन तर आचार्य र न्यौपाने पक्राउ परे पछि यसको जालो लामो हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

    उनीहरुले मनोज पुनका लागि सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको उनले बताए । पक्राउ परेका मध्ये उत्तम आचार्य एमालेका सक्रिय कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता हुन् । दुवैको पार्टी केन्द्रीय नेताहरुसँग सिधा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए।

    पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    यसरी भएको थियो हत्या
    दुई बर्ष अघि पुस ४ गते दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु २५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हुँदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए ।

    उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए ।
    देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो ।

    तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद गर्‍यो ।

    सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए ।

    दुर्गा–मनोज यसकारण दुस्मनी
    एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारीलगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए । डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए ।

    दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने ।

    उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.