logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    पीपल चौतारीले जुटाइदियो ३० वर्ष पुरानो दोस्ती


    ३१ बैशाख २०७५ , सोमबार

    पीपल चौतारीले जुटाइदियो ३० वर्ष पुरानो दोस्ती

    अरुण ज्ञवाली
    भैरहवा, वैशाख ३१। नेपालीमा एउटा उखान छ, “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड” । यो उखान अहिले सामाजिक सञ्जाल प्रयोगमा चरितार्थ भएको छ ।

    पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरी फेसबुकको सदुपयोग भन्दा बढी दुरुपयोग भइरहेको छ । फेसबुकमा देखिने छाडा विकृति निकै छाएको छ । फेसबुकबाटै अपराधका धेरै घटना घटिरहेका छन् । फेसबुकमा मौलाएको अपराध, छाडा विकृतिका कारण प्रहरी पनि हैरान छ, तर के साँच्चै फेसबुक र अन्य सामाजिक सञ्जाल विकृतिपूर्ण भएकै हुन् त ? माथिको उखान जस्तै खुर्पाको बिँड नै भएको हो त ? तर होइन फेसबुकलाई प्रयोग गरेर भैरहवाका केही युवाहरुले उदाहरणीय कार्य गरेर फेसबुकलाई श्रीखण्ड बनाएका छन् ।

    ३० वर्षअघि माध्यमिक स्तरको अध्ययन पुरा गरी तत्कालिन श्री ५ इन्द्र राज्यलक्ष्मी मा.विबाट बिदा भएर छुट्टिएका युवाहरु ३० वर्षपछि फेसबुक मार्फत जोडिँदै अहिले आफूले अध्ययन गरेको विद्यालयलाई भौतिक सहयोग गर्न कम्मर कसेर लागेका छन् । वि.सं २०४४ सालमा एसएलसी दिएपछि छुट्टिएका साथीहरु फेसबुक मार्फत जोडिँदै विद्यालयलाई सहयोग गर्न अघि सरेका हुन् ।

    आफूहरुले अध्ययन गर्दा विद्यालय अगाडिको ठूलो पिपलको रुख जसले विद्यालयका विद्यार्थी र शिक्षकलाई एकताको मालामा गाँसेको थियो । फेसबुक मेसेन्जरमा श्याम घिमिरे, दिपेन्द्र प्रधान लगायत जोडिँदै गएपछि श्री ४ इराल मावि गु्रप मेसेन्जर बनाएर आफ्ना साथीहरुसँग उनीहरु जोडिन पुगे । अहिले उनीहरुको समूहमा ७४ जना साथी जोडिएका छन् ।

    फेसबुकलाई हाई, हेल्लोको माध्यम मात्र नबनाई सकारात्मक कार्यका लागि प्रयोग गर्ने सोच राख्दै उनीहरुले आफूहरुले अध्ययन गरेको तत्कालिन श्री ५ इन्द्रराज्यलक्ष्मी मावि हालको रुपन्देही लिलाराम मावि प्राङ्गणमा रहेको जीर्ण अवस्थामा रहेको पिपल बोटको चौतारीको निर्माणमा लागे । जीर्ण अवस्थामा रहेको उक्त चौतारीलाई अहिले उनीहरुले पुनःनिर्माण गरेर चिटिक्क पारेका छन् । करीब २ लाखमा पुनः निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएतापनि काम सम्पन्न गर्दा सम्म ४ लाख ५० हजार रुपैँया लागत लाग्यो ।

    “आफूले अध्ययन गरेको विद्यालय बिर्सन हुँदैन भनेर लाग्यौँ । आज सफल भएका छौँ । ” पूर्व विद्यार्थी दिपेन्द्र प्रधानले भने । विद्यालयमा अध्ययन गरेर गएका धेरै विद्यार्थीहरु स्वदेश तथा विदेशमा रही ठूला पद र व्यवसायमा संलग्न छन् । निर्माण समितिका संयोजक श्याम घिमिरे पनि विद्यालय स्तरको अध्ययनपछि छुट्टिएका साथी सामाजिक सञ्जालले जुटाइदिएको र ३० वर्षपछि भेट भएर विद्यालयका लागि केही गर्न पाउँदा हर्षित भएको बताउँछन् ।

    निर्माण कार्यमा श्याम घिमिरे, दिपेन्द्र प्रधान, चन्द्रभक्त श्रेष्ठ, बलराम शर्माा, शैलेश पन्त, राजिव उदास, जोगिन्दर अग्रहरी, सुमन अधिकारी, अशोक पौडेल, निर्मला खड्का, केशव अधिकारी, शरद विके, ऐन गुरुङ्ग, कुमार थापा, विजया रायमाझी, सोनु गुरुङ लगायत निकै सक्रिय रहे ।

    आफै नै समूहबाट आर्थिक संकलन गरी निर्माण गरेको पिपल चौतारी शनिबार उनीहरुले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रधानाध्यापक गणेश भट्टराईले भूतपूर्व विद्यार्थीहरुले गरेको कार्य उदाहरणीय भएको भन्दै खुशी व्यक्त गरे ।

    हस्तान्तरण कार्यक्रममा आफूहरुलाई ३० वर्ष पहिला पढाएका शिक्षक शिक्षिकालाई समेत उनीहरुले सम्मान गरेका थिए । आफूले पढाएर छुट्टिएका विद्यार्थीहरुले गरेको सम्मान पाउँदा शिक्षक शिक्षिकाहरु समेत भावुक बनेका थिथए । उनीहरुले यस्तो रचनात्मक कार्यले अरु विद्यार्थीहरुलाई पनि शिक्षा र हौसला मिल्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.