logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भन्सार ः अवैध धन्दाको संसार


    ६ जेष्ठ २०७५ , आइतबार

    भन्सार ः अवैध धन्दाको संसार

    नरेश के.सी
    बेलहिया, जेठ ६ । भन्सार प्रज्ञापनपत्रमा आलु प्याज घोषणा गरेर नेपालमा प्रतिबन्धित कुखुराको मासु भित्र्याई भन्सार पास गर्ने भन्सार क्लियरेन्स एजेन्टको लाइसेन्स निलम्बनमा परेको तथ्य ढिला गरी बाहिर आएको छ ।

    सिनपा १ बेलहिया निवासी नवराज उपाध्यायको नाममा रहेको कोड नम्बर ४०५ को भन्सार क्लियरिङ एजेन्टले गएको चैत्र १८ गते युपी ७० बि टि १७७६ नम्बरको कन्टेनर पास गरेको थियो । ४ वस्तुको घोषणा गरी भन्सार प्रज्ञापनपत्र नम्बर ३३८९ मार्फत उक्त कन्टेनर भैरहवा भन्सार कार्यलयबाट चेकजाँच पास भएको थियो ।

    रोशन भन्सार क्लियरिङ एजेन्ट नामक फर्म मार्फत काम गर्दै आएका उपाध्याय यसअघि पनि बारम्बार विवादमा आइरहेका एजेन्ट हुन् । वीरगन्जका काशीराज दाहालको प्रतिनिधिको रुपमा काम समेत गर्ने उपाध्यायले हरियो केराऊ ३५ सय के.जी १ लाख ४७ हजार भारु, २ लाख २५ हजार भारुको ५ हजार के.जी स्वीट कर्न, ५० हजार भारुको २५ सय के.जी पोटाटो कट र ९० हजार भारुको १ हजार केजी ताजा माछा प्रज्ञापनत्रमा उल्लेख गरी पास गरेका थिए । तर उक्त कन्टेनरमा लुकाई छिपाई राखेको ७ हजार के.जी कुखुराको मासु राखिएको चेकजाँचका क्रममा राजश्व अनुसन्धानले फेला पारेको हो ।

    चोरी पैठारी गरी नेपाल भित्राइएको उक्त मासुजन्य पदार्थ र कन्टेनरका अन्य सामान जगत सप्लायर्स काठमाडौंले आयात गरेको थियो ।

    यसरी भन्सारका कर्मचारीलाई समेत झुक्काई सामान पास गर्न माहिर भन्सार एजेन्ट उपाध्याय र उनका सहयोगी सिनपा ३ का मोहिन लारीलाई भन्सारले आवश्यक कारबाही अगाडी बढाएको छ । भैरहवा भन्सारका सूचना अधिकृत कविराम पौडेलका अनुसार उपाध्याय र लारीको एजेन्ट लाइसेन्स निलम्बन गरिएको छ भने उनीहरु दुवै जनालाई जनही ५२ लाख ५८ हजार २ सय ५० रुपैयाँ जरिवाना, गाडीको ५ लाख धरौटी र १ वर्ष कैद तोकिएको छ ।

    तर अभियुक्त दुवैजनाले कैद बापतको प्रतिदिनको ५० रुपैयाका दरले १८ हजार २ सय ५० रुपैया र अन्य जरिवाना गरी प्रतिव्यक्ति जम्मा ५७ लाख ५८ हजार २ सय ५० रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

    यता अभियुक्त नवराज उपाध्यायले सो प्रज्ञापनत्रमा भएको हस्ताक्षर आफ्नो नभएको प्रतिक्रिया दिएका छन् ।

    भैरहवा भन्सारमा बारम्बार एजेन्टहरुको विश्वास पर्दा ठूलो ठूलो चोरी पैठारी भईरहेको घटनाक्रमले देखाएको छ । गएको साउन २६ गते प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ मार्फत लाखौँ मूल्यका मोटरपार्टसको सामान भन्सार हाताबाट नै चोरी पैठारी गर्दै गरेको अवस्थामा मिडिया र अख्तियारले थाहा पाएपछि एक जना अधिकृत र २ जना सुब्बा कारबाहीमा परेका थिए । उक्त घटनामा एजेन्ट जेल समेत गएका थिए । विभागको उच्चस्तरीय टोलीले छानबिन समेत गरेको थियो ।

    यसैहप्ता मात्रै भैरहवा भन्सारबाटै पास भएको ना ७ ख ९३२८ र ना ५ ख ७३८३ नम्बरका ट्रकमा लैजाँदै गरेको अवस्थामा २ वटा अवैध ह्यामर राजस्व अनुसन्धानले नै नियन्त्रणमा लिएको छ ।

    ती दुई ट्रकलाई १० लाख धरौटीमा छोडिएको छ । पछिल्लो समय राजस्व अनुसन्धान प्रधानमन्त्री कार्यालय र भन्सार अर्थ मन्त्रालय अन्तर्गत भएपछि चेकजाँचमा पनि कडाई हुन थालेको छ । पहिले यी दुवै कार्यालय अर्थ मन्त्रालय मातहत थिए ।

    सामान आयातका दृष्टिले मधेस आन्दोलन पश्चात नेपालकै ठूलो भन्सार नाकाको रुपमा दरिन सकेको भैरहवा भन्सारमा वैज्ञानिक प्रविधिको चेकजाँच प्रविधि अपनाउनु जरुरी देखिएको छ । भन्सारमा दैनिक सयौँ मालवाहक सवारी साधन आउने र सबैको सामान खोलेर चेकजाँच गर्न गाह्रो हुने हुँदा एजेन्टको विश्वास र नमुनाको आधारमा चेकजाँच गरी पठाउँदा बारम्बार समस्या आइरहेको भन्सार प्रमुख भुपालराज शाक्यले स्वीकारे ।

    उनले भने ‘हामीसँग भएको सबै शक्ति लगाएर चेकजाँच गरिरहेका छौँ अवैध काम नहोस् भन्नेमा छाँै तरपनि त्यस्ता काम भएको पाइएको छ । यसले साँच्चिकै मलाई दुखी बनाएको छ । म गलत गर्नेलाई कारबाही गर्न हिचकिचाउनेवाला छैन । सुधार गरिरहेका छौँ । ’ गलत काम गर्ने अनि धरौटी बापत रकम तिरेर उम्कने प्रवृतिले गर्दा अवैध कारोबारीहरुमा निरुत्साहन देखिँदैन । उनीहरु झन् पछि झन् ठूला आर्थिक तथा किर्ते गरी भन्सारलाई नै ठग्न र झुक्याउन तम्सीरहेका देखिन्छन् ।

    माफीयाहरुको चंगुलमा भन्सारका कर्मचारी दबाब र प्रभावमा परेको देखिन्छ । अवैध कारोबारीहरुको बोलवाला बढ्दा इमान्दार भन्सार एजेन्टहरु भने मारमा परेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.