लुम्बिनीखबर
भैरहवा, १७ जेठ । २०७३ चैत्र ३ गते कार्यादेश पाई २०७४ साल जेठ १५ गते भित्र कार्य सम्पन्न गर्नेगरी भीम गंगा निर्माण सेवाले सिद्धार्थनगरपालिका वडा नम्बर १२ को भीमकाली पथमा सडक तथा नाली निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

३७ लाख ५९ हजार ३ सय २८ रुपैयां ३ पैसाको लागतमा निर्माण सम्पन्न गर्ने ठेक्का पाएको उक्त कम्पनीले कार्य सम्पन्न गर्ने लिखित प्रतिबद्धता गरेको एक वर्ष बितिसक्दा समेत कार्य सम्पन्न गरेको छैन । भैरहवाको बीच भागमा रहेको उक्त भीमकाली पथमा अहिले पनि २ वर्ष अघि झारिएका इट्टा, बालुवा र माटो यत्रतत्र छरिएका छन् ।
स्थानीय बासिन्दाले समयमा काम सम्पन्न गर्न बारम्बार सिद्धार्थनगरपालिकामा दबाब दिएको भएता पनि निर्माण व्यवसायीले राजनीतिक शक्तिको भरमा कसैलाई टेरेका छैनन् । नेपाली कांग्रेस रुपन्देहीका जिल्लाका पदाधिकारी समेत रहेका निर्माण व्यवसायी विशेश्वर प्रसाद बस्यालको नाममा रहेको उक्त निर्माण सेवाले समयमा काम सम्पन्न नगर्दा स्थानीय निराश समेत बनेका छन् ।
बस्याल मात्रै होइन ४ वर्ष अघि कार्य सम्पन्न गर्नुपर्ने रमजान ठेकेदारको तनु निर्माण सेवाको सिनपा १२ मा रहेको जनतापथ नाला निर्माण सेवाको काम पनि त्यतिकै अलपत्र परेको छ । डेढ वर्ष अघि सम्पन्न हुनुपर्ने सिनपा १ को सितापथ सडक तथा नाला निर्माणको योजना पनि यत्तिकै परेको छ । उक्त योजना हफीज मुसलमानको सफीक निर्माण सेवाले पाएको थियो । ठेकेदारहरुले रनिङ बिल भन्दै नगरपालिकाबाट रकम भने लगिसकेको देखिएको छ ।
सम्झौता अनुसार काम नगर्ने तर रकम भने लैजाने ठेकेदारहरुलाई कारबाही प्रक्रिया अगाडि बढाईएको नगरपालिकाका योजना प्रमुख ईञ्जिनियर जीवन अर्यालले बताए । उनले भने ‘हामीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई ताकेता गदै पत्र समेत काटेका छौं । ’
सिनपमा क्षेत्रीय शहरी विकास आयोजना( आरयुडिपी), एकिकृत शहरी विकास आयोजना – आइयुडिपी) र नगरपालिकाका गरी ३ वटा कार्यक्रम मार्फत सडक र नाला निर्माणको काम चलिरहेको छ । क्षेत्रीय शहरी विकास आयोजना – आरयुडीपि ) मार्फत डेढ अर्बको सडक र ढल निर्माणको काम शर्मा एण्ड कम्पनिले गरिरहेको छ भने आईयुडिपी अन्र्तगतको काम सबै पुरा भएता पनि ३२ करोड बजेटको ल्यान्डफीलको साइटको काम शुरु समेत हुन सकेको छैन ।
यसैगरी नगरपालिका क्षेत्रमा १६ करोड बराबरको ५२ वटा योजना सन्चालित छन् । ती योजनाको काम मध्ये ३२ वटा योजना जेठ १५ गते भित्र निर्माण सम्पन्न भईसक्नेगरी कार्यदेश पाई सम्झौता गरेको भएता पनि अधिकांशले सम्झौता अनुसार काम नगरेकोले आवश्यक कारबाहि थालिएको नगरपालिकाले जनाएको छ ।
ठेक्का सम्झौता गरेर समयमा काम सम्पन्न नगर्नेमा क्रान्ती निर्माण सेवा सिनपा २, लक्ष्मी निर्माण सेवा सिनपा १३, पोखरेल निर्माण सेवा दयानगर ३ र न्यू अम्बे निर्माण सेवा सिनपा १२ रहेका छन् । जिल्ला प्रशासन कार्यलय रुपन्देहीले गृह मन्त्रालयको निर्देशानुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची तयार पारिरहेको बताएको छ । गृहले कारबाहि प्रक्रिया शुरु गरेकोभएतापनि रुपन्देहीमा समय सीमा भित्र काम सम्पन्न नगर्ने ठेकेदारहरु गृह प्रशासनलाई चुनौती दिँदै कानमा तेल हालेर बसेको देखिएको छ ।
समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको सूचि तयार गरिरहेको र केही दिन भित्र कारबाहि प्रक्रियाको थालनी गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले जानकारी दिएका छन् ।
सिद्धार्थनगर ५ नम्बर प्रदेश राजधानी भएको जिल्ला रुपन्देहीको सदरमुकाम हो । पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रीने बेलहिया नाका र विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगरको विकासमा असहयोग गर्ने जो सुकै भएता पनि कारबाहि गर्न नहिच्कीचाउने सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारीले बताएका छन् ।
उनले भनेका छन् ‘ विगतका वर्षमा जस्तै ठेक्का लिने अनि विभिन्न बहाना बनाएर लागत र समय बढाउने परम्परा छ । त्यसलाई तोड्दै काम गर्ने ठेकेदारलाई प्रोत्साहन र समयमा काम नगर्नेलाई कारबाही गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौँ । ’