नरेश के.सी
भैरहवा, २६ जेठ । रातीमा बाहिर निस्कँदा अँध्यारोको कारण कयौं पटक बाटोमा चिप्लिएर खुट्टामा लागेको चोटको घाउको खत देखाउँदै असुरैनाका ६५ वर्षीय दशरथले भने ‘अब यो गाउँमा रातबिरात जत्तिबेला हिँडेपनि सजिलै हिँड्न सकिने भएको छ । ’

हाम्रो क्यामेरा देखेपछि आफै नजिक आएर गाउँको बारेमा स्वतःस्फूर्त रुपमा बताउँदै थिए ७५ वर्षिय रामिदीन पनि । उनका अनुसार वर्षाको समयमा धेरै वर्षा हुँदा सो गाउँ डुबानग्रस्त हुने गर्दथ्यो । रात परेपछि मैदान (दिसापिसाब) गर्न जाँदा होस् वा छिमेकीको घरमा जाँदा आउँदा धेरैलाई सर्पले समेत टोक्ने गरेको छ, विगतमा उक्त गाउँमा । लाईट अनिवार्य चाहिन्थ्यो । तर समय फेरिएसंगै यसैहप्तादेखि रातिमा पनि बाटो चौक उज्यालो भएपछि उनी मात्रै होइन सबै गाउँले पनि दंग छन् ।
सो गाउँमै भेटिएकी एक अक्षराश नामक वृद्धा भन्दै थिईन्, “सोलार लागेपछि धेरै राम्रो भएको छ । धेरैले सोलार बत्तीको उज्यालोमा बसेर साँझको खाना समेत खाने गरेका छन् ।” समरीमाई गाउँपालिका वडा नम्बर ६ का श्रीराम कुर्मीले सोलार लागेसँगै गाउँमा शोभा बढेको बताए । उनले भने “३ दिन अघिसम्म रातीमा गाउँ अँध्यारो थियो अहिले राति दिउँसो उस्तै उस्तै छ ।” भर्खरै एसईईको परीक्षा दिएर बसेका सन्तोष कुर्मीले भने ‘विद्यूतको लाइन त छ तर जत्तिबेला पनि काटिरहन्छ जसले गर्दा हामी जस्ता विद्यार्थीलाई पढ्न समस्या भएको थियो । अब सोलार लागेपछि लाइन काटेपनि फरक पर्दैन । ’
रुपन्देहीको दक्षिणी ग्रामिण क्षेत्र मर्चवारको समरीमाई गाउँपालिकामा सोलारबत्ती जडानसँगै उज्यालो अभियान शुरु भएसँगै स्थानीयको प्रतिनिधिमूलक अभिव्यक्ति हुन् यी । उक्त गाउँमा अहिले राति अबेरसम्म पनि चहलपहल भइरहन्छ । सम्साँझै सुनसान हुने गाउँका चौक र चौराहहरुमा रातिसम्म स्थानीयहरु बसेर गाउँठाउँको बारेमा चर्चा गर्ने गर्दछन् ।
गाउँपालिकाले असुरैना, सेमरहवा, सतहवा, डिहुली र पचपेडवा गाउमा यस पटक सोलार जडान शुरु गरेको छ । गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष दिवाकर प्रसाद दुवेका अनुसार सोलारबत्तीको जडानसँगै गाउँमा उज्यालोले खुसीको सञ्चार गराएको बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका दुवेले भने ‘ गाउँका अधिकांश जनता मैनबत्ती, मट्टितेल, लाइट समेत किन्न नसक्ने अवस्थामा छन् । अँध्यारो हँुदा चोरीको डर, सर्पले टोक्ने डर तथा अन्य दुर्घटना हुने डर देखेर हामीले सोलार जडान अभियान शुरु गरेका हौं । ’
चालु वर्षमा १८ लाख मूल्य बराबरको ९० थान सोलार जडान कार्य गरिने गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले बताए । अटोमेटिक सिस्टम भएको पावर फ्लाई ब्रान्डको उक्त सोलार उज्यालो हँुदा आफै बन्द हुने र अध्यारो भएपछि स्वतः बल्ने गर्दछ ।
अध्यक्ष शुक्लाका भने ‘मर्चवारलाई सधैं पिछडिएको, बत्तीमुनिको अध्यारो क्षेत्र भनेर केन्द्रमा भन्ने तर उज्यालो बनाउने तिर कुनै पहल नगर्ने विगतलाई विश्लेषण गरेर हामीले गाउँपालिकाबाट नै निश्चित बजेट छुट्याई सिंगो मर्चवारलाई सन्देश दिनेगरी उज्यालो मर्चवार अभियान शुरु गरेका छौं । ’
अध्यक्ष शुक्लाका अनुसार अबको बजेटमा पनि बैकल्पीक उर्जालाई विशेष महत्व दिईनेछ । उनले भने ‘अबको केही वर्षमा समरीमाईलाई पुरै उज्यालो बनाउनेगरी काम गर्नेछौँ । ’
भारतको नौतनवा, सुनौलीसंग सीमा जोडिएको मर्चवार क्षेत्रमा समरीमाई, मर्चवारी र कोटहीमाई गाउपालिका रहेका छन् । बत्तिमुनिको अध्यारो भनेजस्तै रुपन्देही सदरमुकाम भैरहवादेखि पश्चिम दक्षिणमा अवस्थित किसानहरुको बाहुल्यता रहेको मर्चवारमा स्थानिय तह संघ र प्रदेश सभाको चुनाब पछि बिकासले निकै गति लिएको छ ।
पूर्व प्रधानमन्त्री डा. के आई सिंह, पूर्व गर्भनर हरिशंकर त्रिपाठी, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरुको क्षेत्र पञ्चायतकालदेखि अहिलेसम्म पनि विकासको मूलधारमा आउन नसकेपछि त्यहांका जनताले राजनीतिक परिवर्तन खोजेको थिए ।
उक्त क्षेत्रबाट यसअघि ०७० मा सर्वेन्द्रनाथ शुक्ला, ०६४ ओमप्रकाश यादव सांसद भएका थिए । शुक्ला हाल राजपाबाट र यादव संघीय समाजबादी फोरम नेपालबाट प्रतिनिधिसभाको लागि उम्मेदवार छन् । तर त्यहांका जनताले बारम्बार मत दिएर जिताउदा पनि केही नगरेको गुनासो गर्दै आएका थिए । तर अहिले मर्चवारमा बिकासले गति लिए पछि मर्चवारबासीको अनुहारमा उज्यालो छाएको छ ।