कमल रायमाझी
भैरहवा, ३१ जेठ । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो । बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ ।

बियरमा फोहोर र गुणस्तरहीन प्रमाणित भएपछि खाद्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत कार्बाहीका लागी पत्राचार गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानकारी दिए ।
रुपन्देहीको शुदोधन गाउँपालिकामा रहेको टाईगर ब्रुअरी बाट उत्पादित बियरले उपभोक्ता माथि गरेको खेलवाड प्रति सरकारी निकाय भने मौन देखिएको छ । यस कम्पनी बाट उत्पादिन बियर भित्र अखाद्य बस्तु भेटिनु गलत भएको भन्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्बाहीको लागी निबेदन दिएका छन् । यसको समेत कार्बाही अगाडि बढेको देखिँदैन ।
रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले टेन्सबर्ग बियरको गुणस्तर चेकजाँच गर्दा उत्पादनमा कमजोरी देखिएकाले सम्बन्धित कार्यालयले कार्बाही अगाडी बढाएको जानकारी दिए ।
कम्पनीका सञ्चालक तेजेन्द्र खड्काले बियर उत्पादन गर्दा कमजोरि भएको स्विकादै गुणस्तरहिन बियर बजार बाट कम्पनीले फिर्ता गरिसकेको जनाउदै अझ बजारमा केहि मात्रा हुनसक्ने बताए ।

यस कम्पनीले उत्पादन गर्ने बियरले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्दै आईरहदा समेत सरकारी निकायले कार्बाही नगर्नु गलत भएको स्थानिय उपभोक्ताहरु बताउँछन् ।
पटक पटक विवादमा आईरहने यो कम्पनीले उत्पादन गर्ने गुणस्तरहीन बियर, राजस्व छली र अन्तशुल्कको नक्कली स्टिकर काण्डमा विगत देखि अनुसन्धान हुनेगरेको छ ।
केहि समय पहिला यस कम्पनीको उत्पादन रहेको टेन्सबर्ग बियरमा पशुले खाने चोक्कर जस्तो बस्तु र लेदो भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले समेत अनुसन्धान गरेको थियो ।
टेन्सबर्ग बियरमा राजस्वको नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गरेको आरोप समेत यो कम्पनीलाई लागेको छ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माको सहयोगमा कम्पनीले नम्कली स्टिकर लगाएर बियर बजारमा बिक्री गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार समेत आएको थियो ।
यस कम्पनीले स्ट्रोङ प्रिमियम, टाइगर स्ट्रोङ र टेन्सबर्ग प्रिमियम बियर उत्पादन गर्ने गरेको छ ।