logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    दिनरात जनतासँगका प्रतिबद्धता पुरा गर्न खटिएको छु ः शुक्ला


    ३१ जेष्ठ २०७५ , बिहिबार

    दिनरात जनतासँगका प्रतिबद्धता पुरा गर्न खटिएको छु ः शुक्ला

    जितेन्द्रनाथ शुक्ला                                                                                               प्रमुख, सम्मरीमाई गाउँपालिका

     

    सम्मरीमाई गाँउपालिका विकासमा के कस्ता कामलाई प्राथमिकतामा राख्नु भएको छ ?
    –यस गाउँपालिका नेपालकै विकट गाउँपालिका मध्येको एक तर महत्वपूर्ण गाउँपालिका हो । उत्तरमा लुम्बिनी सडक, दक्षिणमा ¬छिमेकी देश भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा मलाई जनताले प्रमुख बनाएर पठाएपछि विकासका गतिलाई तीव्रता दिएको छु । मुख्य हाम्रो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, सडक, बिद्युत र सुशासन सबै जनताका घरघरमा पु¥याउने प्रयास रहेको छ । यसको अलावा ग्रामीणस्तरमा हुने भ्रष्टचार न्यूनीकरण गर्नु समेत हाम्रो प्राथमिकतामा रहेको सबैमा जानकारी गराउन चाहन्छु ।

    गाउँपालिकामा के कस्ता प्रमुख समस्या छन् ?
    –हाम्रो गाउँपालिकाको मुख्य समस्या भनेकै विकास हो । विकास भन्नाले सडक, खानेपानी, विद्युतका साथसाथै स्वास्थ्य र शिक्षा पनि हो । मेरो टिमले समस्याहरु पहिचान गरी वडा वडामा वडाध्यक्षको नेतृत्वमा यी समस्याहरु समाधान गर्नका लागि अग्र मोर्चामा रहेको छ ।

    ती समस्या समाधानका लागि के के गर्दै हुनुहुन्छ ?
    –वास्तवमा गाउँपालिकामा हामी सबै अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष र सदस्यहरु जनताले निर्वाचित गराएर पठाएका सेवक हौँ । जनताको सेवाका लागि हामी सबै जनताको घरघरमा पुगेका छौँ । जसरी चुनावका बेला पुग्ने गर्दथ्यौँ, चुनावको बेला पार्टीगत रुपमा फरक फरक रुपमा जाने गरेतापनि अहिले गाउँपालिकाको जनप्रतिनिधिको रुपमा जनतासँग सहकार्य गर्दै उनीहरुको समस्या समाधानतर्फ हाम्रो मुख्य प्राथमिकता रहेको छ ।

    स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यवहारिक केही समस्या छन् कि ?
    –स्थानीय सरकारसँग सञ्चालनको सुरुवाती देखि नै नीतिगत समस्याहरु रहेका छन् । जसलाई हामीले व्यवहारिक पक्षमा ढाल्दै अगाडि बढिरहेका छाँै । संघीयता र स्थानीय सरकारको सुरुवातीका कारणले पनि यस्ता समस्या आउने गरेका हुन् । बिस्तारै यी हराउँदै जाने कुरामा म सबैलाई विश्वस्त तुल्याउन चाहन्छु ।

    ती नीतिगत वा ब्यवहारिक समस्यालाई समाधान गर्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?
    –यसका लागि संघ र प्रदेशले मुख्य चासोका साथ अगाडि बढ्नुपर्दछ । स्थानीय सरकारले पनि यस्ता समस्याहरु व्यवहारिक पक्षमा ढाल्दै जनताको पक्षमा काम गर्नुपर्ने मेरो बुझाई रहेको छ ।

    लामो समयपछि जनप्रतिनिधि पाउँदा जनताले विकासको आश गरेका छन् के के काम भईरहेका छन् ?
    –हो, तपाईले सही प्रश्न सोध्नुभयो, लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुँदा जनताहरु आकुल व्याकुल भएका थिए, निर्वाचनसँगै गाउँगाउँमा जनप्रतिनिधि पाउँदा उनीहरुमा खुशीयाली छाएको छ । अनुहारमा उज्यालो देखिएको छ । जसका कारण यहाँले देख्न सक्नुहुनेछ सबै गाउँमा सडक बन्दैछन् । केही सडक कालोपत्रे भइरहेको छ । सबैलाई खानेपानीको व्यवस्थाका लागि ह्याण्डपाइप जडान गरिँदैछ । गाउँ सोलार बत्तीका कारण रातिमा उज्यालो देखिएको छ । जनताले पनि यीनै विकास र समृद्धिका आश गरेका छन् । बिस्तारै हामी उहाँहरुको आश पुरा गर्ने प्रयासमा छौँ । हिजो यहाँ दलाली र गुण्डागर्दी गरेर शासन सञ्चालन गर्न खोज्नेहरु विस्तारै ओझेल पर्दैछन् । जनताले चाहेका कुराहरु र समस्याहरु जनप्रतिनिधिसँग राख्न पाउने भएपछि गलत र नकारात्मक मनसाय बोक्नेहरु अहिले बिस्तारै हराउँदै गएका छन् । अबका केही वर्षमा समृद्ध मर्चवार यहाँले देख्न पाउनुहुनेछ ।

    यस गाउँपालिकामा जनताले प्रत्यक्ष अनुभव गर्नै खालका के के काम भईरहेका छन् ?
    –हामीले अहिले मुख्यतया जनताका समस्या समाधान गर्नेतर्फ लागेका छौँ । दोस्रो उहाँहरुले अनुभूति गर्न नपाएका विकासका योजनाहरु अगाडि बढाउँदै अगाडि बढेका छौँ । जसका कारण नमुना गाउँपालिकाको रुपमा हाम्रो गाउँपालिका अगाडि बढिरहेको छ ।

    तपाईले चुनाबताका गर्नुभएका घोषणा वा प्रतिबद्धताहरु पुरा हुदै छन त ?
    –हो मैले जनतामाझ गरेका प्रतिबद्धताका आधारमै आफ्ना कार्ययोजना अगाडि बढाउँदै गइरहेको छु । म दिनरात जनतासँग गरेका प्रतिबद्धता पुरा गर्न खटिएको छु । केही प्रतिबद्धता पुरा गर्ने प्रक्रियामा छु । सबैलाई खुशीको कुरा हो मेरो गाउँपालिका अरु गाउँपालिका भन्दा धेरै बजेट पाउन सफल भएको छ ।

    यो गाउँपालिका तपाईको नजरमा के सम्भावना बोकेको क्षेत्र हो ?
    –यो गाउँपालिका सम्भावना नै सम्भावना भएको क्षेत्र हो । तपाई पश्चिमतर्फ जानुभयो भने महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोडिएको छ । दक्षिणतर्फ जानुभयो भने विशाल र खुल्ला छातिले हामीलाई सहयोग गर्ने छिमेकी देश भारत रहेको छ । यसकारण यस गाउँपालिकामा व्यवस्थित भन्सार सहितको नाका खोल्ने र लुम्बिनीसम्म सहज रुपमा पुग्न सक्ने सडकको व्यवस्था गर्न सके यस गाउँपालिकालाई पर्यटनको क्षेत्रमा अगाडि बढाउन सकिन्छ । त्यस्तै कृषि र शिक्षामा समेत यसले फड्को मार्ने देखिन्छ ।

    अरु दलका प्रतिनिधिसँग के कस्तो समन्वय भईरहेको छ ?
    –हामी जननिर्वाचित प्रतिनिधि हौँ । जनताले हामीलाई चुनेर पठाएकाले हामी जनताको पक्षमा काम गरिरहेका छौँ । स्थानीय सरकारमा सबैसँग सल्लाह सुझाव लिन सकिने भएपनि निर्णय जननिर्वाचित प्रतिनिधिले नै गर्नुपर्ने भएकाले हामी त्यहीअनुसार नै अघि बढिरहेका छौँ ।

    तपाईले गरेको काममा कर्मचारीहरुले कत्तिको सहयोग गर्नुभएको छ की छैन ?
    –काम गराउन सक्ने क्षमता जोसँग जस्तो छ । कर्मचारी त्यहीअनुरुप कार्यक्षेत्रमा खटिने गर्दछन् । मेरो गाउँपालिकामा कर्मचारीबाट मलाई पूर्ण रुपमा सहयोग प्राप्त भएको छ । खास गरेर प्रमुख प्रशासकीय अधिकृत टुकराज पाण्डेले कर्मचारी संयन्त्रलाई सहज, सरल र जनपक्षीय रुपमा व्यवस्थापन गर्नुभएको छ । उहाँको कर्मचारी क्षेत्रमा लामो अनुभव र व्यवहारिक पक्षलाई हामीले यस गाउँपालिकामा सदुपयोग गरिरहेका छौँ ।

    अब बाँकी रहेका तपाईको कार्यकालका विशेष योजना के के छन् ? ती योजना पुरा गर्ने आधार के हुन् ?
    –भर्खरै मेरो कार्यकालले एक वाषिर्की पुरा गर्दैछ । अहिलेसम्म हामीले जनताका समस्याहरु तल्लो तहसम्म पुगेर पहिचान ग¥यौँ । तत्काल गर्नुपर्ने कामहरु जनताको सहकार्यमा पूरा ग¥यौँ । अब हामी केन्द्र सरकार र प्रदेश सरकारसँगको सहकार्यमा यहाँका ठूला योजनाहरु पूरा गर्ने पक्षमा छौँ । मेरो कार्यकाल भरी समरीमाई गाउँपालिकाका जनतालाई स्वर्णिम युगमा प्रवेश गराउने योजना रहेको छ ।

    तपाईको कार्यकाल पछि यो गाउँपालिका कस्तो अवस्थामा देख्न सकिन्छ त ?
    –यो गाउँपालिका नेपालकै नमुना गाउँपालिकामा परिवर्तन हुनेछ । शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी भएको सबैले देख्न पाउनेछन् । गास, बास कपासबाट जनता वञ्चित हुनु पर्नेछैन ।

    तपाईले गरेका काममा स्थानीयको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
    –म र मेरो टिमले जननिर्वाचित भएर आइसकेपछि जनतासँगै रहेर विकास निर्माणदेखि स्थानीय सरोकारका विषयहरुसँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौँ । हामीले चाहेको पनि समृद्धि मर्चवार, सुखी जनता हो । यही अनुरुप विकासलाई हामीले मुख्य जोड दिएका छौँ । जनताका समस्याहरु समाधान गर्नका लागि मेरो टिम गाउँगाउँ र घरघरमा दौडिएको छ । जसका कारण सबै जनता खुशी देखिन्छन् । त्यसैमा हामीले सन्तुष्टि पाएको अनुभूति भएको छ । तर हामीले गरेका जनपक्षीय कामप्रति केही व्यक्तिहरु हाम्रा विरुद्धमा पनि लागेका छन् । तर हाम्रो जनताको पक्षमा गरिने अभियानलाई यसले कुनै असर पार्दैन । सत्यको सँधै जित हुन्छ ।

    अन्तमा लुम्बिनीखबर मापर्mत केही भन्नु छ की ?
    –हो, यो पत्रिका सँधै जनताको पक्षमा निष्पक्ष समाचार पस्कँदै अगाडि बढोस् । यहाँले पस्किने समाचारहरु सत्य, तथ्य र देशको पक्षमा होस् । मर्चवार क्षेत्रमा भएका तीन गाउँपालिका सञ्चार र पत्रपत्रिकाबाट टाढा रहेका छन् । सबैलाई समेट्ने प्रयास यहाँहरुले गर्नुहोस्, हामीले गर्ने जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य र रोजगारका पक्षमा गरेका कामहरु समाचारको माध्यमबाट पस्किएर जनतासमक्ष पु¥याइदिनुहोस् । अन्त्यमा सबै मुस्लिम धर्मावलम्बीहरुमा रमजान र इदको मुबारक दिन चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.