
लुम्बिनीखबर
भैरहवा, साउन १७ । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालको आइसीयु कक्षको भित्र बाहिर गरिरहेकी हुन्छिन् करिब ३० वर्षीय एक युवती । उनको अनुहारमा छटपटाहट देखिन्छ, अनुहार उडेर सेतै भएको छ । विगत १५ दिनदेखि एउटै पोशाकमा छिन् । कपाल नकोरेको पनि सायदै धेरै दिन भएर होला कपाल पनि उडेको छ । बेला बेला कसैले नदेख्नेगरी भक्कानिन्छिन् । साथमा रहेका उनका दाजुले थमथमाउँछन् अनि फेरी सम्हालिन्छिन् र १५ दिनदेखि आइसियुको बेड नम्बर १ मा भेन्टिलेटरको सहयोगमा श्वास फेरिरहेका ४१ वर्षीय श्रीमान डोरबहादुरलाई सिसा बाहिरबाट हेरेर टोलाइरहन्छिन् ।
बिजुला थापाले श्रीमानको उपचारको लागि प्युठान गोठीबाङमा रहेको पाखोबारी पनि बेचिसकिन् । उनीसँग अब पहाडमा एउटा घर मात्रै छ । त्यो पनि बेचेर उपचार गर्न खोजेकी हुन् तर त्यो बिक्री नभएपछि रुँदै बस्दै गरेकी थिईन् । नाता कुटुम्ब सबैसँग ऋणधन गरेर करिब ४ लाख भन्दा बढी अस्पतालमा खर्च गरिसकेकी छन् । उनी श्रीमानलाई जसरी पनि बचाउन चाहन्छिन् । तर दैनिक २०, २५ हजार खर्च भईरहेको छ । उनी श्रीमानको उपचारमा भईरहेको खर्च र घरमा रहेका १२ वर्षिय अपाङ्ग छोरा र एक ८ वर्षिय छोरीलाई सम्झेर सोच्नै नसक्ने अवस्थामा छिन् ।
‘कमाउने श्रीमान मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । म के गरौं बेच्न मिल्ने भए म आफु बेचिएर पनि श्रीमानको उपचार गराउन चाहन्छु । ’ आईसियु बाहिर पत्रकारसँग दुखेसो पोखिन् । उनले आँखाभरी आँशु पार्दै भनिन् , ‘यो देश हामी जस्ता गरिबको लागि रहेनछ । हामी गरिब बाँच्नै नसकिने रहेछ । खै कसरी उपचार गर्ने हो । पछि फेरी ती नाबालकसँग कसरी बाँच्ने हो ।’
बिजुलाले आफूले चिनेजानेका मान्छे मार्फत प्युठानबाट चुनाव जितेका सांसद कृष्णध्वज खड्का र हरी रिजाल, स्वर्गद्वारी नगरपालिका मेयरलाई पनि गुहारिन् तर उनीहरुले पनि मौखिक आश्वासन मात्रै दिए । तपाइँ नआत्तिनुस् हामी गर्छौँ भन्नुहुन्छ तर खै केही सहयोग भएन ।
आफैले मत दिएर चुनाव जिताएका नेताले परेको बेला गुहार माग्दा पनि खासै वास्ता नगरेपछि उनी पत्रकारहरुलाई आफ्नो दुखेसो पोखिन् । पत्रकारहरुले उनको दुःखका समाचार लेखेपछि भैरहवा स्थित रोट्याक्ट क्लब अफ भैरहवाले उनलाई सक्दो सहयोग गरिरहेको छ ।
आइतबारदेखि क्लबले मेडिकल कलेज भैरहवामा पुगी बिरामी, बिरामीका परिवार तथा उपचारमा संलग्न डाक्टरलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि आर्थिक व्यवस्थापन गर्न सके बिरामी निको हुने अस्पतालको आश्वासन अनुसार पैसाकै अभावमा ज्यान जानबाट बचाउनको लागि अभियान सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष माधव न्यौपानेले बताए ।
क्लबले अहिलेसम्म ५० हजार १ सय ५ रुपैँया बिरामीको श्रीमती बिजुलालाई हस्तान्तरण गरेको छ । अध्यक्ष न्यौपानेले भने ‘हामीले मानवीय नाताले प्युठानी डोरबहादुरको उपचारमा आर्थिक सहयोग गर्नेगरी जुटिरहेका छौँ । अरु सहयोग पनि उठाइरहेका छौँ ।’
‘म सबै संघसंस्थालाई डोरबहादुर बचाऊ अभियानमा सक्दो आर्थिक सहयोग गरी सहभागी हुन हार्दिक अनुरोध समेत गर्दछु”, अध्यक्ष न्यौपानेले भने । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेको र उक्त रकम डोरबहादुका श्रीमतीलाई हस्तान्तरण गरिएकोे क्लबका संस्थापक अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।
हालसम्म अस्पताललाई करिब ३ लाख बुझाएर पनि अझै डेढ लाख बुझाउन बाँकी रहेको बिरामीको श्रीमतीले बताइन् ।
निम्न वर्गीय थापा क्षेत्री आँपको रुखबाट लडेर गम्भिर घाइते भई उपचारको लागि श्रीमतीसँगै भैरहवा आएका हुन् । उपचाररत थापा क्षेत्रीका १० वर्षीय एक छोरा अपाङ्ग छन् । अर्को ८ वर्षीय छोरी घरमै छन् । थापा क्षेत्रीको स्वास्थ्य उपचारमा खटिएका न्यूरोसर्जन डा. राजकुमार के.सीका अनुसार उनको घाँटीको हड्डी भाँचिएको थियो । भाँचिएको हड्डीको अप्रेशन भइसकेको छ । तर श्वासप्रश्वासमा समस्या भएकोले भेन्टिलेटरमा राख्नु परेको उनले बताए ।
यता अस्पताल प्रशासनले विरामीको उपचार उधारोमा भइरहेको जनाउँदै कोही दाता भए सहयोग गर्न सक्ने जनाएको छ । डोर बहादुरको उपचारमा सहयोग पु¥याउन प्युठान नगरपालिकाका मेयर नेत्र बहादुर रोका क्षेत्रीले पनि सबैलाई सार्वजनिक रुपमा अनुरोध गरेका छन् । उनले प्यूठानी डोरबहादुरको उपचारमा आर्थिक समस्या परेकोले उनलाई सघाउन अनुरोध गरेका हुन् ।
डोरबहादुर बचाऊ अभियानमा रोट्रयाक्ट क्लब अफ भैरहवालाई आर्थिक सहयोग उपलब्ध गराउनेहरु क्लबका सदस्यहरुबाट १० हजार १ सय ५, करुणा फाउन्डेसन, युसीएमएसबाट १० हजार, सिद्धार्थ यातायात प्रा.लि., सुर्यकुमार सारु मगरबाट ५ हजार १ सय, भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माबाट ५ हजार १ सय, अमिताब बुद्ध बौद्ध विहारका अनिल केसी बाट १० हजार, आन्तरिक राजश्व कार्यालय कर्मचारी परिवारबाट ५ हजार, हिमांशु झा, भैरहवाबाट ५ हजार, दिपक पौडेल, कोरियाबाट ५ हजार सहयोग गरेका छन् ।
यसैगरी नमुना एकीकृतको अध्यक्ष ज्ञानु पौड्यालबाट ५ हजार १ सय, सानु शर्माबाट ४ हजार, युनिभर्सल पब्लिक स्कुलका प्रबन्ध निर्देशक गोकुल पोखरेलबाट ३ हजार, प्राचिन थैव बेलहियाबाट २ हजार १ सय , प्रिन्सबाबु काफ्लेबाट २ हजार १ सय, पश्चिमाञ्चल स्कुलका राजु शर्मा ढकाल, भैरहवाबाट २ हजार, देवराज न्यौपाने, बेलहिया बाट १ हजार ५ सय, कृष्ण घिमिरे, बेलहियाबाट १ हजार ५ सय, असिम न्यौपाने, बेलहिया बाट १ हजार ५ सय मधु पन्थी, बेलहियाबाट १ हजार, सुमन शर्मा, बेलहिया बाट १ हजार १ सय , कोपिला क्षेत्री भैरहवा बाट १ हजार ५, ओम पौडेल भैरहवा बाट १ हजार १ सय ५ रकम उठेको क्लबका अध्यक्ष न्यौपानेले जनाए ।