लुम्बिनीखबर
भैरहवा, साउन २० । नेपालीहरु गाडीघोडाको सौखिन छन् भन्ने कुरा हल्ला सँधै हुने गर्दथ्यो तर पछिल्लो एउटा तथ्यांकले यो सिद्ध गरेको छ ।
नेपालीहरुको सपना एउटा राम्रो घर हो्, एउटा गाडी होस् भन्ने हुन्छ भन्दछन् । विदेशीहरु धेरै किसिमको व्यापार विजनेस गरेर मनग्गे पैसा कमाउने सपना देखिरहेका हुन्छन् तर नेपालीहरु कमै मात्र त्यस्ता हुने गरेको देखिएको छ ।
गत आर्थिक वर्ष ०७४÷०७५ को भैरहवा भन्सारको तथ्यांकलाई मात्रै विश्लेषण गर्ने हो भने नेपालीहरु वर्षेनी अरबौँ मूल्य तिरेर गाडी खरिद गरिरहेका हुन्छन् ।
भैरहवा भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा ५ अर्ब २ करोड ७९ लाख बराबरको जिप, कार र भ्यान आयात भएको छ । यसैगरी यस्तै ७ अर्ब ८६ करोड ३६ लाखको मोटरसाइकल पनि आयात भएको देखिएको छ ।
भैरहवा भन्सारका अतिरिक्त वीरगन्ज, मेची, महेन्द्रनगर, रुपौडिया, कृष्णनगर लगायतका भन्सारबाट पनि गाडीको आयात उत्तिकै दरमा भइरहेको छ ।
भैरहवा भन्सारबाट मात्रै १३ अर्ब ६७ करोड ९४ लाखको डिजेल तथा २ अर्ब ८४ करोड ४५ लाख बराबरको पेट्रोल आयात भएको छ । यसरी गाडी पनि बाहिरबाट र त्यसमा प्रयोग हुने इन्धन पनि बाहिरबाट आयात भइरहँदा समेत नेपाल सरकारले यसको विकल्प खोज्न सकेको छैन ।
भन्सारको तथ्यांक अनुसार बेलहिया नाकाबाट ४ सय बढी प्रकारका सामानहरु आयात भएको छ भने निर्यात भने १०÷१५ प्रकारका वस्तु मात्रै भएको छ ।
नेपालबाट बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा ८१ करोड ५६ लाखको सेन्थेटिक यार्ना, ६६ करोड ३८ लाखको बोरा, ५५ करोड ४६ लाख रद्धी कागज, ३६ करोड १८ लाखको रेसाको कपडा, १८ करोड ५९ लाखको अदुवा तथा सुठो निर्यात भएको छ ।
यस्तै १४ करोड ७० लाखको जडीबुटी, १० करोड ९० लाखको पिना, ९ करोड ९८ लाखको काँच, डण्डी र ट्युव, ९ करोड ८३ लाखको चोकर, ७ करोड ७६ लाखको खोटो÷रेजिन निर्यात भएको सूचना अधिकृत पौडेलले बताए । यस्तै यसबाहेक ३८ करोड ७९ लाख बराबरको अन्य वस्तु निर्यात भएको छ ।
नेपालमा बेलाबेला नाकाबन्दी हुँदा र इन्धन समस्या पर्दा स्वदेशी उत्पादन प्रयोग गर्ने, वातावरणमैत्री विद्यूतीय सवारी साधन प्रयोग गर्ने हल्ला खुबै पिटिने गरेको भएता पनि त्यो केवल कफी गफ मात्रै भएको यो तथ्यांकले देखाएको छ ।