
अरुण ज्ञवाली
भैरहवा, २१ साउन । बेल्बासे किराना एण्ड हार्डवेयर जिनुवा कपिलवस्तुका सञ्चालक नवराज बेल्बासेले आफ्नो पसलमा किराना र हार्डवेयरका सामान मात्र बिक्री गर्दैनन् उनले उक्त पसलबाट हवाई टिकट पनि बुकिङ गर्छन् । उनको व्यवसाय किराना र हार्डवेयर हो तर उनले ट्राभल एजेन्सीले जस्तै हवाई टिकट बेच्दै आईरहेका छन् । हवाई टिकट बेच्न उनले कतै पनि ट्राभल एजेन्सी दर्ता पनि गरेका छैनन् । बेल्बासेले ई सेवा मार्फत हवाई टिकट बुकिङ गरिरहेका छन् ।
बेलबासेको किराना पसलले मात्र होइन रुपन्देहीको सालझण्डीमा रहेको युगल सहकारी संस्थाले समेत हवाई टिकट बुकिङ गर्दै आएको छ । विशेषतः सहकारीले सर्वसाधारणको निक्षेप सँकलन गरी सहयोग गर्नु हो, तर पछिल्लो समय सहकारीले समेत हवाई, रेल र बस को टिकट बेच्न थालेका छन् ।
पछिल्लो समय ई सेवा, आईएमई पे नामक अनलाईन एजेन्सीहरुले पान पसल, फेन्सी पसल, पुस्तक पसल, फोटो कपी सेन्टर, औषधी पसल, मोबाईल पसल,र ेष्टुरेन्ट, क्याफे, कम्प्युटर डिजाइनर्स र केही सहकारी लगायतका प्रतिष्ठानहरुबाट व्यावसायिक सञ्जाल फैलाएर निश्चित रकम संकलन गरी संकलित रकम बाट हवाई, रेल, बस आदिको टिकट बुकिङ सुरु गरेपछि नेपाल सरकारको मापदण्ड पुरा गरेर खोलिएका ट्राभल एजेन्सीहरु मर्कामा परेका छन् ।
नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर एजेन्ट नाटाका पाँच नम्बर प्रदेशका अध्यक्ष बिष्णु शर्माले ई सेवा सञ्जालले हवाई, रेल, बसको समेत टिकट बुकिङ गर्न थालेपछि ट्राभल व्यवसायी धरापमा परेको बताउँछन् । उनले सरकारले बनाएको नियम कानुनको दायरा पूरा गरेर ट्राभल एजेन्सी सञ्चालन गरेको बताउँदै पान पसलमा समेत पर्यटकका लागि हवाई टिकट बुकिङ हुनु सबैका लागि लाजमर्दाे कुरा भएको गुनासो गरे ।
ई सेवाले बिजुली, पानी, मोबाईलको बिल, रिचार्ज कार्ड लगायतमा सेवा प्रदान गर्नु स्वागतयोग्य काम भएपनि पर्यटन र पर्यटकसँग सम्बन्धित कार्यका लागी टिकट बुकिङ गर्नु जायज नभएको पर्यटन व्यवसायी बताउँछन् । नाटाका उपाध्यक्ष सागर अधिकारीले २५ लाख चुक्ता पुँजी, ५ लाख धरौटी र दर्ता शुल्क २५ हजार बुझाएर ट्राभल एजेन्सी सञ्चालन गरी टिकट बेच्न पाउने अधिकारको हनन भएको बताउँदै औषधी पसलमा औषधी पनि बिक्री गर्ने अनि हवाई टिकट पनि बिक्री गर्ने कार्य कही नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै भएको बताउँछन् ।
“औषधी पसलले औषधी बेच्ने हो टिकट होइन” महासचिव अधिकारीले भने “टिकट बेच्ने अधिकार ट्राभल एजेन्सीलाई मात्र छ ।”
नाटाका महासचिव चन्द्र थापाले नेपाल सरकार पर्यटन विभागको अनुमति लिएर मात्र सञ्चालन गरिने ट्राभल एजेन्सीहरुको पेशागत अधिकार बिरुद्ध हुनेगरी ई सेवालाई टिकट बुकिङ सेवा दिइएको बताउँदै कानुन विपरीतका अवैध व्यवसायलाई नियमको दायरामा ल्याउनु पर्ने बताउँछन् ।
ई सेवा नेपालको पहिलो अनलाईन भुक्तानी माध्यम हो । यो एक सफ्टवेयर ईन्टरनेशनल कम्पनी द्धारा प्रदान गरिएको सेवा हो । यसको स्थापना २००९ जनवरी २६ मा भएको थियो । बिजुली, पानी, मोबाईल चार्ज लगायतको भुक्तानी मोबाईलबाटै गर्न सकिने सेवा प्रदान गरे पनि पछिल्लो समय ई सेवाले सबै स्थानमा सञ्जाल बिस्तार गरी हवाई, रेल बस लगायतको समेत टिकट बुकिङ सुरु गरे पनि टिकट बेच्ने एक मात्र निकाय ट्राभल एजेन्सीको व्यवसाय नै धरापमा पर्न गएको व्यवसायी बताउँछन् । ट्राभल व्यवसायीहरुले जथाभावी पर्यटकका लागि टिकट बुकिङ गरिँदा समस्या आउने बताउँदै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउँछन् ।
यसैबीच नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाटाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरलाई ज्ञापनपत्र बुझाएको छ ।
नाटाका अध्यक्ष बिष्णु शर्माको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउँदै ई सेवा आईएमई पे नामक अनलाईन एजेन्सीहरुले पान पसल देखि औषधी पसलसम्म सञ्जाल बिस्तार गरेर हवाई, रेल बस लगायतको टिकट बेच्दै आएको जनाउँदै कानुन विपरीतका अवैध व्यवसायहरुलाई नियमनको दायरामा ल्याउन माग गरेको छ ।