logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    अधिकांश पेट्रोल पम्प मापदण्ड विपरीत


    २४ साउन २०७५ , बिहिबार

    अधिकांश पेट्रोल पम्प मापदण्ड विपरीत

    अरुण ज्ञवाली
    भैरहवा, २४ साउन । रुपन्देहीका अधिकांश पेट्रोल पम्प मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । रुपन्देहीमा १ सय ३१ वटा सञ्चालनमा छन् । ती मध्ये प्रायः पुराना सबै पम्पहरू र नयाँ पनि केही मापदण्ड विपरीत रहेको निगमले जनाएको छ । अधिकांश पम्प सडकमै जोडिएका छन् ।


    तिनीहरूमा ट्रस्ट समेत निर्माण गरिएको छैन । पानी ट्यांकी, अग्नि नियन्त्रणका उपकरणको व्यवस्था पनि गरिएको छैन । पम्पको मापदण्ड पूरा भए नभएको अनुगमन आयल निगमले गर्ने हो । मापदण्ड विपरीतका पम्पलाई निगमले मापदण्ड पूरा गर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरेका छन् । मापदण्ड पूरा नगर्ने पम्पलाई आयल निगमको बिक्रेता विनियमावलीले इन्धन सप्लाई रोक्न वा पम्प नै खारेज गर्ने अधिकार दिए पनि निगमले अधिकार प्रयोग गर्न सकेको छैन ।

    पेट्रोलियम पदार्थ बिक्रीस्थलमा कार्यालय, बिक्री कक्ष, पिउने पानी, अपांगमैत्री शौचालयसहित महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था हुुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । चार महिनाभित्र मापदण्ड पूरा नगर्ने साधारण बिक्रेतालाई नियमित रुपमा उपलब्ध गराउँदै आएको परिणामको ५० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति रोक्ने र त्यसपछि दुई पटकसम्म सचेत गराउने नियमावलीमा उल्लेख छ । तर यो मापदण्ड रुपन्देहीका अधिकांश पेट्रोल पम्पले पूरा गरेका छैनन् ।

    पम्पको सञ्चालन अनुमति दिनुअघि नै सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि निगमले बनाएको मापदण्ड पूरा नगर्दा पेट्रोल पम्प उच्च जोखिमपूर्ण बनेका छन् । रुपन्देहीका अधिकांश पेट्रोल पम्प मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख सुरज शाहले अनविज्ञता व्यक्त गरे ।

    ‘म रुपन्देही आएको एक हप्ता मात्र भयो” उनले भने, ‘म अब अनुगमन गर्छु मापदण्ड विपरीत भए पत्रचार गर्छु ।’ पत्राचार गरेर पनि अटेर गरे नियम अनुसार कारबाही गरिने शाहले बताए । पेट्रोल पम्प निश्चित दुरी भित्र सञ्चालन गर्नुपर्ने नियम भए पनि जथाभाबी पम्प सञ्चालन हँुदा समेत आयल निगम मौन छ । लुम्बिनी रोडमा दुर्गा आयल र ओम बाबा आयलको दूरी ५० मिटर मात्र छ । भैरहवाको अति व्यस्त नारायण पथमा समेत सिताराम बिहारी पेट्रोल पम्प सञ्चालनमा छ । ती पम्पहरु कुन आधारमा, कसरी सञ्चालन भए भन्ने सम्बन्धमा नेपाल आयल निगमले अनविज्ञता प्रकट गर्दछ । सञ्चालनमा आइसकेका ती पेट्रोल पम्पलाई हटाउने तर्फ पनि पहल भएको छैन ।

    रुपन्देहीमा पाइलैपिच्छे पम्प सञ्चालनमा छन् । पेट्रोल पम्प सञ्चालनका लागि अनुमति दिँदा सरोकारवाला निकायले ध्यान दिनुपर्ने सरोकालवाला बताउँछन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनका महासचिव हरिराम कसौधनले पेट्रोल पम्प मापदण्ड पुरा गरेर नै सञ्चालनमा आउनुपर्ने बताउँदै मापदण्ड पूरा नभएका लाई आयल निगमले समय दिएर मापदण्ड पुरा गराउनु पर्ने बताउँछन् । उनले आयल निगमले अनुगमनलाई कडा बनाउनुपर्ने बताउँदै यसको लागि आफूहरुको पनि सहयोग रहने बताए ।

    अर्कोतर्फ लाईन जाँदा पेट्रोल पम्पले जेनेटर चलाएर सर्वसाधारणलाई तेल दिनुपर्नेमा उनीहरुले पम्प नै बन्द गरेर बस्ने गरेको सर्वसाधारणको गुनासो छ ।

    प्रदेशमा पनि निगमकै पेट्रोल पम्प
    नेपाल आयल निगमले हरेक प्रदेशमा आफ्नो स्वामित्वमा रहने गरी एक÷एक वटा नमूना पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले पेट्रोल पम्प सञ्चालन गर्न चाहने निजी क्षेत्रसँग प्रस्ताव माग गरेको जनाएको छ । तर माग गर्दा कम व्यबसायीले मात्रै स्वीकृति लिएपछि निगम आफैले आधुनिक पेट्रोल पम्प भन्दै धमाधम पम्प सञ्चालन गर्ने तयारीमा जुटेको हो ।
    व्यवसायीले पूरा गर्न नसक्ने मापदण्ड तोकेर आफू कमाउ धन्दामा लाग्नका लागि निगम पम्प खोल्न लागेको देखिन्छ ।

    जोखिम न्यूनीकरण हुने खालको आधुनिक पम्प सञ्चालन गर्न र परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै सरकारले पनि नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको छ । तर यसमा व्यवसायीले इच्छा नदेखाएपछि निगम आफै पम्प खोल्ने मनस्थितिमा पुगेको हो । निगमले व्यवसायीसँग दुई पटकसम्म आवेदन माग गरेको थियो । तर २ पटकमा गरेर जम्मा ९५ व्यवसायीले मात्रै आवेदन बुझाएका थिए । नमूना पम्प सञ्चालन गर्न पाउँ भनेर देशैभरबाट हालसम्म जम्मा १० व्यवसायीले स्वीकृत लिएका छन् ।

    के के छन् मापदण्ड ?
    नमूना पम्प बनाउने जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेसका उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ । राजमार्ग वा अन्य सडकबाट ५ सय मिटरभित्रको जग्गामा नमूना पम्प निर्माण गर्न पाइनेछ ।

    उक्त मुख्य सडकदेखि पम्प रहेको ठाउँमा जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ । पम्पको बिक्री स्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, बिक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ । पम्पको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाउनुपर्नेछ ।

    पम्पको बिक्रीकक्षमा न्यूनतम २ वटा पुरुष शौचालय, युरीनरी र न्यूनतम ४ वटा महिला शौचालय र अपांगमैत्री एउटा शौचालय अनिवार्य हुनुपर्नेछ । विद्युतको वैकल्पिक व्यवस्था, अग्नि सुरक्षाको व्यवस्था अनिवार्य छ ।

    मापदण्ड अनुसार पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजल हुनुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय स्क्वायर मिटरको पार्किङ क्षेत्र हुनुपर्नेछ । पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरिद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । पम्पमा भेन्डिङ मेसिन, किराना पसल, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस, रेष्टुराँ र कफी सप हुनुपर्नेछ ।

    यस्तो नमूना पम्प आधुनिक सुविधायुक्त हुनेछ । जबकी यस्तो पम्म हालसम्म नेपालमा छैन । हालसम्म हेर्दा नेपाली सेना र नेपाल प्रहरी लगायतका संगठनबाट सञ्चालनमा आएका पम्पहरु मात्रै व्यवस्थित छन् । निगमबाट लाईसेन्स लिएकाहरुको नियमित अनुगमन नगर्ने, आयातमा केही ढिला हुनासाथ बजारमा तेलको कृत्रिम अभाव सिर्जना गर्ने पम्पहरुलाई कारबाही गर्नुको सट्टा निगम आफै कमाउको लागि धमाधम आफ्नै स्वामित्वका पम्पहरु सञ्चालन गर्ने दौडधुपमा छ । निरन्तर घाटामा छु भन्ने निगम कर्मचारीलाई भने बोनस दिइरहेको हुन्छ ।

    नेपालमा सुविधा सम्पन्न आधुनिक पम्पहरु आवश्यक भएपनि पहिलेदेखि सञ्चालनमा रहेका अव्यवस्थित पम्पहरुलाई व्यवस्थित गर्नु पहिलो काम हुनुपर्ने हो । पूरा गर्नै नसकिने मापदण्ड बनाएर निगमले मापदण्ड अनुसार पम्प खोल्न निजी क्षेत्र तयार नभएको भन्दै आफै खोल्न लाग्नु निजी क्षेत्रका लागि दुखद भएको व्यवसायीहरुको गुनासो छ । व्यवसायी मैत्री मापदण्ड बन्नुपर्नेमा निगमले भने आफै पम्प खोल्ने मनसायले व्यवसायीलाई नसुहाउने मापदण्ड तय गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.